चर्चित उपन्यास ‘नथिया’की लेखक सरस्वती प्रतीक्षाको आज जन्मदिन हो ।
कविता लेखनबाट लेखन कार्य शुरूवात गरेकी प्रतीक्षाका तीन कविता संग्रह प्रकाशित छन् ।
यद्यपि प्रश्नहरू, विम्बहरूको कथाग्रह र बागी सारंगी उनका प्रकाशित कविता संग्रह हुन् ।
नथिया उनको पहिलो उपन्यास हो । दुई वर्षअघि प्रकाशित उनको यो उपन्यास प्रकाशित भएलगत्तै विवादमा परेको थियो । वादी समूहमाथि लेखिएको यो उपन्यासमा उनीहरूको इतिहास बंग्याइएको आरोप लगाउँदै प्रतिबन्ध लगाउन माग गरेका थिए । सर्वोच्च अदालतले भने उपन्यासका केही शब्दहरूलाई सच्याउन आदेश दिएको थियो ।
उनको सो उपन्यासले पहिचान पुरस्कार प्राप्त गरेको थियो ।
केही समयअघि उनका पूर्व पतिसँग पारपाचुके उत्सव मनाएको भन्दै मिडियामा आलोचना भए पनि उनको यस कार्यलाई धेरैले सराहनासमेत गरेका थिए ।
पत्रपत्रिकामा बेवाक् स्तम्भकारको परिचय बनाएकी उनी एक छोराकी आमा पनि हुन् ।
साहित्यकार प्रतीक्षालाई साहित्यपोस्ट जन्मदिनको धेरैधेरै शुभकामना व्यक्त गर्दछ ।

तल उनको प्रख्यात कविताः

कविता : किरिया बसेकी स्वास्नीमान्छे

सरस्वती प्रतीक्षा

लोग्नेको मृत्युमा
किरिया बसेकी स्वास्नीमान्छेलाई भेट्न जाँदा
तपाईंका पूर्व निर्धारित सम्पूर्ण अनुमानहरु
गलत साबित हुन सक्छन् !

तपाईं पत्याउनुस्, नपत्याउनुस् !
भर्खरै भेटेर आएकी हुँ मैले उनलाई
उनको नयाँ अवतारसँग ठोक्किनु
संसारको आठौँ आश्चर्यसँग ठोक्किनु जस्तै भो मेरा लागि
किरिया बसेकी स्वास्नीमान्छेका आँखाहरुमा
हिरासतबाट मुक्त कैदीको पहिलो मुस्कान छचल्किएको देखे !

वर्षौंदेखि
लेउ लागेर बसेको मौनता
छायाँ र प्रतिछायाँका पूर्जाहरुमा मात्र उल्लेखित
आफ्नो अस्तित्व
किरिया बसेकी स्वास्नीमान्छेको अनुहारले भन्दै थियो–
फुल्नु नफुलेछु,
यत्तिका वर्ष केवल काँस भएर फुलेछु
त्यही काँस पनि अन्त फुले त हुन्थ्यो
केवल अचानो र अचानोका निःस्वासहरुमा फुलेछु !

बाचुन्जेल सँगसँगै हिँड्थे उनीहरु
र हामी सोच्थ्यौं–
आहा, कति मिलेको चखेवा–चखेवीको जोडी !

त्यतिबेला सोचेनौँ–
लोग्ने किन सधैं दाहिने, स्वास्नी देब्रे हिँड्थी ?
लोग्नेले हाँसोको स्टक नै रित्याएपछि
स्वास्नी किन रहलपहल कच्याककुचुक परेको हाँसो हाँस्थी ?
सोचेनौं
त्यो छत थियो वा थियो कुनै वधशालाको अर्केस्टा?
फालेर ओढ्दै गरेको बकम्फुसे छाता
किन मन फुकाएर रुझिन ऊ कुनै झरीमा
र भन्न सकिन–
‘ओ, झरी ! तँलाई जस्तै मलाई पनि अराजक हुन मन लाग्छ !’

सोचेनौँ
शयन कक्षका भित्ताहरुलाई छेडेर
किन उनका गीतहरुले मितेरी गाँस्नै पाएनन्–
उड्दै गरेका चरा र बग्दै गरेका नदीहरुसँग !

सिमोन द बुआलाई सपनामा देख्नु
केट मिलेट र नोरालाई पनि सपनामा मात्र भेट्नु
योगमाया पनि
टुप्लुक्क कहिल्यै आइपुगिनन् उनको आँगनमा
‘घोचिरहने दुम्सीका काँडाहरुलाई
दुम्सीका काँडाहरु होइन शिवलिंग भन्दै पुज्नु पर्छ’
भनेर सिकाइन् उनकी आमाले
अलिकति त्यही सिकाइले रोक्यो
चिमोटिरहने जिन्दगीलाई
‘साला जिन्दगी’ भन्दै मनपरी गाली गर्न पनि संस्कारले रोक्यो

कहिलेकाहीँ सेतो लुगा लगाउनु पनि
रंगीन सपना देख्नलाई दिइएको अनुमति–पत्र जस्तै हुँदो रहेछ
समयले उनलाई प्रथमपटक
आफ्नो जिन्दगीको चेकबुक आफ्नै हातमा थमाएको थियो

बिर्सेर यतिञ्जेरको सकस र सहिद जिन्दगी
५१ वर्षको उमेरमा
उनी १५ वर्षे किशोरी जस्तै लागिन् मलाई
अधिकांश सेतै फुलेको कपाल
चाउरिएको छाला/बाथरोग/सुगर र ब्लड प्रेसर
यी सबका बाबजुद
काफ्काकी ग्रेगरी
किराबाट भर्खरै मान्छेमा रुपान्तरण भएकी थिई

पहिलोपटक
ऊ आँफैले ज्वालामुखीमा डरलाग्दो हरफ लेखी–
‘मन्दिर
मन्दिर नभएर पाइखाना हुन सक्छ
सिंदुरको धर्का सिंदुरको धर्का नभएर
स्वास्नीमान्छेको रगताम्य छादको लर्कन हुन सक्छ !’

के तपाईं पनि
किरिया बसेकी स्वास्नीमान्छेलाई भेट्न जादै हुनुहुन्छ ?
पर्खनु होस्,
अनुमानको अलि फरक ग्राफ बोकेर जानुस् !
लोग्नेको मृत्युमा
किरिया बसेकी स्वास्नीमान्छेलाई भेट्न जाँदा
तपाईंका पूर्व निर्धारित सम्पूर्ण अनुमानहरु
गलत साबित हुन सक्छन् !