प्रिय कवि अभय,

लहना र तीर अर्थात् तिम्रो दोस्रो काव्यिक पर्दापण पश्चात् तिम्रो एक मित्र एक हातमा फूल र अर्को हातमा तरबार लिएर तिमीलाई सम्झनाको पोको पठाउँदैछे  । सम्झनाको पोको कत्ति पनि हतार नगरीकन सुस्तरी सुस्तरी खोल्नु । बुद्धले ‘धैर्य नै प्रार्थना हो’ भन्नुको पछाडि गहिरो अर्थ जो लुकेको छ ।

खासमा भन्नुपर्दा तिमीले आफ्नो पछिल्लो कवितासंग्रह ‘लहना र तीर’ जसलाई समर्पण गर्यौ, त्यो पढिसकेपछि यो पत्र लेख्ने आँट जुटाउन सकें । तिम्रो समर्पण पृष्ठमा लेखिएको छ–

समर्पण

आलोचकहरूलाई

जो लेखकका सच्चा मित्र हुन् ।

तिमी आफ्नो आलोचकलाई आफ्नो सच्चा मित्र मान्ने कवि । यस अर्थमा म तिम्रो सच्चा मित्र ठहर भइगएँ । एक सच्चा मित्रको हैसियतमा तिमीलाई मित्रवत् पत्र प्रेषित गर्दैछु ।

प्रिय कवि अभय,

एक लेखकको रूपमा म लेखन भन्नु नै पुनर्लेखन हो भन्नेमा विश्वास गर्छु । एक पाठकको रूपमा भने थोरै मात्र किताब पुनर्पठन गरेको अनुभव छ मसित । पुनर्पठनको सवालमा भने फरकफरक खाले अनुभवहरूको फेहरिस्त पाउँछु । कहिलेकाहीं शुरूमा पढ्दा एकदमै राम्रो लागेको किताब दोहोर्‍याएर पढ्दा ठीकठीकै लाग्नसक्छ । कहिलेकाहीं शुरूमा औसत लागेको किताब दोहोर्‍याएर पढ्दा एकदमै राम्रो लाग्नसक्छ । कतिपय किताब चाहिं शुरूमा पढ्दा जस्तो लागेको हो, दोहोर्‍याएर पढ्दा पनि त्यस्तै लागेको अनुभव छ मसित । लहना र तीरका सन्दर्भमा भन्नुपर्दा शुरूमा पढ्दाभन्दा दोहोर्‍याएर पढ्दा अझै राम्रो र वजनदार लागेको किताब हो यो ।

तिम्रा कविताहरूको दैलो उघार्नभन्दा अगाडि कवितासम्बन्धी तिम्रो स्वीकारोक्तिको सानो प्रसङ्ग । मलाई सबैभन्दा सुन्दर लागेको तिम्रो पाटो तिम्रो इमानदारी र स्पष्टता हो । अक्सर कवि, लेखकहरूलाई आरोप लाग्ने गर्छ कि उनीहरू एक थरी लेख्छन् र अर्को थरीको जीवन बाँच्छन् ।

हुन पनि हो, आफूलाई प्रगतिशील मात्र होइन, प्रगतिवादीको कित्तामा उभ्याउँछ एउटा लेखक । आफ्ना रचनाहरूमा क्रान्तिकारिता र समाज रूपान्तरणको ठूलो–ठूलो कुरा गर्छ । त्यही लेखक खाना खाने होटलमा साहुनी तल्लो जातको रहेछ भन्ने थाहा पाएपछि खाँदाखाँदैको भात छोडेर हिंड्छ र आफूलाई सुनपानीले चोख्याउँछ । यी र यस्ता ढोंगीहरूको भीडमा तिमी निर्धक्क भन्छौ, ‘म जे हुँ, मेरो कविता त्यही हो । म, मेरो विचार, जीवनशैली र मेरा कविता पृथक् कुरा होइनन् ।’

नेपालका कति लेखकहरूमा यो आँट होला, जो भन्न सकुन्–म जस्तो लेख्छु, त्यस्तै जीवनशैली बाँच्छु । कम्तीमा तिमीले देखाएको त्यही आँटको लागि पहिलो सलाम टक्र्याउँछु ।

प्रिय कवि अभय,

सरसर्ती भन्नुपर्दा लहना र तीर तिम्रो कवितासंग्रह पढें, पटकपटक पढें । अलि फरक तरीकाले भन्नुपर्दा तिम्रा कविताहरूको बनोट हेरें, ध्वनि सुनें, कविताहरूको सुगन्धमा डुबें, कविताहरूको स्वाद रसास्वादन गरें, कविताहरूलाई स्पर्श गरेर नि हेरें । ठिकैका किताबहरूले पाठकका एक वा दुई इन्द्रिय जगाउँछन् । राम्रा किताबहरूले चाहिं पाठकका पाँचै इन्द्रियहरू जगाउँछन् भन्ने मलाई लाग्छ । तिम्रो कविताको किताब पढिरहँदा मेरा पाँचै इन्द्रियहरू जागिरहे । यो पत्रलाई मेरा इन्द्रियहरूको आभास, अनुभव र अनुभूतिको प्रकटीकरण हो यो भनेर बुझिदिनु !

बागी कवि, पण्डित र नगरबधू, अस्मिताको प्रेमगीत र लहनामा सूर्योदय गरी जम्माजम्मी ४ खण्डमा विभक्त कविता संग्रहमा ४९ वटा कविता सम्मिलित छन् ।

यी सबै कविताहरूको सबैभन्दा बलियो पक्ष के हो भने यिनमा विचार र कलाको गज्जबको सन्तुलन पाइन्छ । कलात्मकताको नाममा एकातिर कवितालाई भद्दा  श्रृंगारपटार गर्ने कविहरू, विचारको नाममा अर्कोतिर कवितामा  हल्ला र नारा मात्र पक्षपोषण गर्ने कविहरू । यी दुवै खाले अतिवादको बाटोलाई छाडेर तिमीले अपनाएको बाटोलाई कविताको मध्यम पथ वा मध्यम मार्ग भन्न सकिन्छ, जहाँ कलाको नाममा विचार निषेधित छैन, जहाँ विचारको नाममा कला निषेधित छैन । तिम्रो कविताको देशमा कला र विचार निस्फिक्री ओहोरदोहोर गरिरहन्छन्, तिनलाई न कुनै राहदानी चाहिन्छ , न प्रवेशाज्ञा । तिमीले कायम गरेको यही सन्तुलनमा तिम्रो कविताको शक्ति लुकेको छ । यो सन्तुलनीय शक्तिलाई मेरो दोस्रो सलाम ।

प्रिय कवि अभय,

म बुद्धको उपासक । म बौद्धपथको एक पथिक । मैले बुद्धलाई दार्शनिक स्तरमा पछ्याउँछु भन्नासाथ केही बौद्धमार्गीहरू प्रश्न तेर्साइहाल्छन्, “तपाईं महायानी कि बज्रयानी कि हीनयानी ?” म जवाफमा भन्छु, “म न महायानी, न बज्रयानी, न हीनयानी । म त केवल बुद्धयानी ।”

मेरो जवाफ सुनेर शायद उनीहरूको विभाजनको भोक शान्त हुँदैन अनि नाक खुम्याउँछन् । म धर्म मान्दिन तर स्वयं घोषित नव बौद्धमार्गी हुँ । बुद्धप्रतिको यस्तै प्रेम म तिम्रा कविताहरूमा पनि पाउँछु र मखलेल हुन्छु । पछिल्लो समयको तिम्रो सबैभन्दा चर्चित र शक्तिशाली कविता हो– सन्देह ।

तिम्रा सम्मानित गुरुले

मीठो भाषामा सुनाएका कथा

महान् इतिहासकारले लेखेको इतिहास

, संसारका सर्वमान्य मूल्यहरूमाथि पनि सन्देह गर ।

 

पग्लँदै गरेको हिउँजस्तो

युधिष्ठिरको सत्यनिष्ठा

, अछुतो आकाशजस्तो

अर्जुनको वीरतामाथि सन्देह गर

देवव्रतको भीष्म प्रतिज्ञा

दुर्योधनको दुष्टता

अनि देव र पुराणका तिलस्मी कथाहरूमाथि सन्देह गर

सन्देहको कुरा गर्ने बुद्धमाथि पनि सन्देह गर ।

(सन्देह)

 यी र यस्ता तिम्रा कविताका हरफहरूमा म बौद्ध दर्शनको धड्कन धड्किरहेको पाउँछु । सेपियन्सका लेखक युवल नोहा हरारीले दार्शनिक रूपमा हामी टाट पल्टिएको अवस्थामा छौं भनिरहँदा दर्शनलाई कवितामा अन्तरघुलन गरेर पस्कने तिम्रो कला तारिफयोग्य लाग्छ ।

अनि मलाई तिम्रो सन्दर्भमा सबैभन्दा मन परेको कुरा तिम्रो वैचारिक विविधता पनि हो । तिमी मार्क्स र बुद्धलाई एकसाथ प्रेम गर्न र प्रेमवशः यी दुवैलाई एउटै मालामा उन्न खप्पिस कवि हौ ।

त्यसो त कार्ल मार्क्स र बुद्धको बीचमा २३८१ वर्ष उमेरको अन्तर छ । यसका बाबजुद पनि केही समानताहरू छन् दुवैका बीचमा । बुद्धले सधैं भनिरहे, “सन्देह गर । कसैको कुरामाथि अन्धभक्त भएर विश्वास नगर, आफैले त्यसको परीक्षण गरेर हेर अनि बल्ल पत्याऊ ।”

बुद्धले धर्ममा जस्तो आस्थाको कुरा गरेनन् । आस्थामा भक्तिभाव हुन्छ । आस्थामा व्यक्तिले प्रश्न गर्दैन, चुपचाप पछ्याउँछ । बुद्धले त विज्ञानमा जस्तो अध्यात्ममा पनि सन्देह गर, प्रश्न गर र हर कुरा परीक्षण गर भनेर सिकाए ।

एउटा प्राचीन ल्याटिन लोकोक्ति रहेछ– दे ओम्निबस दुबितान्दम् अर्थात् हरेक कुरामा सन्देह गर अर्थात् ‘Doubt Everything’ । मार्क्सलाई सबैभन्दा बढी मन पर्ने जीवन सूत्र नै यही रहेछ– दे ओम्निबस दुबितान्दम, जुन उनी बारबार दोहोर्याई रहन्थे र सन्देह गर भनिरहन्थे । बुद्ध र मार्क्सको बीचको यही दार्शनिक पक्षलाई समातेर तिमीले सन्देह नामक एकदमै सुन्दर कविता लेख्यौ । सन्देह कविताको उचाइ तिम्रो सोच र वैचारिकीको उचाइ पनि हो । तिम्रो यो उचाइलाई तेस्रो सलाम !

प्रिय कवि अभय,

 तिम्रा सबै कवितामा एउटा साझा विशेषता पाइन्छ, त्यो हो आग्नेय कविता । बागी कवि भनेर खण्ड एकमा तिमीले बागी स्वभावका १७ वटा कविताहरू सम्मिलित गरेको देखिन्छ । संग्रहका १७ वटा मात्र होइनन्, बाँकी ३२ वटा कविताहरू पनि यो वा त्यो रूपमा बागी कविता लागे मलाई । तिम्रा सबै कविताहरू आग्नेय कविता लागे ।

अरू त अरू तिमी प्रेम जस्तो अत्यन्त सुकोमल र मृदुल कुरालाई पनि जब कवितामा समेट्छौ र प्रेम कविता लेख्छौ, प्रेम वर्गीय हुन्छ भन्दै त्यहाँ पनि तिम्रो क्रान्तिकारी स्वभाव बमोजिम नै वाचाल भाव पोख्छौ । हरेक कवितामा कतै न कतै कठोरता भेटिन्छ । यस्तोमा तिम्रो सबैभन्दा शक्तिशाली पक्ष चाहिं के भने तिमी कठोरतालाई पनि बडो कोमलतापूर्वक पस्कन्छौं ।

यहाँनेर तिम्रो कोमलतामा कहिलेकाहीं पाठक झुक्किने पनि उत्तिकै सम्भावना हुन्छ किन कि पाठकले कोमलताभित्र कोमलता नै खोजिरहेको हुन्छ । कठोर कुराहरूलाई कठोरतापूर्वक त जसले नि भन्नसक्छ । तिमी कठोर कुराहरूलाई पनि कोमलतापूर्वक भनिदिन्छौ । तिमी खासमा कोमलताभित्र कठोरता पस्कने कवि हौ । तिम्रो यो खास खुबी पनि हो । तिम्रो यो खुबीलाई मेरो चौथो सलाम !

 प्रिय कवि अभय,

तिम्रा कविताहरूमा नारी पात्रहरूको पात्रता जहींतहीं महसूस गर्न सकिन्छ । तिमी आमाको कविता लेख्छौ । अविवाहित आमा भएको थाहा पाएपछि जुन विश्वसुन्दरीको ताज खोसियो, तिनै विश्वसुन्दरी हेलेन मोर्गनको मातृत्वको पक्षमा सुश्री आमा सुन्दरी नामक् कविता पेश गर्छौ । वादी युवतीदेखि भिक्षुणीसम्म, नोरादेखि नगरवधूसम्म–तिम्रा कविताहरूमा नारी संवेदना र प्रतिरोधको तुमुल ध्वनि सुन्न सकिन्छ ।

जब सवित्री भाउजूले पनि थाहा पाउनेछिन्

आफ्नो मालिक आफै नभई

संसारमा कोही मान्छे नै हुँदैन

सडकछाप हुनुमा त्यति जोखिम छैन

जति जोखिम छ सनातन आदर्शको पोखरीमा जमी बस्नु !

 

त्यसपछि नै बल्ल चाल्ने छिन्

सावित्री भाउजूले पनि चेतनाको पहिलो पाइला

, विस्तारै बग्न थाल्नेछ पोखरी ।

(सावित्री भाउजूको बाटो)

म र म जस्ता थुप्रै सावित्री भाउजूहरूको भोगाइ जस्ताको तस्तै कसरी लेख्न सक्यौ हँ तिमीले आफ्नो कवितामा

भर्खरै मात्र देवी प्रतिभाले ‘प्यारसे बोलो ना !’ भन्दै श्रीमद्भागवत महापुराणको हवाला दिएर पतिसित एउटा पनि राम्रो गुण नभए पनि, पति जति नै पापी भए पनि नारीले छाड्न नहुने र पतिलाई नै सर्वस्व मानेर बस्नुपर्ने रेशमी उपदेश दिन भ्याइन् र उनको कुरा सुनेर थुप्रै नारीहरूले ताली समेत पिटे ।

तिमी चाहिं पुरुष भईकन पनि नारीले थिचोमिचो सहेर बस्न हुँदैन भन्दै नारी स्वतन्त्रताको वकालत गरिरहन्छौ । नारीको विद्रोहलाई आफ्नो विद्रोह बनाएर लैंगिक समानताको लडाइँमा स्वयंलाई होमिरहन्छौ । नारी पात्रता र नारीहरूका मुद्दालाई लिएर तिम्रो अनवरत वकालतको निम्ति पाँचौं सलाम !

प्रिय कवि अभय,

दलन शीर्षकको कवितामा तिमी लेख्छौ–

के ठान्न्यौं तिमीले हामीलाई ?

शायद अछुत प्रेमी ठान्यौ

, जिउँदै पुरिदियौ

हामी बीउ थियौं

, उम्रियौं ।

तिम्रो यो छोटो कविता आफैमा एक लामो कविता हो । आफैमा एक कथा पनि हो र आफैमा एक उपन्यास पनि हो । आन्दोलनको अर्थमा भन्दा यो कविता आफैमा एक कालो झण्डा हो । दस्तावेजीकरणको अर्थमा भन्दा यो कविता आफैमा एक घोषणापत्र हो । मलाई तिम्रा कविताहरूमा सुनिने किनारीकृत उत्पीडित  वर्गको यो आवाज एकदमै शक्तिशाली लाग्छ । तिम्रा अधिकांश कविता आफैमा किनारीकृत वर्गका एक–एक मुद्दा हुन् ।

त्यसो त सर्वाल्टनको गीत गाउने गायत्री चक्रवर्ती स्पिभाकमा जस्तो सर्वाल्टनसँगै बसेर सर्वाल्टनको आवाज उठाउने रचनात्मक क्रियाशीलता तिमीमा खोज्दिन म । एकातिर संसारकै उत्कृष्ट विश्वविद्यालय कोलम्बिया विश्वविद्यालयमा अध्यापन गर्ने प्रोफेसर गायत्री स्पिभाक, अर्कोतर्फ भारतको सबैभन्दा पिछडिएको र गरीब गाउँमध्ये एक वीरभुमदेखि बिजुली, शौचालय, शुद्ध खानेपानी समेत नपाइने अनगिन्ती गाउँहरूमा काम गर्ने गायत्री स्पिभाक । स्पिभाकको स्तरमा एकसाथ सर्वाल्टनको लागि काम गर्ने र लेख्ने क्रियाशीलता तिमीसित नहोला, तर सर्वाल्टनको मुद्दालाई जोडदारका साथ उठाउनु तिम्रो लेखनको विशेषता नै हो ।

अछुतको प्रेमगीत, नाम, पूर्वसन्ध्या, नीलो रगत जस्ता कविताहरूले दलितदेखि आदिवासीका मुद्दालाई सत्ताको कानसम्म पुर्‍याउन सेतुको काम गरेका छन् । कुम्भकर्ण पो ६ महीना सुतेर ६ महीना जागै रहन्छ । सत्ता नामको महाकुम्भकर्ण सीमान्तकृतको मुद्दाका सवालमा बाह्रै महिना निदाइरहन्छ वा निदाए जस्तो नाटक गरिरहन्छ । तिम्रा कविताहरूले आवाजविहीनहरूको आवाजका खातिर बाह्रै मास आन्दोलन गरिरहन्छन् ।

यस अर्थमा तिम्रा कविताहरू कविता मात्र होइनन्, आफैमा आक्रोशका पुलिन्दा हुन् । तिम्रा कविताहरू कविता मात्र होइनन्, आफैमा अनन्त आन्दोलन हुन् । तिमीले गरिरहेको यो शाब्दिक आन्दोलनका निम्ति मेरो छैठौं सलाम !

प्रिय कवि अभय,

जसले तिमीलाई भेट्छन्, तिनका मुखरावृन्दबाट तिम्रो सरलता र सौम्यताको तारिफ नै सुन्नमा आउँछ । कविता चाहिं सूर्य नै चपाउँला झैं गरेर ताताताता कविता लेख्ने, मान्छे चाहिं जून जस्तो शीतल र सौम्य । कविता चाहिं चट्टान जस्ता कडाकडा लेख्ने, मान्छे चाहिं भुवा जस्तो नरम । तिम्रो सीधासाधा व्यक्तित्वको छाप छ सबैतिर, सबैमा । पद र पुरस्कारका लागि सत्ताको तलुवा चाट्दै बस्ने चंडाल कविहरूको भीडमा तिमी लाटोलाटो देखिने कवि हौं । मौकापरस्त कविहरूको भीडमा तिमी वास्तवमै लाटो कवि हौ । तर एउटा खास कुरा, तिमी हेर्दा जति लाटो देखिन्छौ, त्योभन्दा अलिकति बाठो कवि भने हौ । तिम्रो बठ्याइँको सानो झिल्का लहना र तीरमा पनि पाउन सकिछ ।

तिमीलाई कवि अभय श्रेष्ठको रूपमा मात्र जानेका वा पढेका पाठकहरूको लागि त लहना र तीर सम्पूर्णतः नयाँ कवितासंग्रह हो । म चाहिं पचासको दशकबाटै कवि चंकी श्रेष्ठलाई समेत निरन्तर पछ्याइरहेको कविताको पाठक हुँ । यस कारणले पनि लहना र तीरमा तिमीले गरेको घुसपैठ पक्रन मलाई गाह्रो भएन । १८ वर्षपछि कवितासंग्रह निकाल्दा पनि कायाकल्प कविता संग्रहका दुइटा कविता लहना र तीरमा सुटुक्क घुसाइहालेछौं । यस खाले घुसपैठ नगरीकन ४७ वटा कवितासहित नयाँ कविता संग्रहलाई सम्पूर्णता नयाँ रहन दिएको भए अझ सुन्दर हुन्थ्यो भन्ने मेरो ठहर हो ।

 प्रिय कवि अभय,

नेपाल भाषामा लहनाको अर्थ हुन्छ सभ्यता  । लहना र तीर कविता संग्रहको नाम लहना र तीर नराखीकन सभ्यता र तीर राखेको भए पनि के फरक पर्थ्यो र ? कसोकसो तिमीमा आफ्नो जात र जातीयप्रतिको नजानिंदो लोभ र मोह देखिन्छ । नेवाःसंस्कृतिका बिम्बहरूले कविताको संरचनालाई अझै सघन बनाएका छन् भनेर किताबको ब्लर्बमा लेखिएता पनि ती यदाकदा आउने नेवाःबिम्बहरूले तिम्रा समग्र कविताहरूको मूल प्रवृत्तिको प्रतिनिधित्व गर्दैनन् । नेवाःसंस्कृतिका बिम्बहरू तिम्रा कवितामा यदाकदा आउने अपवाद मात्र हुन् र अपवाद मुख्य विशेषता हुन सक्दैन । त्यसैले जातीयताभन्दा माथि उठेका मानवता र न्यायका सार्वकालिक कविताहरू लेख्ने कविलाई जातीयताको संकुचनको कोष्ठक कताकता नसुहाउँदो लाग्दो रहेछ ।

प्रिय कवि अभय,

अधिकांश कविताहरू राम्रा हुँदाहुँदै पनि केही कविताहरू एकदमै सपाट र बयानबाजी मात्र लाग्छन् । कविता संग्रहमा ४९ वटा कविता पुर्‍याउनै पर्‍यो भनेर अघिल्लो कविता संग्रहबाट सुटुक्क दुइटा कविता घुसाए झैं ४९ वटा कविता पुर्‍याउने ध्याउन्नमा नयाँ चारपाँच वटा फाल्नै पर्ने वा पुनर्लेखन गर्नैपर्ने कविताहरू सुटुक्क मिसाएको जस्तो आभास हुन्छ । धान जस्ता कविताहरूको बीचमा केही थान घुन जस्ता कविताहरूको मिसावटले लहना र तीरको गुणवेत्तामा दखल अन्दाज गरेका छन् ।

राम्रो माली र राम्रो लेखक हुन पहिलो शर्त हो– निर्मम हुनु । मालीले निर्ममतापूर्वक हाँगाबिंगाको काँटछाँट गरेन भने बगैंचा कुरूप हुनपुग्छ । लेखकले पनि किताब निकाल्दा निर्ममतापूर्वक कति कुरा फाल्न वा काँटछाँट गर्न सकेन भने किताब कुरूप हुनपुग्छ ।

प्रयोगवादी कवि टी.एस.इलियटले अर्का प्रयोगवादी कवि एज्रा पाउण्डको सल्लाह मानेर मोटो वेस्टल्याण्डबाट थुप्रै हरफहरू नहटाएको भए विद्यमान पातलो र खँदिलो वेस्टल्याण्ड बीसौं शताब्दीको एक मानक किताब कहाँ बन्थ्यो होला र ? टी.एस. इलियटको निर्ममताले वेष्टल्याण्डलाई ‘द’ वेष्टल्याण्ड बनायो । अलिकति निर्ममता तिमीले पनि देखाउन सकेको भए र किताबको पाना बढाउने मोह त्याग्न सकेको भए लहना र तीर अझ उत्कृष्ट काव्यकृति बन्न सक्थ्यो भन्ने मेरो ठहर हो ।

 प्रिय कवि अभय,

कविहरूलाई भावुक हुने छुट हुन्छ तर अति भावुकताले संक्रमित भएर बिरामी हुने छुट हुँदैन । कहींकतै ‘म आवश्यकताभन्दा बढी भावुक भएँ कि ?’ भन्ने लाग्दैन तिमीलाई ?

देह व्यापारमा लागेकाहरूलाई पनि सम्मान गर्नु एउटा कुरा हो, तर कविता संग्रहभर नै वेश्या र वेश्यावृत्ति जस्ता शब्दहरूलाई पटकपटक महिमामण्डन गर्नु अनावश्यक भावुकता मात्र हो । वेश्यावृत्ति जस्तो बाध्यता र विवशतासित जोडिएको वृत्तिलाई “विद्रोहीको आक्रोशजस्तै वेश्यावृत्ति एक विशाल प्रतिवाद हो” भन्दै वेश्यावृत्तिलाई जबरजस्ती विद्रोह र क्रान्तिसित जोड्नु एक क्रान्तिकारी कविलाई सुहाउने कृत्य होइन । यसलाई ‘नोट अफ डिसेन्ट’ भनेर बुझिदिनु ।

 प्रिय कवि अभय,

श्रम नगर्ने र पसिना ननिकाल्ने देहसँग सौन्दर्यले पारपाचुके गर्छ भन्ने लेखक लक्ष्मीनारायण मिश्रको भनाइसँग सहमति जनाउँदै तिमी माटोसँग आफ्नो पैताला र सम्पूर्ण शरीरले गरेको स्पर्श जनाउने खालका खेतीपातीका फोटाहरू हालिरहन्छौ । सामाजिक सञ्जालमा खानपान र जीवनशैलीलाई लिएर तिमी स्वास्थ्य सम्बन्धी स्ट्याटसहरू पोस्ट गरिरहन्छौ । रातो लट्टे, लुँडे, बेथे, चरीअमिलो, आँप र अम्बाका पातहरू, बूढो लसुनका हरिया पात र कोइरालाको फूल आदिको महत्व बारेमा बारबार बोलिरहन्छौं ।

तिमीले कुनै औपचारिक डिग्री हासिल नगरेता पनि धेरैले तिमीलाई डाक्टर भनेर सम्बोधन गरेको पाएकी छु । स्वस्थ्यकर जीवनप्रतिको तिम्रो सचेतनाले यो उपाधि दिलाएको हो पक्कै । अर्गानिक र रैथाने खानपिनको कुरा गरिरहने तिमी । अपवादलाई छोडेर  तिम्रा अधिकांश कविताहरू पनि त्यस्तै अर्गानिक र रैथाने स्वादले परिपूर्ण छन् भन्न सकिन्छ ।

तिमी बारबार योगको कुरा गरिरहन्छौ र योगको महत्वका बारेमा बोलिरहन्छौ । योगले शरीरमा मात्र लचकता ल्याउँदैन, मानसिक रूपमा पनि मान्छेलाई लचकदार बनाउँछ भन्ने एउटा उदाहरण हौं तिमी । आफूलाई प्रगतिवादी कवि भन्ने थुप्रै कविहरू जडताको साङ्लोमा स्वयंलाई बाँधेर मुक्तिका कुरा गरिरहँदा तिमीमा भने आफैलाई हानी गर्ने त्यो जडता कत्ति नि देखिंदैन । तिमी आफ्नो विचारको पैरवी गर्छौ, सँगसँगै अरूको विचारको पनि उत्तिकै सम्मान गर्छौ । आफूलाई अग्लो देखाउन अरूलाई होचो देखाउने फोहोरी र प्रायोजित खेलमा सामेल हुँदैनौ । तिम्रो यही स्वभाव तिम्रा कविताहरूमा पनि झल्कन्छ ।

विद्रोह सौम्यतापूर्वक पनि गर्न सकिन्छ भन्ने तिम्रा कविताहरू पढेपछि थाहा लाग्छ ।

लहना र तीर तिम्रो कविता संग्रह फगत कविता संग्रह होइन, हाम्रो समयको एक शक्तिशाली कविको काव्यिक दस्तावेज हो । बाहिरतिरका विद्रोही र ओजपूर्ण कविहरू भन्नासाथ गार्सिया लोर्का, पाब्लो नेरुदा, अवतार सिंह पाश, रमाशङ्कर विद्रोही जस्ता कविहरू सम्झन्छौं । नेपाली साहित्यमा पनि सो वा सोसरहकै विद्रोही कविहरूका नाम सम्झन पर्दा निःसन्देह कवि अभय श्रेष्ठ अग्रपंक्तिमा देखा पर्छन् । कायाकल्पदेखि लहना र तीरसम्मको तिम्रो काव्यिक यात्रा यसैका साक्षी हुन् ।

 अन्त्यमा,

   प्रिय कवि,

   तिमी आफ्नै ब्रह्ममाथि पनि सन्देह गर्ने कवि

   त्यही ब्रह्मद्वारा लेखिएका

   आफ्ना कविताहरूमाथि पनि सन्देह गर

फूल र तरबारको भाष्यमा नअल्झिन

तिम्रो मित्रले पठाएको यो मित्रवत् पत्रमाथि पनि सन्देह गर ।

 – उही तिम्रो मित्र उर्फ आलोचक

सरस्वती प्रतीक्षा