लेखिका सरस्वती प्रतीक्षाद्वारा लिखित“नथिया” उपन्यास वादी समुदायका महिलाले भोग्ने यथार्थलाई केन्द्रबिन्दुमा राखेर लेखिएको उपन्यास हो ।
उपन्यासकारकै शब्दमा यो कथा ९५ प्रतिशत सत्यतामा आधारित भएर लेखिएको हो । विगतमा वादी समुदायका महिला देहव्यापार गरेर आफ्नो र आफ्नो परिवारको जीविकोपार्जन गर्ने गर्दथे । वादी समुदाय कुनै निश्चित स्थानमा बस्ने गरेको भएता पनि यिनको चर्चा कुनै समयमा देशभरि नै हुने गर्दथ्यो । सीमान्तीकरण वा बञ्चितीकरणको अवस्थामा रहेका वादी जातिका महिलालाई जुनसुकै वर्ग, समुदाय, पेसाका पुरुषले बस्तुसरह प्रयोग गर्दथे । परिवारमा छोराभन्दा छोरीको जन्मलाई राम्रो मान्ने वादी सामाजिक रूपमा भने वादी महिला तिरस्कृत अवस्थामा बाँचेका हुन्थे । सीमान्तीकरण आफैमा बिझिरहने पीडा हो, अझ सीमान्तिकृत महिलाका जीवनका पीडा भनेको त झन् नसकिने दुख र तन्किँदै जाने सङ्घर्ष रहेछ भन्ने यथार्थ उपन्यासबाट पढ्दै जाँदा पाठकले थाहा पाउँदै जान्छन् ।
कथाकी मुख्य पात्र हो “सामली” । सामली नरम छे । सामली कठोर छे । सामलीका पनि सपना छन् । सामली परम्परागत बन्धनलाई तोडेर बाहिर आउन चाहन्छे । सामली सपनाको उडान भर्न चाहन्छे । सबैभन्दा महत्त्वपूर्ण कुरा सामलीमा वादी पेसा विरुद्ध विद्रोह चेतना छ । वादी पेसाप्रति उसको हठ असामान्य हो किनकि ऊ सहज रूपमा सामान्य महिलाको जीवन बाँच्न चाहन्छे ।
परम्परागत पेसा विरुद्धकाे विद्रोह सामली सुरुदेखि नै गर्दछे । त्यसैले नथिया खोल्ने उमेरमा आफ्नो नाकको नथिया खोल्ने कुरा पटक पटक प्रतिकार गर्दछे अर्थात् उसले वादी पेसा अँगाल्न चाहेकी हुँदिन । आफ्नो शरीर र आफ्नो जीवनलाई यौन पिपासुहरूको बन्धकी बनाउन चाहँदिन । तर परिवार , परम्परा र पुरुषअघि निरीह बन्दछे । अन्ततः उसको नथिया खुल्छ, र परम्परागत धन्दामा आधिकारिक रूपमा होमिन पुग्छे ऊ ।
समाजमा पुरुषहरूले महिलाप्रति तथा यौनप्रति देखाउने दुइटा चरित्रको बारम्बार साक्षी बनिरहेकी हुन्छे सामली । र सामलीका साथसाथै पाठक पनि । समाज तथा पुरुषप्रति उसका मनमा उठ्ने उफानहरू सामान्य छैनन् । त्यसैले सामलीले गर्ने प्रश्न हरतरहले जायज लाग्छ “वादी भन्याका भीडमा छुन नहुन्या जात र एकान्तमा मात्र छुन मिल्नया जात हुन कि क्या हो ।”
जतिजति सामली सुखको खोजी गर्न अघि बढ्छे त्यति त्यति सुख पाउने उसको आशामा तुसारापात हुँदै जान्छ र कठोर दुनियाँको बाहुपासामा पर्दै जान्छे । सामलीको वादी जीवनयात्राका विभिन्न चरणहरूमा भेट हुने पुरुषपात्रहरू समाजका प्रतिनिधि हुन् । यस्तो लाग्छ यस्ता पात्रहरू यत्रतत्र छन् । बेखमान, जो सामलीको बुवा समान उमेरको मानिस हुन्छ , सामलीको पहिलो ग्राहक बनाइएको हुन्छ । उसले सामलीको नथिया खोल्छ । सामलीको जीवनको महत्त्वपूर्ण पत्र उध्रिसकेपश्चात् उसले आफ्ना परिवारका सदस्यका आँखामा छुट्टै प्रकारको विजय भाव ओतप्रोत भएको पाउँछे । उसका घरको भान्साबाट आएको खानाको मीठो सुगन्ध उसको शरीर बेचिएको खुसीयालीमा हो भन्ने कुरा राम्रै बुझ्दछे ।
अर्थात् उसको नथिया खोलिनु भनेको उसको परिवारका निम्ति एउटा उत्सव बनेको हुन्छ । सामली सोच्दछे “वदिनीको छोरी हुनु भन्याको आफू मात्त दुखी हुनु रह्याछ । आफ्नो कारनले अरू सप्पै खुसी र सुखी हुनु रह्याछ ।” त्यसपछि ,फोहोर दलदलमा आफ्नो सुख र खुसी खोज्ने क्रम चलिरहन्छ उसको ।
वादी बस्तीमा सामलीका साथीहरूको पनि आफ्नै कथा व्यथा हुन्छ तर पनि नथिया खोलिँदा अन्तर्मनबाट निस्कने सबैको प्रतिकारको चित्कार एउटै हुन्छ । सबै वादी महिला त्यो चोटलाई कतै न कतै लुकाएरै अघि बढेका हुन्छन् र परम्परा एवं समाजका सामुन्ने आत्मसमर्पण गरेका हुन्छन् ।
नथियाले मानिस र समाजले प्रदर्शन गर्ने दोहोरो चरित्रको राम्रै डङ्का पिटिरहेको छ । त्यसैले नथिया उपन्यास पितृसत्तात्मक समाजको आँखीझ्याल पनि हो भन्न छुटाउनु हुँदैन । समाजमा भद्रताको मुखौटो लाएका चरित्रहरू वादी बस्तीमा भने नाङ्गो भइरहेको हुन्छ । पुनः आफ्नो चरित्रलाई भद्रताकै लत्ता पहिर्याउन बेर गर्दैनन् ।
गरिबीसँग सामना गर्न सामली आफ्नो नथिया खोल्ने पहिलो पुरुष बेखमानको छोरा रत्नमानलाई आधिकारिक रूपमा पहिलो ग्राहक हुन निम्त्याउँछे । यसपछि सामली बदलाको आवेश र गरिबीको चिथोरिरहने अवस्थामाथि विजयी हुन्छे । अर्थात् गरिबीलाई बुजो लाउन नै उ वादी पेसामा प्रवेश गर्दछे । रत्नमानलाई पहिलो ग्राहक बनाएर बेखमानलाई दुखाउन चाहेकी हुन्छे जसरी बेखमानले सामलीको शरीर र स्वाभिमानलाई दुखाएको थियो । रत्नमानले बिहे गर्ने प्रस्ताव राख्दा सामली भन्दछे “वदिनी शरीर बेच्दछे भावना बेच्दिन ।” यसबाट उसको पेसाप्रतिको समेत इमानदारिता थाहा लाग्छ ।
सामली आफूलाई प्रेम गर्दछे । देहव्यापार गर्दा पनि आफ्नो आदर्शमा बाँचेकी हुन्छे । सामली मङ्गलवारको व्रत बस्दछे । तर त्यो व्रत भगवानका लागि होइन स्वयंका निम्ति हुन्छ । किनकि त्यस दिन ऊ देह व्यापार गर्दिन ।
वदिनीलाई प्रेम गर्न छुट हुँदैन र वदिनीसँग गरिने प्रेम अन्न नफल्ने माटोमा गरिने सिँचाइ हो । ग्राहक प्रेमीमा रूपान्तरण हुँदैन । सामलीले यो कुरा नबुझेकी त होइन । त्यसैले रेन्जरले देखाउने प्रेमप्रति बारम्बार संशय व्यक्त गरिरहन्छे । तापनि ऊ रेन्जरको प्रेममा पर्दछे । कारण थियो रेन्जरले समाजका सामुन्ने सामलीलाई दिने सुरक्षा । वदिनीसँग हिँड्दा ऊ बिना कुनै सङ्कोच हिँड्दथ्यो । सामलीजस्ता महिलाका लागि त्यो भन्दा ठुलो सम्मान अरू कुनै हुन सक्दैनथ्यो । त्यसैले सामलीले रेन्जरको हिम्मतलाई प्रेम गरेकी हुन्छे ।
सामलीको यो खुसी धेरै दिन रहिरहँदैन । सामली रेन्जरको गलत मानसिकताको सिकार बनेकी थिई । ऊ एउटा दलदलबाट निस्केर अर्को दलदलमा परेकी थिई । रेन्जरको व्यवहारले उसलाई कुनै “माल” भन्दा फरक दर्जा दिएको थिएन ।
सामलीले रेन्जरलाई त्याग्छे । त्यागिसकेपश्चात् ऊ मोहम्मदसँग विवाह गर्छे । मोहम्मद उसलाई प्रेम गर्ने भए पनि शब्दमा जाहेर नगर्ने व्यक्ति थियो । मोहम्मदसँगको विवाहले उसलाई आर्थिक बोकाएको थियो भने सुखी र खुसी उसलाई मोहम्मदले दिन सकेको थिएन । काखमा रेञ्जरको छोरी लिएर पुनः वादी बस्तीमा फर्कनु उसको बाध्यता बन्दछ । छोरीको पेट पाल्न पनि उसले “धन्दामा” फर्कनु आवश्यक ठान्दछे । ऊ दोस्रो पटक नथिया खोल्छे ।
दोस्रो पटक नथिया खोलेसँगै सामली सपना , प्रेम र विवाहको भ्रमबाट मुक्त भएकी थिई । वास्तवमा परम्परा, पुरुष, समाजले सामलीलाई वादीको धरातल छोड्न दिएन । सामलीले जीवनमा आफ्नै प्रकारले रङहरू भर्न चाहेकी थिई । तर सामली सम्पूर्ण रूपमा न श्रीमतीको दर्जा प्राप्त गर्न सकी न त प्रेमिकाको नै । मात्र ऊ वदिनी हुनुको धर्म निभाइरहेकी थिई ।
सामली धेरै पुरुषका लागि साथी भएकी थिई तर तिनको साथ क्षणिक हुन्थ्यो । कसैका निम्ति उ अन्तर्मनकी साथी पनि बनेकी थिई जस्तै शेरे डन सामलीकोमा आउँदा भक्कानिन्थ्यो , रुन्थ्यो । बाहिरबाट जतिसुकै शक्तिको प्रयोग गरिरहेको भएता पनि भित्रको पीडालाई ऊ सिर्फ सामलीका सामुन्ने मात्र प्रस्तुत गर्दथ्यो । मानिसका कतिपय खुसीहरू , शक्तिका स्रोतहरू विरोधाभासपूर्ण हुँदा रहेछन् । खराब परिस्थितिको चङ्गुलमा परेपछि मानिसका असल गुणहरू कसरी नराम्रा परिवर्तन हुन्छन् भन्ने कुराको राम्रो उदाहरण हा शेरेको कथा ।
जुनसुकै भूमिकामा पनि सामली इमानदार छे चाहे त्यो छोरीका रूपमा, चाहे त्यो देह व्यापार गर्ने महिलाको रूपमा , चाहे श्रीमतीका रूपमा , चाहे प्रेमिका रूपमा , चाहे आमा कै रूपमा किन नहोस् । र, अरूबाट पनि त्यस्तै इमानदारिताको अपेक्षा गर्दछे ।
नथिया उपन्यासकी उपन्यासकार सरस्वती प्रतीक्षा लेख्नुहुन्छ उपन्यास लेख्ने क्रममा आफू एउटी चरम भौतिकवादी स्वास्नीमान्छेबाट आध्यात्मिक भौतिकवादीमा रूपान्तरण भएको भन्दछिन् । आध्यात्मिकतामा मानिस सत्यको नजिक रहन्छ , कुनै पनि कुराको वास्तविक स्वरूपसँग नजिक पुग्न सक्नु अध्यात्म हो । यसर्थमा उपन्यास वादिसमुदायको वास्तविक चित्रण गर्न सफल भएको छ । नथिया उपन्यास नेपाली साहित्यमा एउटा सशक्त उपन्यास हो जसमा उत्पीडित समुदायको अवस्थाको तस्बिरलाई सफल रूपमा रेखाङ्कित भएको छ ।
उपन्यासमा भएका महिला पात्रको कथा हिन्दी फिल्म “गोंगुबाई”मा गोंगुबाईको एउटा डायलगसँग मेल खान्छ – “ कुमारी किसी ने छोडा नहीं और श्रीमती कभी किसी ने बनाया नहीं ।”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।