डा. नवराज केसी लेखक मात्र होइनन् । उनी कर्णालीका विकट बस्तीबाट माथि उठेका नवपुस्तालाई लेख्नका लागि प्रेरणा प्रदान गरिरहने प्रेरक पनि हुन् । उनी लेखन र पठन संस्कृतिका प्रेरक त हुन नै, उनी जीवन र मरणको दोसाँधमा रहेकाहरूलाई आफ्नो साहित्य र स्वास्थ्य सेवामार्फत जीवन जिउन सिकाउने अनुपम शिल्पी पनि हुन् ।

प्रेरणा, सिर्जना र सेवाका त्रिवेणी डा. केसीको शून्यको मूल्यबाट प्रादुर्भाव भएको लेखन यात्रा स्वस्पर्शसम्म आइपुगेको छ । वर्तमानका युवापुस्ता आत्मक चाहना परिपूर्ति नभएको सन्दर्भमा आत्मदाहको नमीठो यात्रा तय गर्न विवश छन् । विश्व स्वास्थ संगठनको तथ्याङ्क अनुसार विश्वभर प्रतिवर्ष लगभग ७,२०,००० देखि ७,४०,००० व्यक्तिहरूले आत्महत्या गर्दछन् । नेपालको सन्दर्भमा आर्थिक वर्ष २०८०|०८१ को तथ्याङ्क हेर्दा ७,२२३ जनाले आत्महत्या गरेका छन् । यो आत्मदाहको अप्रिय खाडलमा सबैभन्दा बढी युवापुस्ता नै गाडिएका छन् । डिप्रेसनले आफ्नो क्षेत्रफल फराकिलो बनाउँदै गएको र त्यसमा पनि सबैभन्दा बढी युवापुस्ता ग्रसित भएको यथार्थ हामीसामु छ । यही यथार्थमा टेकी मेरो संसारमा कोही छैन भनेर जीवनबाट निराश भएको मान्छेले आशा पाउने गरी, एक पटक मात्र पाएको यो सुन्दर जीवनमा सानातिना पीडा, तड्पन र दुःखका भेलबाट विचलित भएर दुःखी भएको मान्छेले खुशी भेट्टाउने गरी, र पुस्तकभित्रका पात्रहरूको कहाली लाग्दो सङ्घर्षमय जीवन यात्राबाट दिव्य प्रेरणा पाउने गरी लेखिएको सिर्जनात्मक गैर आख्यान हो – स्वस्पर्श ।

पुस्तक पढ्दै जाँदा यस्तो लाग्छ – लेखकले आजको समाज, आजको युवापुस्ताको मनोविज्ञानलाई आत्मसाथ गरी प्रायः साहित्यमा पढिने मिलन र विछोडका कथा, पाएका र गुमाएका कथा, प्रेमका कथा, यौवनका कथा लगायत विविध काल्पनिक कथाभन्दा माथि उठेर तड्पिदै गरेका आत्मा, टुट्दै गरेका मन र निभ्दै गरेका जीवनलाई केन्द्रमा राखेर लेखिएको देखिन्छ । स्वस्पर्श कर्णालीका बस्तीहरूमा आफ्नो जीवन खोजिरहेका, जीवन जीउने प्रेरणाको दीप प्रज्वलन गरिरहेका भुइँमान्छेहरूको यथार्थपरक कथाहरूको सङ्गालो हो ।

म अध्ययनको सिलसिलामा गुरुकुलमा हुँदा श्रीदुर्गासप्तशतीमा पढेको थिएँ – कुपुत्रो जायेत क्वचिदपि कुमाता नभवति अर्थात् यो संसारमा कुपुत्रहरू हुन सक्छन् तर कुमाता हुँदैनन् । त्यसै लेखिएको रहेनछ, यो वाक्य । स्वस्पर्शको पहिलो कथाको मुख्य पात्र जङ्गबहादुरको जीवन रक्षाका लागि उनकी आमा धर्मशीलाको पीडा, तड्पन, सङ्षर्घले यो पुष्टि गर्छ । अस्पतालभित्र जङ्गबहादुरको जीवन सङ्घर्ष, पोषण गृह प्रस्थान, उपचारका क्रममा जङ्गबहादुरको स्वास्थ्य सुधारको सङ्केत पश्चात् धर्मशीलाको मुहारको प्रसन्नता र मनको शान्ति ! यो कथा पढ्दै गर्दा मेरा आँशु परेली हुँदै गालाको बाटो भएर भुइँमा खसेको पत्तै पाइनँ । यो कथा कथामात्र होइन कर्णालीका दुर्गम बस्तीहरूको प्रतिनिधिमूलक मन चिमोटिरहने तस्बीर पनि हो । र, अँध्यारो बस्तीहरूमा, आशाका दियोहरू निभ्दै गरेका घरहरूमा परोपकाररूपी प्रकाश छर्दै हिँड्ने प्रकाश पन्त जस्ता उज्यालोका प्रतीकलाई साधुवाद !

दोस्रो कथा गर्बे दाइको जीवनको वरिपरि घुमेको छ । यो कथाले विशेषतः सामाजिक मनोविज्ञानलाई अङ्गीकार गरेको छ । मान्छेले मान्छेलाई गर्ने तिरस्कृत व्यवहारका कारण गर्बे दाइ निराशाको विकराल खाडलमा गाडिन विवश छन् । एउटा मान्छेका लागि जन्मिएको आगन र जन्माएको सन्तानभन्दा प्रिय अरू को हुन सक्छ र ? तर, गर्बे दाइले यी दुबै प्राणप्रिय कुरा गुमाएका सन्दर्भले मन साह्रै अमिलो बनाउँछन् । जीवनमा आनन्द र खुशीको अनुभूत गर्ने सौभाग्य प्राप्त नगरेका गर्बे दाइको निस्सार लाग्दो जीवन कहानी देउती बज्यैले बुझिछन् क्यारे ! फलतः कमसेकम गर्बे दाइका लागि मानवरूपी भगवान डा. अर्चनासँग भेट हुन्छ । निरीह समाजका कुरूप चित्रहरू र मानवसेवाका श्रेयस्कर दृष्टान्तहरू यस कथामा प्रस्तुत गरिएको छ । अस्पतालमा बिरामी भर्ना हुनु पूर्व पैसा भर्ना गर्नुपर्ने हाम्रो समाजमा करुणाहीन उदाहरणहरू थुप्रै छन् । तर, सुखद् कुरा नयाँ जीवनको आशा गरेका, केही नभएका र कोही नभएकाहरूका लागि डा. अर्जनाको हस्पिटलको ढोका खुला हुन्छ । निराशारूपी समाजमा आशाका सुकुमार किरणहरू छर्ने डा. अर्चना जस्ता पात्रहरूको उपस्थितिले समाजलाई उज्यालो बनाउनका लागि प्रेरित गरेको छ । सयौँ गर्बेहरूको जीवनमा आशाको सञ्चार भएको छ ।

जीवनसङ्गीनी र सन्तानका खुशीलाई सप्तरङ्गी बनाउने उद्देश्यानुरूप इन्डिया गएको मन्दिरेले दुर्भाग्यवश करेन्ट लागेर एउटा हात गुमाउँछ । सम्भवतः खुट्टासम्म गुमाउने परिस्थितिको सिर्जना हुन्छ । तथापि डाक्टर शर्मा जस्ता सहृदयी डाक्टरको निरन्तर साथ पश्चात् मन्दिरेको स्वास्थ्योपचार सफल हुनु, पैसाको अभावका कारण जीवनसङ्गीनीको समयमै उपचार गर्न नसक्दा सदाका लागि जीवनसङ्गीनीलाई गुमाउनु र छोरा पनि बेपत्ता हुनु मन्दिरे नामक कथाका अन्तन्तै हृदयविदारक सन्दर्भ हुन् । तर, यस कथाका मुख्य पात्र मन्दिरे धेरैका लागि प्रेरणाको स्रोत र खुशीका अनुपम दृष्टान्त पनि हुन् । मन्दिरेको जीवनमा विकराल प्रलय आउँदा पनि उनको मुहारमा मुस्कान कहिल्यै खाली भएन । उनी जीवनसङ्ग पटक–पटक हारिरहे पनि मन्दिरेभित्रको अद्भूत खुशी र अदम्य साहसले उनलाई बाँच्नका लागि प्रेरित गरिरह्यो ।

एकजोडी बाआमाको प्रेमकथाभित्रका प्रेरित प्रेम प्रसङ्गहरूले प्रेमको नयाँ आयामको उद्घाटन गर्छन । प्रेम भन्नु कुनै पनि प्रतिफलको अपेक्षा नगरी कसैकाप्रतिको एकोहोरो समर्पण हो भन्ने दृष्टान्त यस कथामा अत्यन्तै सौन्दर्यपूर्ण तवरले अभिव्यक्त गरिएको छ ।

ध्यार गाउँले कथामा समावेश हरेक शिशुको उज्यालो भविष्य आमाको खुशीमा निर्भर गर्दछ भन्ने प्रसङ्ग हजारौँ आमाहरूका लागि प्रेरणाको स्रोत बन्न सक्छ । एउटा शिशुको जीवनका हरेक आयामलाई मधुमय बनाउनका लागि आमाको जीवनमा हुनु पर्ने स्वभावको ज्ञानवर्धक चित्रण यस कथामा गरिएको छ ।

सानी नानी कथा पढ्दै गर्दा कर्णालीका दूर दराजका सयौँ सानी नानीको मधुर आकृति आँखामा आउँछ । अनाम बस्तीहरूमा आफन्तहरूबाट प्रताडित भई मृत्युको अप्रिय बाटोको दुःखद् यात्रा गर्न तयार सयौँ सानी नानीहरूलाई लेखकले यो कथाको माध्यमबाट मृत्युको दुःखद् यात्रा होइन उज्यालो जीवनको मंगलमय यात्राका लागि प्रेरित गरेका छन् ।

तेस्रो अध्याय अर्थात् अन्तिम अध्याय

यो अध्याय भित्रका सम्पूर्ण कथाहरूले प्रेरणा र आशाको दीयो बालेका छन् । सदाचार र सद्भावको ज्वलन्त उदाहरण प्रकट गरेका छन् । मानवले मानवलाई गर्ने पशुवत् व्यवहारका तमाम उदाहरणहरू हाम्रो समाजमा प्रशस्त छन् र यही समाजमा भेडा जस्ता पात्रहरू पनि छन् जसले सम्पूर्ण प्राणीहरूमा मानवीय चेतना र हृदयको खोजी गरिरहेका छन् ।

किरणले आफ्नो जीवनका हरेक मोडहरूमा गरेका सङ्घर्ष, अपार साहस, हरियाली बनाएका तमाम विद्यालयका चौरहरूले पाठकलाई नवीन उत्साह र प्रेरणा प्रदान गर्छन् ।

रिटायर्ड आमा जसको जीवनभर कोख रित्तो भयो तथापि काख भरिपूर्ण ! उनका जीवनका विभिन्न घुम्तीहरूको अध्ययन पश्चात् मन अत्यन्तै कुडिन्छ । आफ्नो कोखबाट जन्म नलिए पनि काखमा हुर्किएका सन्तानहरूकाप्रतिको गहिरो प्रेमले हृदय उज्यालो पार्छ । मलाई लाग्छ यो कथाले हरेक पाठकमा प्रेम र सम्बन्धको सुकिलो मार्ग तय गर्छ ।

अस्मिता अठोट, साहस र निडरताकी पर्याय हुन् । उनले जीवनको कालखण्डमा भोगेका, अनुभूत गरेका र ती प्रत्येक चुनौतिलाई स्वीकार गरी विभेदको पर्खाल भत्काउनका लागि गरेका अथक सङ्घर्षहरू हजारौँ अस्मिताहरूका लागि अनमोल प्रेरणका स्रोत हुन् ।

स्वस्पर्शभित्रका हरेक कथाहरूमा अद्भूत जीवनदर्शन छ । लेखकले हरेक कथामा जीवनलाई सहज र सफल बनाउनका लागि पाठकलाई प्रेरित गर्ने तथ्यपरक प्रसङ्गहरू राखेका छन् । यो पुस्तकको सुन्दर र नवीन पक्ष हो । कथाहरू पढ्दै जाँदा पात्रले भोगेका विविध सन्दर्भहरूले मन विछिप्त पार्छ तर प्रत्येक कथाको अन्तिममा प्रस्तुत भएका प्रेरणादायी प्रसङ्गहरूले रोएको मन र भिजेका आँखा ओभानो पनि बनाउँछन् । स्वस्पर्श पढ्ने पाठकले आफू भित्रको दुखिरहेको घाउलाई शितल बनाउने मलम कुनै न कुनै कथामा जरुर भेट्टाउने छ । प्रिय लेखक डा. नवराज केसीको कलमलाई लाखौँलाख चुम्बन !

अस्तु !