कर्णाली कोलाज भने पनि हुने शून्यको मूल्य कृति कर्णाली साहित्यको फाँटकै लागि अब्बल बिरुवा हो । बिरुवा यस अर्थमा कि तिखो सुइ कोप्ने र सकभर औषधि मात्र पेलेर रोग ब्याधि निको पार्ने भनेर खल्लो आँखाले पनि हेरिने डाक्टरी पेशाका नवराज केसी त्योभन्दा धेरै नै भिन्न छन् अनि नयाँ छन् । उनका पुस्तक बाहेकका उपस्थिति र अभिव्यक्तिले यस कुराको थप पुष्टि गर्छ ।

विष्णु पादुका

आमा बा अनि शिशुको एउटा संसार पुरा भएपछि यस्ता अरबौँ संसार जोडिएर नै संसार बनेको छ । साना साना संसारको जोड नै त हो यो विशाल संसार । भावनाको बलियो जगमा उभिएपछि समाज सेवा र सहयोगी कर्मले व्यक्तिलाई चिनाउने हो । त्यो चिनारी खोज्न मात्र पनि पढ्नु पर्ने कृति होइन यो । यो त यावत् मान्छेकै लागि सूक्ष्म स्वास्थ्यसँग जोडिएका ज्ञानको लागि आएको कृति हो । थाहै नपाएर पनि प्रयोगमा ल्याए नल्याएका चलन चल्तीमाथिको चिरफार पनि ।

घुमाइ ! बिगब्याङ्ग सायद घुमाइको परिणाम हुन सक्छ अणुहरुको । जीवात्माको अंश जीवमा रुपान्तरण हुनु पनि एउटा बिग ब्याङ्ग त हो ।

घुम्नुको अर्को नाम चक्र भएझैं घुमाइको सुरूवात एक जन्म हो घुमाइ टुट्नुको सानो क्षण मृत्यु । शरीरभित्रका घुमाइको सार मान्छेले बस्तुमा रुपान्तरण गरेपछि यात्रामा नवीनता आयो र संसार सुगम बन्यो । खुट्टाले पाइडल पाइडलले गियर गियरले चेन र चेन ले चक्का घुम्न थालेदेखि त हो पृथ्वीको दूरी छोटिएको । घुमाइकै क्रममा हवाई जहाजको पङ्खा घुम्न बन्द होस् या कारको स्टेरिङ्ग हामीलाई कहाली लाग्न सुरु हुन्छ र केही बेरमै हामी हाम्रो अस्तित्वको खोजीमा रुमलिन बाध्य हुन्छौँ साहस, स्वास्थ्य र संघर्ष बीच हामी ।

स्क्रिनमा रक्तचापको उतारचढाव पर्गेल्ने आँखामा रगतको संघर्ष पनि देख्छन् अनि स्टेथेस्कोपले ढुकढुकी मात्र गन्दैनन् त्यसले भड्किन गरेका साहसको तौल समेत लिन्छन् डाक्टर नवराज । कथाहरू फगत कथा मात्रै हुँदा हुन् त पढेर सकिन्थ्यो अनि भुलिन्थ्यो सायद । यसरी फर्कीफर्की हेर्दै पात्रहरूसँग रुन हाँस्न सकिँदैनथ्यो । कुपोषणका बारेमा स्पष्ट भएर होला आक्कल झुक्कल पनि बौद्धिक कुपोषण भेटिन्न शून्यको मूल्यमा ।

शून्यको मूल्य सुन्दा कता कता अमूर्त लाग्छ । तर पढ्दै जाँदा शीर्षक सार्थकता झल्किँदै जान्छ । कुनै पात्रको पलायनले मूल्य स्मृतिमा अमिट बनिदिन्छ । कुनै पात्र जसलाई समाज परिवार वा सत्ताले देखेको चिनेको हुन्न उसको योगदान अनि जीवनसंघर्षको उठान शून्यको अथाह मोल कायम गरेको छ । शिक्षामाथि सरल कथा लेख्ने गीजु भाइका जस्ता लाग्ने स्वास्थ्यकर्मीका कलमले लेखेका कथा सल्बार्ट्न शैली मात्र पछ्याएका होइनन् ।

भावनामा बग्दा कहिँकतै चिप्लिएको पनि देखिन्छ । मानवीय स्वभाव हो यो तर लेखक भरसक सम्हालिएका छन् । अभावसँग जुधेर बाँचेकालाई सहयोगको हात फैल्याइरहेका छन् । जब कि विद्यालयमा कापी कलम वितरण गर्दा ठोक्किने पात्रका दुखका तह उधिन्नु त्यसैको उदाहरण हो ।

शिक्षा र स्वास्थ्य मध्ये हरेकको लागि पहिलो प्राथमिकता स्वास्थ्य हो । तर त्यही स्वास्थ्यलाई स्वस्थ राख्न फेरि शिक्षाको अत्यावश्यक हुन्छ । डाक्टरी विद्या हासिल गर्दाका शिक्षाका अनुभूति र प्रसङ्गले पाठकलाई नयाँ ज्ञानको ढोका मात्र खोल्दैन । त्यसप्रति थप कुरा जान्न खोज्न घच्घच्याउँछ । पाठकलाई उत्प्रेरित गर्न सक्नु ज्ञानको भोक जगाउने सामर्थ्य राख्नु शून्यको गहिरो र बलियो मूल्य हो ।

कर्णालीको महत्त्व र महकका सीमालाई बढाउन गीत संगीत अनि साहित्यमार्फत आज जुन प्रयत्न गरिएको त्यसको प्रयोगमा आउने अहिलेको नेपाली भाषाको जग कर्णाली हो भन्नेमा जो कोहीमा दुइमत छैन । तर त्यहीँदेखि विकसित भाषाले यति विकासको स्वाद लिँदा कर्णालीका मान्छे र भूगोल अनि जीवनस्तर आज पनि डोजर ल्याउने ठेकदार र स्वास्थ्यकर्मी अनि शिक्षाकर्मीलाई कम्तिमा समानताको आँखाले सम्म हेर्न सक्दैन ।

त्यो प्रसङ्ग तितो हो कर्णालीको । सामान र नगद बाँड्ने एन जि ओ र उनीहरूले नजानिँदो गरी थपिदिएको अपाङ्गता भोगेको यस पाठकलाई तत् सम्बन्धि प्रसङ्गको अपेक्षा समेत थियो । उसो त हेर्ने दृष्टिकोण भिन्नभिन्न हुन्छन् तर कर्णालीमा अझैसम्म माछा बाँड्ने चलन व्याप्त छ माछा मार्ने जाल बुन्न सिकाउन होइन ।

शून्यको मूल्यको कथा एउटा सार मात्र हो कर्णालीको एउटा दु:खको, एउटा साहसको एउटा विकल्पको कथा हो आफैँमा जीवनको सार । सारको पनि सारांश उल्लेख गर्दा पठनको मिठासमा ओझेल पर्छ ।

“यो दुनियाँमा जब मानिससँग बलियो हुनुको अर्को विकल्प रहन्न ,तब सायद आफैँले नसोचेको तागत उसको तन र मन दुबैमा आउँछ ।”

” फेरि बलियो हुनुको विकल्प नभएका मानिस नै संसारका सबैभन्दा बलिया मानिस हुन् । ” – पृष्ठ १५-१६

अध्ययनको दायरा र क्षेत्र समेट्दा विभिन्न अनुसन्धानका उदाहरण अनि निर्धारण गरिएका लक्ष्य ,अन्य जीव जनावरसँगको तुलनात्मक कुराले प्राकृतिक रूपमा माया प्रेम र मातृत्वका आयाम समेत बुझ्न सकिन्छ । शरीर र मस्तिष्कको बनावट र त्यसको विकासक्रमको वैज्ञानिकिले यसलाई एक फ्युजनका रूपमा पनि लिन सकिन्छ । दु:ख मात्र छैनन् दु:खका कारण पनि छन् र निदान पनि ।

आध्यात्मिकताको सतही परिभाषालाई डाक्टर नवराज स्थुल समाधान दिन पछि परेका छैनन् । विद्यालयको पाठ्यपुस्तकमा जस्तो आएको एउटा ग्राफले धेरै कुराको संकेत दिन्छ । हाम्रो घर समाज अनि राज्यले गरेको लगानी र पुँजीको फिर्ता दरले चेतनशील भई टोपलिएका पुस्तालाई सोचनीय पार्छ । आखिर कुन स्तरमा छौँ हामी । आखिर त्यही लगानीको प्रतिफल हो हिजो आज र भोलिको पुस्ता पनि । “ओइरो अनुसारको पहिरो ” छ नि नेपाली उखान ।

स्थान र मितिको उल्लेखले अधिक पात्र सजीव छाएका छन् । उसो त सार्वजनिक सेवा प्रदायक पेशा हुनाले उहाँसँग अनगिन्ती पात्र ठोकिन पुग्नु स्वभाविक हो । तर पेशागत मर्यादाभन्दा माथि उठेर मानवीय चेतनाको जुन किरणले उहाँलाई यस्तो पुस्तक लेख्न लगायो त्यो कुरा जो कोहीको जीवनमा नजुर्न सक्छ । उहाँको यो लेखन उहाँको जीवनको कोसेढुङ्गा हो । उसो त हृदय पनि पढेका पाठक छन् तर यो त ती साना पात्रको सानो समयको ठुलो बायोग्राफी हो । बिच-बिचमा कामका फिलोसफीले पनि पाठकलाई कतै सिनेमाको दर्शक बनाइदिन्छ ।

चरमोत्कर्ष यस पुस्तकको अर्को चरित्र हो । जसमा लेखकले परम्परा तोडेका छन् । चर्चित लेखकहरू पनि चरमोत्कर्षको अन्तमा लोभिन्छन् । शून्यको मूल्यमा त्यस्ता धेरै चरमोत्कर्ष छन् जसलाई डा. केसीले सामान्य तरिकाले उचालेको देखिन्छ । मृत शिशुलाई स्तनपान गराउनु , श्रीमतीलाई ढुङ्गाले हानेर आँखा फोर्दिनु, काँचो मकै चपाएर भोकाग्नी मेटाउनु आफ्नै तलवको रकम उल्लेख गर्नु इत्यादि धेरै अझ प्रसङ्गपिच्छे भेटिन्छ त्यस्ता उत्कर्ष जसले पुस्तक छोटो छोटो हुँदै जान्छ र छाप बाक्लो बाक्लो छोड्दै जान्छ ।

वैचारिक दृष्टिबाट हेर्दा शून्यको मूल्यले दर्शन बोल्दैन, यथार्थ बोल्छ । परिवर्तनको अपरिहार्यता देखाउँछ । साँचो लेखक सत्ताको प्रतिपक्षी त हो नै त्यो बाहेक समाधान समेत दिने सक्षम बौद्धिक प्राणी पनि हो भन्न मन लाग्छ पुस्तक पढेर सकिँदा । ठुलो मान्छेको ठुलो गुण काम फत्ते गर्नु हो त्यसैले त उनलाई देखावटीको भारी गह्रौं गह्रौं लाग्छ । बरु साना भनिएका कुराले बोक्ने ठुला कुराको महत्त्व प्रकाश पार्न कैयौं अनुच्छेद खर्चिएका छन् ।

विभिन्न तथ्याङ्कमाथि टेकेर त्यसको निर्क्योलमा खेल्न जानेका डाक्टर हुन् नवराज र उनी सचेत छन् कि हामीले बोलेका दुई वाक्यले वरपरका दुई जीवन परिवर्तन हुन सक्छन् । ध्वस्त या निर्माणमध्ये निर्माणको जग हुन तयार पेशा हो डाक्टर समाज होस् या स्वास्थ्य । त्यो परिवर्तनको माध्यम यति धेरै भावनात्मक छ जसलाई पढेर जो कसैको रौं ठडिन्छ शरीर जिरिङ्ग हुन्छ त्यो हो बाबुलाई चिठी ।

साँच्चिकै एउटा डाक्टरले यसरी सोचिदिने हो भने ऊ भगवान् होइन त्योभन्दा धेरै माथि हुन्छ । असलमा मानवीयता सहितको पिओर मान्छे भनौँ न । आज मान्छे भेट्न गार्हो युगमा भगवान् भन्नू अतिशयोक्ति होला भनेर थपिएँ आफैँमा ।

विषय प्रसङ्ग र भिन्न कालखण्डमा भए पनि यस पाठकले भोगेको कर्णालीमा आँसु मात्र बगेको थिएन रगतकै भल देखेको थियो । सास खुस्काउने एउटा प्रतिस्पर्धा एउटा भागदौड आज कम्तिमा सेलाएको छ । बिस्तारै पसिना र आँसुको मोल खोज्ने प्रयत्नमा शून्यको मूल्य आएको छ । मान्छेलाई बुझ्नु सानोकुरा हुँदै होइन ।

जो कोही पाठकको टाउकाको डल्लो स्थिर पार्ने अनेकौं गल्ली छन् पुतली आमाको वृत्त , पटुकी बैंङ्क, “डिल्युजन अफ रिप्रिव “, खानाका रंग , सुकेका मान्छे , बूढो पृथ्वी जस्ता घुम्तीमा फेरि फेरि फर्किन मन लाग्छ ।

सामाजिक दृष्टिकोणबाट हेर्दा सबै कथा (अझ घटना र पात्रको भोगाइ भन्छु म) सबैभन्दा तल्लो तहका मान्छेका हुन् । जसको आफ्नो भन्नु ज्यान र ज्यान भित्र रहेको अदम्य उत्साहको उद्घाटन हो । केही नहुनेसँग पनि केही त हुन्छ भनेर खोज्न प्रेरणा दिन सक्षम छन् सबै पात्र र त लेखिन पाए यसरी । जो काल्पनिक होइनन् । कल्पनाशीलतालाई त यसरी जोडिएको छ कि मानौँ ती तिनै पात्रले बोकिल्याएका केराका कोसेली हुन् ।

तर त्यसो भन्दैमा उनी चुक्दैनन् यसो भन्न, “मानिसहरू गुमनाम सेना र सेनापतिलाई दोष दिन्छन् । मानवीय विभेदले कमजोर हुँदै गएको सामाजिक परिवेश देख्दैनन् । यो सभ्यता दुई मुख्य समस्याले ग्रस्त र कमजोर देखिन्छ । अहिले पनि कर्णालीको माटोका जातीय र लैङ्गिक असमानताका समस्या प्रगतिका सबैभन्दा भयानक बाधा हुन् । अनि कर्णाली जस्तै संसारका हरेक समाजका ।” – पृष्ठ १८६

 

पेशा , परिचय र मान्छेमाथि एउटा शेर छ

“जो चेहरे दूर से लगते हैं आदमी जैसे
वही क़रीब से पत्थर दिखाई देते हैं ” – अहमद वसी

त्यस्तै पत्थरभित्र उम्रने पिपल अनि अनायास मुस्काउने गुलाफहरुको सँगालो हो शून्यको मूल्य । यति धेरै सकारात्मकताभित्र पनि कसिकसुर बाँकी छ । तिनलाई सम्बोधन गरिएन भने अन्य पाठकलाई एक स्तुति लाग्न सक्छ । शून्यको मूल्य पहिलो कृति हो लेखकको तर साङ्ग्रिलाको पहिलो पुस्तक होइन । अर्को संस्करणमा अशुद्धिले मुक्ति पाउन् कामना छ ।

लेखकले कथा, भाव र वैचारिकी सँगसँगै लैजानु एउटा प्रयोग भए पनि सामान्य पाठक अलमलिनु स्वभाविक हो । सिर्जनात्मक गैरआख्यान भए पनि एउटा लय त खोज्छ नै पाठकले । कहीँ काल्पनिकी हावी भएको छ । कतै फिल्मी शैली अपनाइएको छ । विशेष गरी पुतली आमा । कतै कथानक टुटेको छ । पात्रको बेपत्तालाई पाठकले फेरि संयोगको प्रतीक्षा गर्छ लेखन शैलीअनुसार तर त्यसो हुँदैन । त्यसले अति यथार्थता बोकेको हुन्छ । यसरी हेर्दा आधा काल्पनिक आधाको आधा अध्ययनको ज्ञान र आधा भावानाको तरंङ्गले रंगिएको छ । यथार्थमा आदर्श मिसिएको गज्याङ्मज्याङ्ग जिन्दगीजस्तो । ठोस निष्कर्ष दिन नसक्ने एक राजनीतिक दस्तावेज जस्तो पनि लाग्न सक्छ कसैलाई । तर मेरो हकमा अधिक सम्भावना बोकेर आएको छ शून्यको मूल्य र उसले उठाएको छ कर्णालीको मानवीय अमृत एउटा रित्तो गाग्रोभरि ।