
“ऊ भावुक भएर बोलिरह्यो । डाक्टर शून्य भएर टोलाइरह्यो । डाक्टरी जीवन केवल औषधीको पोको दिएर सकिँदैन रहेछ । मानिसका भावनाका पोका साटासाट गर्न पनि पर्दो रहेछ ।”
शून्यको मूल्य पढ्न सुरु गर्नुभन्दा अगाडि मलाई लागेको थियो, मान्छेको मुटु चिर्ने डाक्टरले बिरामीको पीडा र घाउको दुखाइलाई साँच्चै अनुभूति गर्छ होला त ? के दिमागको उपचार गर्ने डाक्टरले मस्तिष्कका भावना, सोचाइ र अत्यासहरूलाई बुझ्छ होला ? पेट दुखेर छटपटाउँदै अस्पताल पुगेको बिरामीलाई जाँचिसकेपछि डाक्टरले औषधी मात्रै दिन्छ कि उसको दुखाइको पनि अनुभूति गर्छ ?
यी र यस्तै प्रश्नहरू मनमा राखेर जब ‘शून्यको मूल्य’ पढ्न सुरु गरे तब लाग्यो सुरुमा लेखकले भनेजस्तै डाक्टर केवल औषधीको पोको दिने मानिस मात्र रहेनछ । डाक्टरी पेसा त मानिसका भावना, दुख, अभाव, पीडा, स्नेह, साहस र सास साटफेर गर्ने पेसा पनि रहेछ । पेसाले बालरोग विशेषज्ञ डा. नवराज केसीले लेखेको यस शून्यको मूल्य पुस्तक पढिरहँदा निकै ठाउँमा मेरो मथिङ्गल नै हल्लाइदिएको छ । पुस्तकले समग्रमा कर्णालीको जीवन सङ्घर्ष र कठिनाइलाई जस्ताको तस्तै उतारेको छ ।
कर्णालीका जनताको साहसलाई, दुःखलाई र महिलाहरूको मातृत्वलाई लेखकले जीवन्त रूपमा प्रस्तुत गरेका छन् । कर्णालीमा जन्मिएर कर्णालीकै सेवामा समर्पित एक कुशल समाजसेवी डा. नवराज केसीको यो पुस्तक साँच्चै नै सशक्त र जीवन्त छ । उनी पुस्तकमार्फत कर्णालीको समग्र स्वास्थ्य अवस्था, नागरिकहरूको दुःख, बिरामी हुँदा भोग्नुपर्ने कठिनाइ र अभावलाई सही रूपमा प्रस्तुत गर्न सफल भएका छन् ।
बिरामी हुँदाको कठिन परिस्थितमा पनि कसरी साहस बटुलेर मान्छेहरू जीवन बँचाउन चाहन्छन् भन्ने विषयलाई किताबले समेटेको छ । उनले आफूले कर्णालीमा काम गरिरहँदा भोगेका, देखेका, बुझेका र आफूसँग ठोक्किएका विषयहरूलाई सिलसिलेवार र आकर्षक शैलीमा प्रस्तुत गरेका छन् । पुस्तक पढिरहँदा ठाउँठाउँमा रुवाउँछ, ठाउँ ठाउँमा ज्यान सिरिङ्ग हुन्छ भने ठाउँ ठाउँमा राज्यप्रतिको उत्तरदायित्व स्वास्थ्य लगायतको क्षेत्रमा बढिदिए हुन्थ्यो भन्ने बोध हुन्छ र आक्रोशित पनि बनाउँछ ।
“के भएर आउनु भयो ? आमै !”
जवाफमा दुई वाक्य आए, जसको सङ्गीत डाक्टर र त्यहाँ वरपर रहेका हरेक जीवितले जीवनभर भुल्ने छैनन् ।
“पैसा सक्किए, सास सक्किएन त्यसैले ।” उनी बोलिन्, “बिना पैसा बचेको, अलिअलि बचेको सास बच्छ की भनेर आश खोज्दै आएकी हुँ बाबु । भलो होला त ?”
पुस्तकमा लेखकले यो विषय कथा बनाएर लेखेका होइनन् । वास्तवमै कर्णालीका नागरिकहरूको यथार्थ कहानी लेखेका छन् । भएको धन सम्पत्ति सबै सक्किँदा पनि रोग निको नभएपछि अन्तिम भरोसा, आशा र प्रार्थना राख्दै आफ्नै क्षेत्रको अस्पतालमा लेखक डाक्टरसँग ठोकिएका तमाम बिरामीहरूको कथालाई निकै मार्मिक ढङ्गले प्रस्तुत गर्न सक्ने खुबीले लेखक केबल चिकित्सकीय डाक्टर मात्र नभएर साहित्यका पनि डाक्टर हुन् भन्ने आभास गराउँछ ।
पुस्तकले सास र साहसका मात्रै कुरा गर्दैन । नागरिकका स्नेह, प्रेरणा र सुखका पनि कुरा गर्छ । साना-साना कुरामा पनि खुसी हुने जनताको दिनचर्या बोल्छ । शून्यमा पनि रमाउन सक्ने मान्छेहरूको मिठो कथा बोल्छ । लेखकको विचारमा कर्णाली आफैमा एउटा विश्वविद्यालय हो । अनि कर्णालीको जीवन, सङ्घर्ष र सिकाइ नै आफ्नो सबैभन्दा ठूलो डिग्री पनि हो । हो पनि । उनले पुस्तक मार्फत कर्णालीको सामाजिक परिवेश, जनताको सङ्घर्ष र दुःख (उनकै शब्दमा सास र साहस)लाई विश्वविद्यालयको ज्ञान जस्तै छर्लङ्ग पार्ने प्रयास गरेका छन् ।
उनी कथाकै क्रममा जोन लेननको भनाइलाई जोड्दै भन्छन् :
जब म स्कुल गए मलाई सोधियो, “तिमी के हुन चाहान्छौ जिन्दगीमा ? ”
मैले भनेँ, “खुसी”
उनीहरूले भने, “मैले प्रश्न बुझिन रे !”
भनेँ, “तिमीहरुले जिन्दगी नै बुझेनौ ।”
साँच्चै पुस्तकको यस अंशले कर्णालीको सङ्घर्ष मात्रैलाई होइन, खुसी, स्नेह र प्रेरणालाई पनि प्रतिबिम्बित गरेको भान हुन्छ ।
बुधेकी फुपूआमा, बुबालाई चिठी, भेडिने कान्छी, मृत्युपछिको जीवन र पुतली आमा गरी ५ वटा कथामा विभाजित पुस्तक पढिरहँदा कुनै पनि ठाउँमा रोकिरहन मन लाग्दैन । पेसाले चिकित्सक त्यसमाथि कर्णालीकै पानी खाएर हुर्केको भएर होला कथामा कहीँ कतै असान्दर्भिक विषय र प्रसङ्ग नमिलेको भेटिँदैन ।
अन्त्यमा, लेखक तथा डाक्टरको विचारमा कर्णाली मात्रै होइन समग्र रूपमा सामाजिक रूपान्तरण गर्ने हो भने हामीले हाम्रा आमा र हजुरआमाहरूमा लगानी गर्नुपर्ने हुन्छ । आमा र हजुरआमाहरूमा लगानी बढाउनु भनेको उनीहरूको मातृ स्वास्थ्य, उनीहरूबाट जन्मिने बच्चाको स्वास्थ्य र पालनपोषण गर्नको लागि हजुरआमाहरूको योगदानमा लगानी बढाउनु हो । जब हाम्रा आमा हजुरआमाहरू शारीरिक तथा मानसिक रूपमा स्वस्थ हुन्छन् तब मात्र हाम्रा बच्चाहरू पनि स्वस्थ हुन्छन् । बच्चाहरू स्वस्थ हुनु भनेको समग्रमा देशनै स्वस्थ हुनु हो । यसैको माध्यमबाट हामीले अवलम्बन गरेका दिगो विकास र सामाजिक विकासमा लक्ष्यहरू पूरा हुन सक्छन् ।
त्यसैले उनले राज्यलाई यो विषयलाई गम्भीरतापूर्वक लिन र आमा, हजुरआमाहरूमा लगानी गर्न आग्रह गर्न चाहन्छन् । सिर्जनात्मक गैर आख्यानको रूपमा प्रकाशित यो पुस्तक पढेर कर्णालीको परिवेश बुझ्न चाहनुहुन्छ भने यहाँहरूको लागि यो उत्तम माध्यम हुन सक्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

