प्रेम लेखिनु हुन्न किनकि यो शब्दकोशका सीमित शब्दद्वारा पूर्ण हुँदैन । प्रेम पूर्ण हुन एउटा जीवन पूर्ण हुनुपर्छ । र यो भौतिक जीवन कहिले पनि पूर्ण हुँदैन ।
एउटा अण्डादेखि वयस्क पुतलीसम्मको चरण पार गर्दा जसरी पुतलीको जीवन पूर्ण हुन्छ त्यसरी मान्छेको हुँदैन । मान्छेलाई उसको जीवनकाल भर चरणपिच्छे फरक आवश्यकताले गिजोल्छ । उसको आवश्यकताले समय अनुसारको रङ्ग बदल्छ र सँगै त्यसको पूर्तिका लागि स्वयं उ पनि बदलिन्छ । यसरी घरीघरी बदलिँदो जीवन पूर्ण हुनै सक्दैन । जीवन नै पूर्ण नभएपछि त्यहाँ कसरी प्रेमले पूर्णता पाओस् ।
यसरी हेर्दा प्रेम लेख्न सम्भव छैन तर घरीघरी यसैको परिधिभित्र किताबहरू लेखिन्छन् । कुनै समर लभ बन्छन् त कुनै एउटा मौसम जस्तै अर्को आएपछि हराउँछन् । त्यस्तै भिडमा एउटा नयाँ आँटको जन्म भएको छ । दुलारको जन्म भएको छ । सुशीला नाथ योगीको जन्म भएको छ ।
साहित्यकारको रूपमा आफूलाई स्थापित गराउने हतियार प्रेम कथा हैन । तर कसैले प्रेम लेख्छ भने किन लेखियो भनेर प्रश्न गर्नु पनि ठिक हैन । तर मलाई दुलार लेखिनु पछिको कारण सोध्न मन छ । यहाँ थुप्रै मोडहरू अन्यत्र मोडिएका छन् त्यसैले पनि यो स्नेह लेखिनुको कारण सोध्न मन छ ।
दुलार भन्ने बित्तिकै स्पष्ट भइसक्छ यहाँ हृदयको बात भएको छ । सुशीला नाथ योगी स्पष्ट छिन् दीप प्रतिको प्रेममा । तर जुन दीप बल्दै बल्दैन त्यसलाई जलाएर उज्यालो बनाउँछु भनेर दौडिनु सरासर गलत हो । कसैले कुन हदसम्म प्रेम वा जिद्दीपन देखाउँछ भन्ने उदाहरण यस पुस्तकमा प्रस्तुत भएको छ ।
आजको युगको अर्ग्यानिक प्रेम देखाउन खोजिए पनि अलिकति चुकेको पुस्तक हो दुलार । कहाँनेर गएर चुक्यो त भनेर आफैँलाई प्रश्न गर्दा सुशीको पति प्रतीकमा गएर घडीको काँटा रोकिन्छ । यदि उनलाई प्रेमको कदर हुन्थ्यो भने पतिलाई छोडेर गइसकेपछि दीप खोज्दै हिँड्नु हुन्थेन ।
घटनाक्रमभन्दा मनोवादमा बढी समय अल्झिएको यो ओपन इन्ड स्टोरी इन्ड भैसकेको छ तर लेखिका To be continued भनेर पाठकलाई एकछिन रनभुल्ल बनाउन सफल छिन् । मैले सुरुवातमा भनेजस्तो प्रेम लेखिनु हुन्न तर दुलार लेखियो र दुलार यति मीठो गरी लेखियो कि कहिल्यै प्रेम भएन भन्नेले पनि एकपटक प्रेम महसुस गर्छ । आफ्नो हुँदै नभएकी प्रेमिका सम्झिन्छ वा नभएको प्रेमी सम्झिन्छे । यस अर्थमा यो पुस्तक प्रेम बोक्न सफल देखिन्छ । र जुन पुस्तकले प्रेम बोकेको छ त्यसलाई पढ्नेहरू हृदय खोलेर प्रेमको जयजयकार गर्न निस्किन्छन् । यति त पक्का छ कि साहित्यको बजारमा प्रेम बिक्छ वा बिक्दैन भन्न नसकिए पनि एउटा मौसम जस्तो अर्को आएपछि अलप भने हुँदैन । यो त बरु समर लभ जस्तै लामो समयसम्म रहिरहन्छ ।
बलियो हुँदाहुँदै पनि रेस्लिङ खेलाडी द ग्रेट खलिको एउटा कमजोरी छ । उनी गोडामा प्रहार सहन सक्दैनन् । यो किताब त्यस्तै छ । यहाँ प्रेम छ । प्रेमी मजबुत पनि छिन् तर त्यति पनि छैनन् जति प्रेमले बनाउँछ । आमाको वियोग सहेकी नारी एउटा प्रेमी भनाउँदाको सहन सक्दिनन् । आत्महत्या जस्तो निर्णय गर्छिन् र फेरि त्यो सोचको हत्या गर्छिन् । शक्ति देखिन्छ तर लामो समय टिक्दैन । आत्महत्याको बाटो गलत हो भन्न सक्नेले कुनै पनि हालतमा भुल्न नसकेर उसको खोजीमा जिन्दगी बर्बाद गर्ने बाटोतिर लम्किएको सुहाउँदैन । यतिबेला एउटा नारीले नारी शक्तिलाई कमजोर देखाइदिन्छिन् । यदि उनले प्रेम नै गरेकी भए त भविष्यलाई उदाहरण बन्न सक्ने पात्र जन्माउँथिन् । यहाँ पात्र र लेखक दुवै चुके । दुवै नारी हुँदाहुँदै चुके ।
सबै पुस्तकले केही न केही सिकाएर जाने नै हो । हामीले खराब भनेको औषधि पनि अमृत बन्न सक्ने थुप्रै उदाहरण छन् । दुलार त खराब छैन । यो बस आफ्नो पूर्ण गुण दिन नसक्ने अवस्थाको भएको मात्र हो । यसले प्रेममा के कस्तो अवस्था आउन सक्छ भनेर छर्लङ्ग पार्छ । यसले प्रेममा स्वार्थ कति हुन्छ वा हुँदैन स्पष्ट बनाउँछ । प्रेमको अर्थ परिभाषित गर्दागर्दै चुके पनि कम्तीमा यसले मृत्यु समाधान हैन भनेर बताउँछ । र जुन पुस्तकमा जीवन लेखिएको हुन्छ त्यसको आयु छोटो हुँदै हुँदैन ।
भाषा र शैली एकदम सरल छ । जो कोहीले यसलाई सजिलैसँग बुझ्छ । त्यसैले म यो पुस्तक र यसका सर्जकको उज्यालो भविष्य देख्न सक्छु । आगामी यात्राको लागि नायक सुशीला नाथ योगीलाई शुभकामना ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।