रूपक अधिकारी

म प्रेमको मैदानमा अपहेलित भैसकेको छु
विप्लवको गोरेटोमा मेरी अर्धाङ्गिनी
एउटा चुम्बन कथा सुनाउँछे
मदिरामा लठ्ठ परेर बहकिँदै जाँदा उसलाई त्यति याद छ
कि त ऊ त्यति मात्र सुनाउन चाहन्छे
त्यति मात्र सुनाउन सक्छे
सैतानको लिवासमा म उसको धोका परीक्षण गर्न सक्थे
पोजिटिभ निस्कन सक्थ्यो
तर मैले त्यसो नचाहनुमा कारण प्रेम थियो
र, मैले त्यही अध्यायपछि मैदानमा हार्दैहार्दै गैरहेँ ।

प्रेमको कोलाहल सुन्दा उदेक लाग्न थालेको छ
यो संसारमा हुँदै नभएको प्रेममा किन गीत लेखिन्छन्
यहाँ बुहारीलाई भन्दा बढी पीडा त ज्वाईंलाई हुन्छ
मलाई ससुरालीले आफ्नो घर नछोडेकामा पीडा दियो
सासुको हातबाट शल्यक्रिया हुँदा
आँत कैले लिलाम हुन्छ पत्तै लाग्दैन
ससुराले मलाई मगजको बिरामी हौ भनी अपहेलनाको बाण हान्दा
बिरामीनै बनाउने उनकी छोरीको कर्तुत मुटुकै डस्टबिनमा राख्दा
डिप्रेसनको रजस्वला भएको चैँ हो
र, त्यही अध्यायपछि मैले मैदान छोड्दै छोड्दै गैरहेँ ।

आई लभ युको बजारमा म छाती ठोकेर भन्न सक्छु
माफ गर्नुस् महोदय तपाईंको प्रेम कात्रोजस्तै छ
ज्युँदो रहुन्जेल कैले ओढ्ने साहस राख्न सक्दिनँ ।

 

गौरादह – १, झापा