केदार भण्डारी

नाङ्गै उदाउँछ सूर्य आकाशमा
धर्तीले सूर्यलाई
नाङ्गै देखेर लाज लाग्यो
भने
घुम्टो ओडेर
मात्रै उदाउँछु
लाज छोपेर मात्रै
अस्ताउँछु भन्यो भने
यो ब्रह्माण्ड पनि त नाङ्गो नै छ
यदि ब्रह्माण्डले आफ्नो लाज छोप्छु
भन्यो भने
नाङ्गो नै छ चन्द्रमा पनि
यदि चन्द्रमाले
लाजले आफ्नो मुख
लुकाउँछु भन्यो भने
के गर्छन् होला
ती नाङ्गा ताराहरु?
तिनीहरु आफ्नो लाज लुकाउँछ्न्
कहाँ?
नाङ्गै फुल्छन् फूलहरु
कुनै दिन फूलहरुलाई
लाज लाग्यो भने
हावा पनि नाङ्गो छ
नाङ्गै बहिरहन
हावाले पनि लजायो भने
कुनै दिन?
तिम्रो सोच पनि नाङ्गो छ
तिम्रो हेराई पनि नाङ्गै छ
हे मानव!
तिम्रो सोचमा
तिम्रो हेराइमा
जबसम्म कामुकता
रहिरनेछ
तबसम्म
सबै नाङ्गै
नाङ्गै
हुनेछ
अनि म लेखिरहने छु
यौटा नाङ्गो कविता

गौरादह नगरपालिका ६, झापा