रूपक अधिकारी

कलिलैमा
कैलालीबाट
कलेजो बेच्न आएकी काइँली
थाहै नपाई कहिले मसँग भेटिन पुगिछे, वैंशको चौतारीमा
म उसलाई कैली सम्बोधन गर्छु

केही अघि केही पलसम्म
कर्कलाको पातमा अडिएको उसको अस्मिता
पानीको थोपाझैं तप्प भुइँमा खसेछ
काँचो उसको योनी मजस्तै पुरुषको आँखामा परेर
भुसमा राखेको आँपजस्तै पाकिसकेछ
प्रेमको आडम्बरमा एतिबेला ऊ नामुद कविता भैसकेकी छे
रत्नपार्कहरूमा
ठमेलका ठेलमठेल व्यस्त क्लवहरूमा
बसपार्कका होटलहरूमा
ऊ छ्यापछ्याप्ती वाचन हुन थालेकी छे

बलात्कार शीर्षक युट्युव र पत्रपत्रिकामा देखिन्छ
तर अब न ऊ कवि हुन योग्य छे
न काव्य बाँकी रही

एसबेला
उसको हातबाट छुटेका कुदृष्टिका मैला पात्रो पल्टाउँदै
कात्रो पर्खिरहेकी छे ऊ

अखबारहरू पुरानो पात्रो फर्काइरहेका छन्
समाचारका लेप लगाई
बलात्कार लेख्न
बलात्कार गर्न

नदेखिएको मात्र हो इज्जत यहाँ वकिलहरू लुट्छन्
अदालती बयानको नाममा प्रश्नका वीर्य मिसिलमा चढाएर
प्रहरीहरू लुट्छन्
दोषी विरुद्ध कार्वाहीको नाममा लिङ्गको गरुँगो मुचुल्का उठाउन
पत्रकारहरू लुट्छन्
ताजा समाचारको नाममा इज्जतको टिआरपी बढाउन
सरिसरी घटाउन
र यसरी पनि बाध्य छन् कोही योनीमा राखिएको इज्जत बारम्बार लुटाउन

हातमा कलम समाएकी छे
र कोर्न चाहन्छे एउटा त्यस्तो कर्कलो
जसले सँधै ढाडस दिइरहोस् शीतको थोपाजस्तै अस्मितालाई
समुद्रले निलमणीझैं
सिपीले मोतीलाई जस्तै

मलाई एतिबेला उसको कलममा क्रान्तिकारी मसी भर्न मन छ
जसले लेख्न सकोस् विद्रोह
सुनाउन सकोस् उदाहरण आउँदा दिनहरूमा
जसरी झिसमिसेमा घामले सुनाउँछ
एक आरम्भ
एक नयाँ दिन
एक नयाँ सुरुवात

आउनुस् आज हामी पखालौं
ताकि भोलि कुनै काइँलीले कलिलैमा मैल पिउन नपरोस्
कैली हैन परे बरु उसले काली बन्नुपरोस्
किनकी ऊ अझै मैली भैसकेकी छैन ।