
विषय प्रवेशः
बसन्त बस्नेत नेपाली पत्रकार एवम् लेखक हुन् । उनी अनलाइन खबर, अनलाइन समाचार पोर्टलका सम्पादक हुन् । उनले शिलापत्रबाट राजीनामा दिएर सन् २०२२ जुलाई १७ देखि अनलाइनखबरमा काम गर्न थालेका हुन् । यसअघि उनले कान्तिपुर राष्ट्रिय दैनिकमा राजनीतिक संवाददाताका रूपमा समेत काम गरेका थिए । उनी नेपाल पत्रिकाका सम्पादक पनि थिए । जुन कान्तिपुर पब्लिकेसन्सबाट प्रकाशित हुने गर्दथ्यो । उनका दुईवटा पुस्तक प्रकाशित छन् ।
उनको पहिलो पुस्तक ७२ को विस्मयु सन् २०१८ सेप्टेम्बरमा प्रकाशित भएको थियो । यो पुस्तक २०१५ को नेपालको भूकम्प र वि.सं. २०७२ सालमा नेपालको संविधान जारी भएपछिका घटनाहरूबारे पहिलो गैरआख्यान हो । उनको दोस्रो पुस्तक, महाभारा माओवादी जनयुद्धको समयमा पूर्वी नेपालमा विकसित घटनाशृङ्खलामा आधारित उपन्यास हो । महाभारा वि. सं. २०७८ मा प्रकाशित उपन्यास हो । राजनीति, धर्म, युद्ध, अन्तरजातीय प्रेम, इतिहास आदि इत्यादि सामाजिक र जटिल विषयवस्तुलाई समेटेर लेखिएको उपन्यास हो । यस उपन्यासभित्रका पात्रहरूले मनमस्तिष्कमा मिठो छाप छोड्न सफल भएका छन् । मधुर पुर्वेली लबज र नेपाली साहित्यमा बिरलै देखिने सशक्त संवादको मिठो सम्मिश्रण हो, महाभारा ।
===
विषयवस्तुः
पूर्वी पहाड महाभाराको लिम्बू बस्तीमा जन्मिएको तामाङ सन्तान डुक्पा भेडागोठालो बाबुछिरीको छोरो हो । पत्नीको मृत्युपछि डुक्पा र उसको दाइ घ्याङसिङलाई बाबुछिरीले नै हुर्काउँछ । डुक्पालाई पढाइमा मन नभए पनि किताब बाहिरको सिर्जनशील जीवनको भोगाधिकार गर्न भने कुनै कसर बाँकी राख्दैन । सबैभन्दा बढी ऊ बजार जाँदा देखेको ट्रक हाँक्ने ड्राइभर बन्ने सुदूर सपनाले मोहित हुन्छ । ड्राइभरको सान र खलाँसीको हाँकधाकले उसलाई सपना र विपनामा ट्रककै पछिपछि कुदाउँछ ।
डुक्पा गुच्चादेखि क्यारमबोर्ड र फुटबलदेखि ताससम्मको परीक्षामा समूह नै बनाएर टप गर्छ । बेन्चबाट अगाडि फर्किएर कालोपाटीमा मुत्नेदेखि धामी बस्नेसम्मका गतिविधिमा मैमत्त छ ऊ । जवानी चढ्दै जाँदा फुङसिङ मेलामा पालाम गाउँदै र पाँचवटा हिन्दी गीतमा मौलिक ‘डुक्पा डान्स’ गरेकै भरमा उसको एकै झमटमा सुक्मती लिम्बूसँग प्रेममा गाँसिन्छ । तर, सुक्मतीसँग भर्खर लागेको प्रेममा अल्पविराम लगाएर डुक्पा हिँड्दा पाठकलाई ‘उसको प्रेम के होला’ भन्ने भावले सताइरहन्छ । ऊ मधेस जान्छ, जहाँ उसको परिचय डुक्पाबाट डेनी हुन्छ र नागरिकता पनि नबनी घरबाट भागेको भएर उसले जति सङ्घर्ष गरेर जुन गाडी सिके पनि लाइसेन्स बनाउन पाउँदैन । अनि विदेश गएको साथीको लाइसेन्स बोकेर आफू गाडी चलाउन थाल्छ । डेनी ड्राइभर बन्छ । एउटा व्यापारीको गाडी चलाउन थाल्छ । ट्रक ड्राइभर बनेर सुक्मतीसँग सुखी जीवन बिताउने सपना सजाइरहन्छ । ड्राइभर बन्ने डुक्पाको सपना पूरा हुन्छ ।
त्यस क्रममै ऊ कसोकसो माओवादी सशस्त्र युद्धमा जोडिन्छ, चालककै रूपमा सघाउँछ । युवकहरूको समूहले एकजना ट्रक ड्राइभरलाई मारिदिन्छन् । आन्दोलन हुन्छ । थाहै नपाई जोसजोसैमा डुक्पा त्यो आन्दोलनको अग्रभागमा पुग्छ । भूमिगत रहेका स्थानीय माओवादी नेताको नजरमा पर्छ । उनीहरूले डुक्पालाई फकाउँछन् र आफ्ना सानातिना कामहरूमा सहयोग माग्न थाल्छन् । डुक्पालाई माओवादीहरूको संसर्ग सुरुमा अप्ठ्याराे र बिस्तारै रोमाञ्चक लाग्न थाल्छ । कामविशेषले तिनै माओवादी नेताहरूको पछि लागेर फेरि डुक्पा पहाड उक्लिन्छ । र, पुग्छ आफ्नै गाउँमा । फेरि जानीनजानी माओवादीमा लागेपछि ऊ डेनीबाट थेबा बन्छ । यसपछि कथामा धर्म मिसिन्छ, द्वन्द्वको रापताप थपिन्छ । प्रेमको चस्को पनि आउँछ ।
उसले सुक्मतीलाई भेट्दैन । माओवादीकै कारण सुक्मतीले गाउँ छोडिसकेकी हुन्छे । पाँचथरको लारुम्बा भन्ने स्थानमा एक जना किराँती धर्मगुरुको आश्रम हुन्छ जहाँ चाँडै नै पृथ्वी ध्वस्त हुने र गुरुले मात्रै बचाउन सक्ने भन्दै मान्छेहरू थलो छोडेर गुरुसँग शरण माग्न पुगेका हुन्छन् । सुक्मती आफ्नो निराशाको कारण सन्यासीझैँ भएर लारुम्बामै धर्मगुरुको आश्रममा शरण लिन पुगेकी हुन्छे ।
===
पात्रविधानः
पात्रविधानका आधारबाट डुक्पा, सेक्मुरी, तान्छोहान्ङ, मिङ्शो, कटक, मेरिना, बाबुछिरी, रिक्की, धिमाल, अग्रवाल आदि पात्रहरू आफ्नो आफ्नो भूमिकामा रहेर धेरै शिक्षा दिएका छन् । ‘महाभारा’ पढेर सक्दा वा पढ्दै गर्दा ममा विभिन्न भावनाहरू, उत्तेजना, हाँसो, मुस्कान, कहिलेकाहीँ रिस उठ्नु, रोदन आदिको अनुभूति भएको थियो । नयाँ शब्दको र स्थानीय ठेट शब्द, राई, लिम्बूको लवजमा लेखिएको वाक्यहरूको प्रयोगले उपन्यासलाई पढ्नको लागि एकदम रोचक बनाएको छ । त्यहाँ धेरै चिजहरू छन् जसले हाम्रो जीवनलाई उर्जा दिन्छन् । यसले व्यक्तिलाई संवेदनशील रूपमा सोच्न, गहिराइमा कुराहरू बुझ्न, फलदायी रूपमा विश्लेषण गर्न र आफूलाई बुद्धिमानीपूर्वक व्यक्त गर्न मद्दत गर्दछ । यसले संसारलाई अझ राम्रोसँग बुझ्न मद्दत गर्दछ । प्रेम कहिल्यै मर्दैन । पहिलो प्रेमको सम्झना मुटुमा छाप बनी सधैँ अजर अमर बनेर रहिरहने छ भन्ने तथ्य पनि उपन्यासमा देखाइएको छ । डुक्पा र सुक्मतीको प्रेम कथामार्फत् उपन्यासले तानिरहन्छ ।
यस उपन्यासका पात्रहरू सशक्त छन् । मिङ्सो किराँत र लिम्बुवानमाथि भएको उत्पीडनको गहिरो बोध भएको र प्रतिरोधी चेतना सशक्त भएको पात्र हो । उपन्यास डुक्पा र सुक्मतीको सम्बन्धभन्दा सुक्मती र तान्छोहाङको सम्बन्ध बढी सफल भएका छ । उनीहरूको सम्बन्ध प्रेमिल र यर्थाथ लाग्छ । प्रेमीका रूपमा तान्छोहाङको उपस्थिति काँचो लाग्दैन । उनीहरूले पार गरेका प्रेम र सम्बन्धका चरणहरूमा अर्गानिक रूपान्तरण भेटिन्छ जुन सुक्मती र डुक्पाको सम्बन्धमा भेटिँदैन । उपन्यासमा तान्छोहाङको उपस्थितिले प्राप्तिविनाको आत्मिक प्रेमसँग पाठकलाई परिचित गराउँछ । प्रेमी होइन भन्ने थाहा हुँदाहुँदै पनि उनीहरू प्रेमीजस्ता लाग्छन् । अन्ततः डुक्पा र सुक्मतीको प्रेम जबरजस्ती सुखद अन्त्य अनौठो र अविश्वासिलो बन्न पुग्छ ।
===
मूलभावः
त्यो समयमा विद्यमान सामाजिक परिस्थितिजस्ता समसामयिक विषयहरू समावेश गरिएको यो एक पठनीय पुस्तक हो । पाना पल्टाउने क्रममा बमबारी र बन्दुकबाट गोलीको वर्षापछि विद्यालय र अस्पतालहरू कङ्कालका अवशेषहरूझैँ बनेका छन् । यथार्थपरक, सरल र सहज भाषाको प्रयोग भएको उत्कृष्ट कृति हो । जनयुद्धकालीन समय, राजनीति, समाज र द्वन्द्व सम्झाउने अनि झल्काउने काम गरेको छ । त्यो युद्धले मानिस परेको नकारात्मक असर बारेमा पनि यो किताबमा छलाङ्ग पाइन्छ ।
नेपालमा जुन समयमा जनयुद्ध भएको थियो त्यो समयमा त म जन्मेकी पनि थिइनँ तर मजस्तो सामान्य विद्यार्थीले यो किताब पढेर त्यतिबेलाको समयको वर्णन तथा घटनाहरू सुन्दा आफैँले भोगेजस्तो महसुस भयो । त्यतिखेर कतै जान पनि डराउनु पर्ने, अपहरण होला कि भन्ने कुराको डर हुने अथवा आफ्नो साथी, आफ्नो परिवारका सदस्यहरूको अपहरण होला कि भन्ने डर र बिहान काममा हिँडेको व्यक्ति बेलुकासम्म आइपुग्छ कि पुग्दैन भन्ने डर र त्रास भइरहने कुराको हामीले ज्ञात गर्न सक्छौँ ।
===
निष्कर्षः
केही ठाउँमा लिम्बू भाषामा लेखिएका शब्दहरू नबुझे पनि पुस्तक अध्ययन गर्दा बिचमै छोड्न मन लाग्दैन । मदन पुरस्कारको लागि छनोट भएको पुस्तक ‘महाभारा’ साँच्चै नै एक उत्कृष्ट कृति हो । भित्र पल्टाउने बित्तिकै खै के भाषा हो जस्तो लाग्ने जस्तो एक पेजमा त पुरै सिरिजङ्गा लिपी पढ्न पाइन्छ । पहिला त केही बुझिएको थिएन यसो इन्टरनेटतिर हेरेकी थिएँ त्यहाँ पनि केही थिएन तर भाग्यवश फेसबुकमा त्यही सम्बन्धित कुरा भेटेँ । त्यहाँ त्यसको अर्थ मान्छेको जीवनसँग सम्बन्धित विचार प्रस्तुत गरिएको थियो । पक्कै पनि यो सही नै छ होला भन्ने आशाबाट किताब पढ्न अगाडि बढेकी थिएँ ।
धर्म समाजको निकै संवेदनशील विषय हो । धर्मले गर्ने विभेदबारे उपन्यासमा दार्शनिकता प्रस्तुत गरिएको छ । तर, हिन्दू धर्मको जात व्यवस्थाका कारण हुने विभेदलाई कतै पनि उल्लेख गरिएको छैन । माओवादी गतिविधिले तत्कालीन समयको आर्थिक, सामाजिक, सांस्कृतिक परिवेशलाई चित्रण गरेको छ । किराँतको मुन्धुम संस्कृति पनि किताबमा आएको छ । धर्म परिवर्तन, बुद्ध, राजतन्त्र, प्रजातन्त्र जस्ता थुप्रै विषय उपन्यासमा अटाएका छन् । हरेक पात्र, घटना र विषयवस्तुको सजीव चित्रण गरिएको छ ।
लेखकका पात्रले व्यक्त गरेका, उपन्यासका मन छुने भनाइले मेरो पनि मन छोयो । मीठा लागेका केही भनाइ मौनताको आवाज सबैभन्दा डरलाग्दो हुन्छ, प्रेमले मान्छेलाई बदल्छ । उसको परिचय पनि, तलब छैन, पेन्सन छैन । तैपनि यी परिआए ज्यान दिउँला भन्दै हिँडेका छन् । मान्छे त्यसै मर्न हिँड्दैन । यो मुलुकमा केही न केही समस्या छ , भोक नै हाम्रो दुःख हो, अभाव नै हाम्रो ज्ञानू, “आखिर यहाँ धर्मले राजनीति गर्न खोजेकै हो । राजनीतिले पनि आफ्नो इमानधर्म छाडेकै हो । इतिहासै हो, सरापेर हुँदैन । सिक्ने हो त्यसबाट ।” यस्ता भनाइले मलाई यो उपन्यास एकदम मन पर्यो । माओवादी विद्रोहको समयमा थाहा नपाएका पक्षहरू थाहा पाउन तथा लुकेका इतिहास बुझ्न चाहनेहरूका लागि यो उपन्यास पठनीय मान्न सकिन्छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

