जीवनी लेखन चुनौतीपूर्ण हुन्छ । त्यसकारण कठिन पनि हुन्छ । अझ त्यसमा पनि जुन व्यक्तिको जीवनकथा लेखिन लागेको हो, उसको समग्र जीवनका विविध पहल समेटेर के कति सन्दर्भ राख्ने र के कति सन्दर्भ नराख्ने, के कस्ता घटना समावेश गर्नैपर्ने र के कस्ता घटना राख्नै नहुने, के कति पक्ष समावेश गर्ने र के कति पक्षहरूलाई छाडिदिए पनि हुने, अनि कुन कस्ता घटना राख्दा अन्य कसैलाई कुनै तहबाट केही प्रभाव पारिहाल्छ कि भनेर समेत तमाम बहुरङ्गी आयामबारे घोत्लिनुपर्ने हुन्छ । यति सबै दिशातिर विचार पुर्‍याएर लेखिए पछिको जीवनी भने राम्रै गरी पढिन लायक बन्न सक्दछ ।

यही मेसोमा अहिले मेरा हात परेको छ एउटा रोचक जीवनी । पुस्तकको शीर्षक छ, ‘तम्घासका हाम्रा अजाअजी’ । यस समीक्ष्य पुस्तकको विशेषता के हो भने यो किताब उमेरको सिंढीमा दुई बीसको संघार पनि नटेकेकी एउटी जब्बर नातिनीले अत्यन्त संवेदनशील भएर आफ्ना हजुरबुबा र हजुरआमाको जीवनकथा उत्साहपूर्वक लेखेकी छन् ।

नेवारी अथवा नेपाल भाषामा हजुरबालाई ‘अजा’ र हजुरआमालाई ‘अजी’ भनिन्छ । हाल आफ्नो कर्मथलो र घरबार बुटवल भएकी नातिनी शैलजा श्रेष्ठले गुल्मी तम्घास बस्ने आफ्ना हजुरबा नरप्रसाद श्रेष्ठ र हजुरआमा शान्ता श्रेष्ठको जीवनकथा लेखेर पुस्तकको नाम नै ‘तम्घासका हाम्रा अजाअजी’ राखेकी छन् ।

यो पुस्तक एक संघर्षशील दम्पतीको प्रेरक कहानी हो जुन दम्पती गुल्मी जिल्लाको चारपाला गाउँबाट बसाइँ सरेर बेहतर जीवनको खोजीमा जिल्ला सदरमुकाम तम्घास आइपुग्छ र आफ्नो अथक परिश्रमले एकपछि अर्को गर्दै जीवनमा सफलता, सम्पन्नता, सेवा र सम्मानको प्रशंसनीय धरोहर स्थापित गर्न सफल हुन्छ ।

नरप्रसाद श्रेष्ठ एकजना सरल, सोझा, निष्कपट, निश्छल र इमानदार व्यक्ति हुन् । समय र अभावग्रस्त पारिवारिक परिस्थितिले गर्दा उनले अध्ययन वा सम्पूर्ण लेखापढीको अवसर पाएनन् । त्यसले गर्दा उनी अशिक्षित र अनपढ रहन पुगे तर उनी साक्षर भने हुनसके । आफ्नै निरक्षर आमाको जोडबलले गर्दा उनी चण्डी, लघुकौमुदी, केही वैदिक ऋचाहरू आदि धार्मिक पाठ गर्नसक्ने भएका थिए ।

जन्मेदेखि नै उनी एक जना साधारण गाउँले थिए । उनमा ‘मैले हुर्किसकेपछि यसरी समाजसेवा र राजनीति गर्छु’ भन्ने भावना थिएन । आफैले पनि ‘अरू धेरै जनाले रहर गर्ने गरी व्यापार–व्यवसाय गर्छु’ भन्ने सोचेका थिएनन् । उनमा यस्तो कुनै आन्तरिक चाहना थिएन । मनभित्र त्यस्तो कुनै हुटहुटी पनि थिएन । तर समय, काल र परिस्थितिले उनलाई (उनको इच्छा भए वा नभए पनि) राजनीति र सामाजिक कार्य मार्गमा धकेलिदियो ।

उनले पनि ‘ईश्वरको इच्छा यही छ भने म पछि हट्दिनँ, खुट्टा कमाउँदिन’ भन्दै जस र अपजस, गाली र ताली, प्रशंसा र आलोचना, अनादर र सम्मान, अपमान औ उपेक्षा र प्रशस्ति एवं आदरको ज्वारभाटा चलिरहने दुनियाँमा आफूलाई समाहित गरिदिए । वैचारिक ऊहापोहमा कहिल्यै नअलमलिएर उनी चरैवेती चरैवेती अगाडि बढ्दै गए । श्रीमती र परिवारबाट अनि साथीहरू र परिचित एवं शुभेच्छुकहरूबाट साथ–सहयोग पनि मिल्दै गयो । फलस्वरूप उनी तम्घासको नाम लिनासाथ कहिल्यै कसैले उपेक्षा गर्नै नसक्ने र गर्नै नमिल्ने एउटा अमिट नाम बन्नपुगे, तम्घासभन्दा केही किलोमिटर टाढा माथिल्लो भेगमा सगौरव उभिएर हाँसिरहेको सुन्दर रेसुङ्गा डाँडा जस्तो भएर ।

किताब लेखन कुञ्ज (घोस्ट राइटिङ नेपाल) को सहयोग, सम्पादन र प्रकाशनमा काठमाडौंबाट छापिएर जेठ २०८१ मा बाहिर आएको हो । मूल लेखकका रूपमा पुस्तक–नायक–नायिकाकी ठूली नातिनी शैलजा श्रेष्ठ छन् भने जम्मा २२४ पृष्ठ भए पनि लम्बाइ–चौडाइको हिसाबले तुलनात्मक तवरमा सानो आकारमा प्रकाशित यस किताबको मूल्य ६५० /रुपियाँ छ ।

लेखक शैलजाको उनले नै नेपालीमा लेखेको यो पहिलो किताब हो । खासमा उनले विद्यालयीय पढाइ अंग्रेजी बोर्डिङ स्कूलमा गरेकी हुन् भने स्नातक तहको पढाइ भारतको बेङलोरबाट र पछि मास्टर्स वा स्नातकोत्तर अर्को देश न्युजील्याण्डबाट पूरा गरिन् । यस मानेमा, किताबको लेखनलाई राम्रो, शुद्ध र पठनीय बनाउनुपर्ने सम्पूर्ण दायित्व सशुल्क सेवा प्रदायक संस्था लेखन कुञ्जमा रहेको प्रष्ट बुझिन्छ ।

किताबमा मूल कथ्यका साथै सम्पादकीय, लेखकीय, केही शुभचिन्तक र ठूली छोरी निर्मला श्रेष्ठसहित आठ जना नातिनातिनीले लेखेका सन्देशमूलक लामा–छोटा मन्तव्यहरू पनि छन् ।

हात लागेपछि सर्सर्ती किताब हेर्दै–पढ्दै जाँदा अनुभूत हुने तथ्य हो– भाषा सरल छ र सलल बग्छ । सबैतिर छोटाछोटा वाक्य छन् । गह्रुँगा महसुस हुने भारी साहित्यिक शब्दहरू लगभग छैनन् । तर अत्यधिक खड्किने के देखिन्छ भने सम्पादनको क्रममा लगभग हरेक अध्यायको शुरूमा संस्कृतका श्लोक राखिएका छन् ।

कतिपय ठाउँमा त ती श्लोक अनावश्यक पनि लाग्छन् (छन् नै) । त्यसमा पनि चल्तीका केही श्लोक एकाध ठाउँमा राख्दा त अन्यथा होवोइन तर संस्कृत आफैँले पनि नपढेकी लेखकलाई नै पनि यो बुझ्न कठिन छ । तसर्थ, संस्कृत पढेका दुईचार जनालाई त यो प्रयोग ठीकै लाग्नसक्छ तर आम रूपले सर्वसाधारण पाठकलाई संस्कृत श्लोकहरूको यो बहुतायत प्रयोग अत्यन्त बोझिल हुनपुगेको महसुस हुन्छ । संस्कृतको यस्तो धेरै प्रयोगले पठन–प्रवाहमा तगारो हालेको छ, अवरोध खडा गरेको छ । त्यसमा पनि, नरप्रसाद–शान्ता श्रेष्ठ जस्ता व्यक्तित्वबारे सविस्तार बताउन  अत्यधिक संस्कृत श्लोक बोकिराख्नु पर्दैन । उनीहरू जस्तै र उनीहरू जत्तिकै सरल, सुगम एवं सहजै बोधगम्य भाषा प्रस्तुत गर्नसके त्यही नै अत्युत्तम ठहर्छ ।

किताबमा सँगसँगै महसूस भइरहने अर्को तथ्य के हो भने लेखक शैलजाले लगभग समग्र किताब नै अतिशय भावुक भएर लेखेकी छन् । संवेदनशीलता आफ्नो ठाउँमा छ तापनि आफ्ना हजुरबा र हजुरआमाप्रति उनमा रहेको अतिशय भावुकता छचल्किरहेको फेला पर्छ । त्यहीकारण त उनी ठाउँठाउँमा “मलाई मेरा अजाप्रति गर्व छ”, “मेरा अजा महान् हुनुहुन्छ” आदि जस्ता सम्मानार्थी वाक्यहरू लेखिरहेकी हुन्छिन् (तर यस्ता वाक्यहरू अजीको सन्दर्भमा लगभग लेखिएकै छैनन्) ।

खासमा यो भावना त लेखक आफैँले भन्नुभन्दा पनि उनले लेखेको किताब पढेर पाठक त्यो निष्कर्षमा पुग्नुपर्ने र पाठक आफैले त्यसो भन्न पुग्नुपर्ने अवस्था हुनुपर्दछ । यति मात्र होइन, अजाअजीको यति लामो जीवनकथामा धेरै ठाउँमा समेत आवश्यक तिथिमितिहरू दिइएको छैन, यसले गर्दा ती ठाउँमा सत्यकथा पनि कुनै ‘एकादेशको कथा’ जस्तो हुन पुगेको छ (जस्तो– अजाअजीले तम्घासमा होटल खोल्नुभयो, डेढ दशक चलाउनुभयो, तर कहिले खोल्नुभयो ? कहिलेसम्म चलाउनुभयो ? मिति छैन । साथै, कपडा पसल र अलिपछि गएर हार्डवेयर पसल जसले एशियन पेन्ट्स, हुलास पाता, सिमेन्ट, किलाहरू बेच्थ्यो तर के कहिले भनेर मिति छैन । तम्घासमा खानेपानी धारा जोडेको सन्दर्भमा पनि मिति छैन । यस्तैयस्तै अन्यत्र धेरै ठाउँमा) ।

किताब र यसमा उल्लिखित अजाअजीबारे बुझ्न केही उपशीर्षकहरू पढ्दा पनि धेरै सहज हुन्छ । साथै, जिल्ला सदरमुकाम तम्घासबाट एघार किलोमिटर दक्षिणपूर्वमा रहेको चारपाला गाउँको उपल्लो हटियामा जन्मेका नरप्रसाद र गुल्मी–बुटवल आइजाई गर्दा बाटोमा पर्ने पाल्पा भैरवस्थानको कोटथोकमा जन्मेकी शान्ता अनि दुईबीच वि.सं.२०१९ साउनमा विवाह भएर शुरू भएको दाम्पत्य जीवनपछि विपन्नताबाट सम्पन्नता सम्मको समग्र कथा बुझ्न पनि उत्तिकै सहज हुन्छ ।

‘कलकत्तामा भौंतारिंदा, हन्डरपूर्ण संघर्ष, विवाह र सन्तान, व्यापार–व्यवसाय, नचाहेको जागीर, राजनीतिक यात्रा, जिल्ला पञ्चायत जितेपछि, तम्घासमा खानेपानी, तम्घासमा शिक्षा, अपजसको भारी, उजागर भएको सेवाको भावना, अजाको मठमन्दिरमा लगाव, दान र आर्थिक सहयोगको हिसाब, रोगहरूसँग लडाइँ, चौरासी पूजा, अजाले भेटेका राजाहरू, अजाको विचारमा राजा र पञ्चायती व्यवस्था, अहिलेको संविधान, बेलायतका यादहरू, तीर्थयात्रा संस्मरण’ आदि उपशीर्षकहरूले आफैंमा पनि मनग्गे कथा भनिरहेका छन् ।

सबैभन्दा अन्त्यमा रहेको तस्वीर खण्डसम्मको विषयक्रम हेर्दा जम्मा ३० वटा उपशीर्षक देखिन्छन् । किताबको नाम पनि ‘तम्घासका हाम्रा अजाअजी’ छ तर किताबभित्र अजीको बारेमा केवल दुइटा उपशीर्षक छन्– ‘अजीतर्फको कथा’ र ‘अजाअजीका पछिल्ला दिन’ ।

यसको अर्थ के हो भने शीर्षकमा ‘अजाअजी’ लेखेको भए पनि किताब मूलतः अजाको जीवनकहानीमा नै बढी केन्द्रित छ । यसो हुनु शायद स्वाभाविक पनि हो किनभने अजाले जीवनको धेरै भाग घरबाहिरको काम अर्थात् राजनीति, सामाजिक, धार्मिक एवं सांस्कृतिक कार्यहरूमा समर्पित भएर बिताए भने अजीको लगभग सम्पूर्ण जीवन घरभित्रकै कार्यहरू अर्थात् व्यापार–व्यवसायका साथै बालबच्चाहरूको सम्पूर्ण रेखदेख गर्दै बित्दै आयो ।

अजाअजीको सफल लामो जीवन पढ्दा एउटा रोचक तथ्य देखिन्छ– नरप्रसादले शान्ता श्रेष्ठसित विवाह गर्नु मानौं उनलाई डिभी लट्री पर्नु हो, मानौं भाग्योदय चिट्ठा पर्नु हो, मानौं भयङ्कर ठूलो बिङ्गो पर्नु हो, , मानौं सम्पूर्ण सफलताको बन्द ढोकाको साँचो हात पर्नु हो । किनभने विवाह हुनुअघि सम्म नरप्रसादले कलकत्ता गएर काम गर्न खोज्दा वा आफ्नै गाउँ चारपाला वा पछि गएर बुटवलमै बसेर व्यापार–व्यवसाय गर्न खोज्दा सबैतिर असफलता मात्र हात लागेको हुन्छ । उनी निराश पनि भएका हुन्छन् ।

तर विवाह भएको केही समयपछि नै नवदुलहीको विचारपूर्ण आग्रह स्वीकार गरेर तम्घास पुग्छन् र नयाँ कामको रूपमा होटल व्यवसाय खोल्छन् । त्यसपछि उनले कहिल्यै पछाडि फर्केर हेर्न पर्दैन, सफलता र सम्पन्नताको आलीशान द्वार खुल्दै जान्छ । शायद, हरेक पुरुषको सफलताका पछाडि महिलाको हात हुन्छ भनेको यही होला ।

भन्न सकिन्छ– जीवन सँगिनी अजी शान्ताको निरन्तर समर्पित प्रेम र संयमित एवं उत्साहपूर्ण साथ पाएर अजा नरप्रसाद श्रेष्ठले जस्तोसुकै पनि समयलाई जितेर पला पला बाँच्न सिकेका हुन् । आफूभित्रको आशावादितालाई निःसङ्कोच बलियो र अविचलित बनाउँदै लग्न सकेका हुन् । यही कारणले गर्दा नातिनीले लेखेको किताब पढ्ने पाठकलाई कथानकले रोमाञ्चित तुल्याइरहन्छ ।

किताबमा अजाले भनेको “काम गरेपछि कर्म बोल्ने रहेछ । … काम गर्ने अठोट मात्र गर्नुपर्छ, खाने मुखलाई जुँगाले छेक्दैन । …नडराउनु नबिराउनु, त्यसो भएपछि  काम गर्ने भनेपछि भाषा तगारो बन्दैन रहेछ” कुरा जस्तै लेखक शैलजाले उनका अजाले सानो उमेरदेखि नै डायरी लेखन जस्तो सानाठूला सबै घटना–प्रसङ्ग र हिसाबकिताब लेखेर राख्ने गरेकोमा राम्ररी सम्पादन गरीवरी “अजाको डायरी” प्रकाशन गर्नेतिर कम्मर कसे हुन्छ ।

‘तम्घासका हाम्रा अजाअजी’ किताबमा सम्पादनको पक्षबाट भएका देखिने थुप्रै कमी–कमजोरीहरू अनदेखा गर्न सकिंदैन । शुद्धाशुद्धिमा भएका त्रुटि एकातिर छन् भने अन्य कतिपय भूलहरूप्रति आँखा चिम्लिन मिल्दैन । अझ कतिपय ठाउँमा त अजाअजीले गर्ने सम्बोधन नै राखिएको छ जसले गर्दा को कसलाई भन्न खोजिएको हो भन्ने नै बुझ्न सकिंदैन ।

जस्तो– माहिला जेठाजुका छोरी मालती र छोरा अशोक पनि तम्घास सगोलमै बस्नुभयो । (पृ. ६४) । राजा बीरेन्द्रको वंश विनाशको नितान्त अधुरो सन्दर्भ छ, केवल त्यो घटनाबारे पहिलेदेखि जानेकाले मात्र थाहा पाउन सक्छन् ।

– ‘विदेशी विद्वान पर्सीवल ल्यान्ड’ …  पृ.१५६ । (हुनुपर्ने, पर्सीवल ल्यान्डन ।)

‘रिसरभियर’ … (पृ.८४)  (हुनुपर्ने, रिजरभ्वायर) ।

‘हरिवंशले लेखेको गीत जस्तै गर्नुभएछ । … “न मेरो रूपै छ, न जोवनको धुपै छ, खाली एउटा ज्यान छ, भन मान्छौ त मसँग, हो, यही वैशाखैमा, यही वैशाखैमा”’ पृ.४९ । (यथार्थमा यो गीत प्रकाश श्रेष्ठले नेपाली चलचित्र ‘लोभीपापी’का लागि लेखेका र साधना सरगमसित मिलेर गाएका हुन् ।)

‘अजीले आफ्नो मन पर्ने गीत कोमल मोक्तानको “खुट्टा तान्दै गर” गुनगुनाइ राख्नुहुन्थ्यो ।’ पृ.१७१ । (हुनुपर्ने कोमल होइन, कुन्ती मोक्तान ।)

यसैगरी पढ्दै जाँदा दिमाग कुँड्याउने केही दृष्टान्त वाक्य– ‘राजा महेन्द्रको पञ्चायतकालको बेला थियो ।’ पृ.६६ ।। ‘यो जीवनचक्रको लीला हो ।’ पृ ८४ ।। ‘अघिल्लो दिन हामी काठमाडौंस्थित घरबाट जहाज चढेर विराटनगर प्रस्थान गर्यौं ।’ पृ.१५९ ।।

‘साथै छोरीहरू, बुहारी, नातिनी र नातिनीका बुहारीहरूले आफूले सके र मिलेसम्म व्यवसाय र घरायसी जिम्मेवारीमा साथ दिँदै आउनुभएको छ ।’ पृ.१८९)

अझ अगाडि बढ्दा खासगरी प्रदीप पन्थीको लेख (पृ.१९४–१९६) सानो भए पनि हेर्दा यस्तो लाग्छ, मानौं त्यो चाहिं शुद्धाशुद्धि नहेरीकनै छापिएको हो ।

यसैगरी सम्पादनको तीव्र कमजोरी मान्न सकिए पनि लेखक शैलजाले अजाअजीको जीवन कहानी लेख्दा परिवारकै अनेक सदस्यहरूको नाम उल्लेख गर्नुपर्ने थियो तर त्यस्ता कतिपय जरूरी नामहरू उल्लेख छैनन् ।

किताबको अर्को नितान्त कमजोर पक्ष तस्वीर खण्डमा प्रष्टिन्छ जहाँ एक त छापिएका तस्वीरहरूका क्याम्सनमै धेरैमा शुद्धाशुद्धिको विचार गरिएको छैन भने किताबमा नआएका प्रसङ्ग र नामसमेतको तस्वीर छन् जसलाई आम पाठकले बुझ्दैन । यसै खण्डमा अजाअजीको परिवार अर्थात् दुई छोरा दुई छोरीसहित छजनाको सामूहिक तस्वीर, मिले र पाएसम्म अजाअजीको दुवैतर्फका ससुरालीमा उपलब्ध तस्वीर, र अजाअजीको छोराछोरी, ज्वाइँ, बुहारी अनि नातिनातिना र पनातिपनातिनाहरूसँगको पारिवारिक तस्वीर केही पनि छैनन् । जीवनकथाका लागि यी तस्वीर अत्यधिक महत्त्वपूर्ण हुन्छन् । किताबमा छापिएका धेरैजसो तस्वीर पनि रङ्गीन भए पनि अलि धेरै नै सानो आकारमा दिइएका छन् जसले गर्दा हत्पति चिन्न वा ठम्याउन कठिनतम हुन्छ ।

जे होस्, कतिपय कमी कमजोरी रहेको भए पनि नातिनी शैलजा श्रेष्ठले आफ्ना हजुरबा–हजुरआमाको जीवनकथा लेखेर उच्च प्रशंसनीय कार्य गरेकी छन्, , सम्मानकी पात्र पनि भएकी छन् भन्नेमा कुनै शङ्का छैन । उनको लगाव, समर्पण, निजी व्यस्तताबीच निकालेको समय, अजाअजी र अन्य धेरैजनासँग गर्नुपरेको अन्तर्वार्ता र इमानदार खटन अझ तारिफयोग्य छ ।

समग्रमा उनको लेखन पनि राम्रो छ, पठनीय छ र यही किताब लेखन मार्फत उनले यसै गरी अरू पनि नयाँ कृतिहरूको रचना गर्न सक्छिन् भन्ने पनि स्पष्ट थाहा हुन्छ । यही सिलसिला अर्थात् लेखनको यही टेम्पोलाई कायम राख्न सक्ने हो भने नेपाली साहित्यले शैलजा श्रेष्ठका रूपमा नयाँ सर्जक पाउनेमा कसैले सन्देह नगरे हुन्छ ।