प्राचीन कालमा गणित, चिकित्सा, दर्शन र राजनीति जस्ता विषयहरूमा भारत वर्षले कसरी महत्त्वपूर्ण योगदान दिएको थियो भन्ने कथाहरू मैले निकै सुन्ने गर्थें । संसारभरका मानिसहरू भारतीय विद्वान्हरूबाट सिक्न भारतवर्ष पनि गएका थिए । तर इमानदारीपूर्वक, मैले सोचेँ कि यी कथाहरू केवल मिथकहरू थिए । प्राचीन पूर्वीय ज्ञानको हाम्रो आधुनिक संसारसँग कुनै सम्बन्ध छ भन्ने मलाई लाग्दैन थियो ।
त्यसपछि लगभग एक वर्षअघि मैले एक बोस्टनकी मेरी प्यारी सखीसँग कुराकानी गरेँ जसले मेरो अवधारणा नै परिवर्तन गरिदिइन् । उनले भारत (शिलाङ) का एकजना प्रख्यात अनुसन्धाता अनि लेखक सलील ज्ञवालीद्वारा तयार पारिएको ‘ग्रेट माइन्ड्स अन् इन्डिया’ नामक पुस्तक अध्ययनका लागि सिफारिस गरिन् । जुन पुस्तक बीस वर्षको निरन्तर अनुसन्धानको प्राप्ति जसमा प्राचीन भारतीय विज्ञानका बारेमा विश्वभरका प्रसिद्ध विद्वान्हरूका विचारहरू समाविष्ट छन् ।
मैले पुस्तक पढ्ने निर्णय गरेँ र ‘ग्रेट माइन्ड्स अन् इन्डिया’ अमाजोनबाट अनलाइन अर्डर गरेँ । जब मैले यो पुस्तक प्राप्त गरें – आवरणमा प्रसिद्ध विद्वान्हरूको तस्बिर र अल्बर्ट आइन्स्टाइनको भनाइ उद्धरण भएको देखेँ, “हामी भारतीयहरूप्रति धेरै ऋणी छौं, जसले हामीलाई कसरी गणना गर्ने भनेर सिकाएका छन्, उनीहरूको ज्ञानबिना कुनै सार्थक वैज्ञानिक खोज हुन सक्दैन ।”
नोबेल पुरस्कार विजेता वैज्ञानिकको यस उद्धरणले मलाई चकित बनायो र मलाई झन् जिज्ञासु बनायो । मैले थप पढ्दा, भारतको ऐतिहासिक योगदानका बारेमा मेरो सन्देह पूर्ण रूपले समाप्त भयो । कवि र लेखक मात्र नभई वैज्ञानिकहरूले पनि पूर्वीय विज्ञान र कलाको प्रशंसा गरेका थिए भन्ने कुरा स्पष्ट भयो ।
प्राचीन पूर्वीय ज्ञान र विज्ञानको केन्द्र थियो । पाइथागोरस र अल–बिरुनी जस्ता दूरदर्शी विज्ञहरू, भौतिक विज्ञान, गणित, खगोल विज्ञान र प्राकृतिक विज्ञानका–ज्ञानका खोजीमा भारत आएका थिए । आर्यभट्ट, ब्रह्मगुप्त, महावीर र भास्करद्वितीय लगायत धेरै भारतीय गणितज्ञ र खगोलशास्त्रीहरू आफ्नो कामका लागि प्रसिद्ध भए । दुःखको कुरा के छ भने धेरै आधुनिक भारतीयहरूलाई यस समृद्ध वैज्ञानिक सम्पदाको बारेमा थाहा पटक्कै छैन र धेरै जसो भारतीय विज्ञहरूले पश्चिमी विचार र सिद्धान्तहरू मात्र रुचाउने गर्छन् ।
सलील ज्ञवालीको पुस्तकले हामीलाई पश्चिमी कवि, विद्वान् र वैज्ञानिकहरू भारतीय विज्ञान र कलाबाट अत्यन्तै लाभान्वित भएका थिए र यसलाई खुलेर प्रशंसा गरेका रहेछन् भन्ने कुरा सम्झाउँछ । नोबेल पुरस्कार विजेता टि. एस. इलियटले भने, “भारतका महान् दार्शनिकहरूले अधिकांश महान् युरोपेली दार्शनिकहरूलाई स्कुलका केटाहरू जस्तै बनाउँछन्।” प्रख्यात वैज्ञानिक जुलियस ओपेनहाइमरले पनि भनेका थिए, “आधुनिक भौतिक विज्ञानमा हामीले जे भेट्टाउनेछौँ त्यो एउटा उदाहरण, प्रोत्साहन र पुरानो भारतीय ज्ञानको परिष्करण हो ।”
‘ग्रेट माइन्ड्स अन् इन्डिया’ पुस्तक जानकारीमूलक मात्र होइन, यो हृदयको अन्तस्करणलाई नै छुने एक विशिष्ट कृति हो । विश्वभरका विद्वान्हरूका अभिव्यक्ति सङ्कलन गर्नु, तिनीहरूलाई पुस्तकमा राख्नु र अन्तर्दृष्टिपूर्ण टिप्पणी थप्नु कुनै सानो काम होइन । भारतवर्षप्रति सलील ज्ञवालीको प्रेम, आफ्नो कामप्रतिको समर्पण, गहिरो अनुसन्धान र कडा परिश्रम हरेक पृष्ठमा स्पष्ट देखिन्छ ।
यस पुस्तकले भारतवर्षका प्रत्येक मानिसलाई आफैँप्रति गर्व गर्ने बनाएको छ र गर्व गर्नुको कारण दिएको छ । यसले विश्वभरका मानिसहरूलाई पूर्वीय अतीतका उपलब्धि (ज्ञान–विज्ञान) बारे जानकारी गराएको छ र उनीहरूलाई वेदान्त दर्शन, भगवद्गीता र भारतवर्षको समग्र प्राचीन वाङ्मय सम्बन्धमा अन्वेषण गर्न प्रोत्साहित गरेको छ । यसको लोकप्रियता अङ्ग्रेजी, उर्दू, अरबी, जर्मनी, नेपाली, बङ्गाली र गुजराती लगायत तेह्रवटा भाषाहरूमा भएको अनुवादबाट स्पष्ट देखिन्छ ।
ज्ञवालीको पुस्तकबाट म यति सम्मोहित भएँ कि भर्खरै मैले नयाँ दिल्लीबाट न्यूयोर्क आएका मेरा साथीबाट यसको उर्दू संस्करण पनि मागेँ । उक्त विषयवस्तु उर्दूमा पढ्नु मेरो निम्ति एउटा झन् रमाइलो अनुभव थियो ।
उर्दू अनुवाद कुशलतापूर्वक हैदराबादका डा. सैयद हुसेनद्वारा गरिएको थियो, जसको सम्पादन पश्चिम बङ्गाल (हावडा) का अब्दुल खालिकद्वारा गरिएको छ । डा. एपीजे हावडा—पश्चिम बङ्गालको अब्दुल कलाम फाउन्डेसनले यस पुस्तकको प्रकाशन गर्ने जिम्मा लिएको थियो । यस खोजमूलक कृति ‘ग्रेट माइन्ड्स अन् इन्डिया’को यथोचित मूल्याङ्कन गर्दै सलील ज्ञवालीलाई गुवाहाटीको राजभवनमा असमका राज्यपालद्वारा प्रदान गरिएको प्रतिष्ठित डा. एपीजे अब्दुल कलाम राष्ट्र गौरव सम्मान पुरस्कार प्राप्त गरे ।
पश्चिम बङ्गालका पूर्व राज्यपाल केशरी नाथ त्रिपाठीले ‘ग्रेट माइन्ड्स अन् इन्डिया’ को प्रशंसा गर्दै भनेका छन्, “यस पुस्तकले भारतवर्षको असाधारण तथा समृद्ध सभ्यता र आधुनिक विज्ञान, गणित, भाषाविज्ञान, धातुविज्ञान, ब्रह्माण्डविज्ञान, अध्यात्मविज्ञान तथा अन्य वाङ्मय विकासको अद्भुत योगदानलाई देखाउँछ र यस अतुलनीय कृतिको निम्ति ज्ञवाली चिरकालसम्म प्रशंसाको पात्र रहने छन् ।” राज्यपाल त्रिपाठीले सन् २०१९ मा यस पुस्तकको बङ्गाली संस्करण सार्वजनिक गरेका थिए ।
जब ‘ग्रेट माइन्ड्स अन् इन्डिया’ पढेर अन्त्यमा पुगेँ मैले भविष्यको बारेमा आशावादी भएको महसुस गरेँ । मलाई विश्वास छ कि यस महत्त्वपूर्ण कृतिको भविष्यमा अरू थप भाषामा अनुवाद हुँदै जाने छ । मैले यस्तो अपेक्षा राखेकी छु किन भने यो अत्यन्तै महत्त्वपूर्ण विषयको सङ्ग्रह हो जुन सबैले पढेर आनन्दको साथ–साथै ज्ञानमय होउन् म यही चाहन्छु । प्रस्तुत कृति प्राचीन भारतवर्षको बहुआयामिक विरासतलाई समेट्ने एउटा उज्यालो प्रकाशपुञ्ज हो ।
अनुवादक अनिता पन्थी, काठमाडौँ
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।