जब एउटी स्त्री विवाह गरेर ससुराली घर जान्छिन् । त्यसबेला लोग्ने एवं छोरा अर्थात् यी दुवै सम्बन्धवाहक पुरुषलाई नियन्त्रण गर्न सासु र बुहारीमाझ सङ्घर्ष हुन्छ ।

उपन्यासकार इन्द्र सुन्दासको जम्मा चारवटा उपन्यास छन् । यीमध्ये मङ्गली उपन्यास एक हो । यो सन् १९५८ सालमा प्रकाशित भएको उपन्यास हो । यसमा दोस्रो विश्वयुद्धको प्रभावसँगै दार्जीलिङका तत्कालीन अवस्थाप्रति दृष्टिगोचर गराउँदै पितृसत्तात्मक समाज व्यवस्थाको प्रकोपमा झेलिएका पात्र-पात्राहरु चित्रित छन्। यही व्यवस्थामा लेखक हुर्केका हुनाले यो उपन्यासका पात्र- पात्राहरुमा उस्तै संस्कार भरिदिएको छ।

स्त्री अर्थात् छोरी मान्छेले परम्परादेखि झेल्दै आएको “छोरीको जन्म हारेको कर्म” स्त्री द्रोही उक्तिलाई देशकालकै आधारमा यस उपन्यासमा उपन्यासकारले प्रस्तुति दिएका छन् । आजको युगमा यो उक्ति छोरीमान्छेमा लागु हुँदैन तथापि कति रुढिग्रस्त मस्तिष्क भएका मानिसहरु यो उक्ति छोरीमान्छेकै निम्ति रुचाएका भेट्छौँ।

इन्द्र सुन्दास

“राजगाउँकी गोमती चियावाल्नी गाउँमा सबैभन्दा पहिलै उठ्छिन्। उनीलाई उछिनेर बिहान उठ्ने राजगाउँमा ता के सारा दार्जीलिङभित्र कोही थिएनन्, उनलाई यो बानी सानैदेखि बसेको थियो। भालेको पहिलो डाकमा उनी उठिहाल्थिन्।“ पृष्ठ१

युगौंदेखि स्त्रीहरू घरभित्र चुलाचौका गर्न जन्मेका भन्ने परम्परित धारणको प्रतिरुप गोमती। उपन्यासकारले उपन्यासको कथन नै चुलाचौकाबाट सुरु गरेका छन्। गोमती दार्जीलिङका मात्र होइन, विश्व स्त्रीका प्रतिनिधित्व भेटिन्छ। भालेकै डाकमा उठ्ने चलन लेखकको समयमा भए पनि वर्तमान समयमा स्त्रीहरु चुलाचौकाबाट छुटकारा पाउन सकेका छैनन् । पारिवारिक सुखको निम्ति पनि विश्व स्त्री घरको अन्य सदस्यभन्दा अगावै उठ्ने र चुलाचौका समाल्ने गर्छिन्।

वर्तमान समयमा एक निर्दोष अबोध शिशु कारञवंश नाला झोडातिर फ्याँक्ने अनैतिक कार्य यथावत पाउँछौँ । यस्तो अनैतिक कार्य गर्ने क्रममा दुवै स्त्री पुरुषको सहभागिता सुनिश्चित हुँदाहुँदै समाजले स्त्रीलाई दोषाउने गर्छ। यही डरले चन्द्रशीलाले एउटा शिशु जन्माई फ्याँकेकी थिइन् ।

यही प्रसङ्गमा जरवीर भन्छ, “हरे ! यो ता अवगालको गुढ हो। कसैले बतासे नानी पाएर त्यही फ्याँकेकी होला।“

गोमती र जयवीरको सन्तान नहुनाले यही फ्याँकिएकाे शिशुलाई मङ्गली नाम दिई आफ्नो छोरीको रुपमा स्वीकार गर्छन्। जब छोरीको शिक्षादिक्षाको क्रममा उही रुढिवादी नैतिकता छोरीको अघि बाधा बनाइराखिदिन्छ। छोरीमान्छे भन्नासाथ नष्ट- भ्रष्ट हुने र गनाउने पिरोल्ने अनैतिक विचारधाराले ग्रसित गोमती र त्यस समाजको मानिसहरु भन्नेगर्छ, “छोरीले पढेर के हुन्छ ? अर्काको घरको भित्ता टाल्ने जात । चुलाले छोड्ने हैनन्। छरछिमेकीसित पनि कुरा गर्दा छोरी नपढाउनु भन्छन्। पढेकाले ता गालपारा हुन्छन् अरे फेरि घरधन्धा पनि नगरी नहुने…।”पृष्ठ ३४

“छोरीलाई स्कूल पढाउने नचाहिँदाे स्वाङ…नाकमा गू लगाइदिँदा थाहा होला पछि।“ पृष्ठ ३४

लैङ्गिक विभेदको आधारमा समाज एवम् विश्वमा स्त्री पुरुषमा असमानताको पर्खाल खडा गरिएको छ। यही लैङ्गिक आधारमा छोरीमान्छेलाई घृणाको दृष्टिले हेरिन्छ । यस विषयलाई उपन्यासकारले घुमाउरो अर्थात् अवगाल पर्नदेखि तर्किएझैँ यसरी भन्छन्, “मङगली उनीहरुका निम्ति छोरी मात्र होइन छोरो पनि हो। ऊ भएको छ बाबुको दाहिने हात तथा आमाको जांगार, घरको जम्मै काम कुरा उनले सिकी- पानी भर्न -लुगा धुन भाँडा माझ्न घर-लिप्न घरको राखान-धरान गर्न, पकाउन-तुल्याउन इत्यादि।“ पृष्ठ ५४

अब यहाँ के देखिन्छ भने पितृसत्तात्मक समाज व्यवस्थामा बिहेपश्चात लोग्ने स्वास्नीमा कसैको मृत्यु हुँदा दुवैमध्ये स्त्रीलाई पोइखाने अपशब्द लगाई जीवनभर तिरस्कारको दृष्टिले हेरिन्छ। पुरुषको कुरा आउँदा भने स्वस्नी मरेकै हप्तादिनमा अर्को दुलही भित्र्याउने गरिन्छ।

यस दृष्टिमा उपन्यासकारले देवराज सरदारको स्वास्नी मरेको हप्तादिनमा एउटी दुलही भित्र्याएकाे दृष्य राखेका छन्। परन्तु उक्त दुलही विधुनी छिन् । एकतर्फ पुरुषको चरित्र अर्कोतर्फ विधुनी स्त्रीलाई पूर्ण विवाहको स्वतन्त्र दिएर उपन्यासकार आलोचकको तिक्त वचनदेखि पन्छिएझैँ देखिन्छ । फेरि उही स्त्रीको हीन चारित्रिक वर्णन गरी विषयवस्तुलाई अघि बढाउने टेको लिएको प्रतीत हुन्छ।

विश्व स्त्रीहरू पुरुषदेखि अवहेलित शोषित उत्पीडित भेटिन्छन् । कमै मात्रामा यस्ता पुरुषहरु होलान् जो स्त्रीदेखि पीडित होलान्। यस्ता पुरुषहरु हिनताबोधले ग्रसित भई कुमार्गतिर लम्किन पुगेको होलान् । यस उपन्यासमा कृष्णराज उस्तै पात्रको रुपमा हामी देख्छौँ, परन्तु सम्पूर्णतःमा होइन।

कृष्णराज आफू कुमार्गमा लाग्नुको कारण आस्नो सौतेनीआमाप्रति आक्षेप जनाउँदै भन्छ, “ मलाई त सानिमाको पीर थियो। मसित बोलचाल वा मीठो वचन गर्ने कोही थिएन। म एउटा तिरस्कृत अपराधी त थिइन ।मलाई पनि त हाँस- खेल गर्न, बोल्न घरमा स्वतन्त्र भएर बस्न, खानपीना गर्न मन पर्छ…तर यो साैभाग्य मलाई कहाँ ? “पृष्ठ ७०

पहिलो खण्डको अन्तिम तेह्रमा मङगलीको विवाह, दोस्रो खण्डको एकदेखि मङ्गलीको ससुराली घर सुरु भएको छ। यहीदेखि उसको दुःखावस्था पनि। उपन्यासकारले कृष्णराजलाई सौतेनी आमादेखि त्राही त्राही बनाई अवसादतिर धकेल्न लगाएको छ। अर्कोतिर उसको स्वास्नी मङ्गली सासुको अधिकार खोस्ने आशङ्कामा दिनरातको कचकच, मानसिक रुपमा तनाउ ग्रस्त बनाई कृष्णराजलाई समेत कुरा लगाई बुहारीको कुटपिट गरिन्छ।

आदि कवि भानुभक्तले “वधुशिक्षा” मा बुहारीको निम्ति जुन उपदेशात्मक कविता लेखेका थिए । जुन वर्तमान समयमा विरोधको केन्द्रमा छ। यसरी नै यस उपन्यासमा उपन्यासकारले रुढिग्रस्त विचारको पटुका बुहारीलाई कसाएको देखिन्छ। घर हुलिएको बुहारीलाई, ससुराली घरमा जति नै अमानवीय व्यवहार गरिए पनि सहनुपर्छ भन्ने विचार उपन्यासकारले यसरी राखेका छन्-“मङगलीको हृदयमा बज्रप्रहार भयो किन्तु बुहारी भएर सब सहन गर्नुपर्छ ।“ पृष्ठ ८४

“बुहारी भएर घर गरिखानु साह्रो छ। सासुससुरा नन्ददेवारहरुले मन नपर्दो कुरा गरे भने पनि सहनुपर्छ। सासु-ससुरालाई आमा-बाबु जस्तो सम्झेर सेवा गर्नु लोग्नेलाई कुनै कुरामा दुःख हुन नदिनु। आफ्नो जांगार र गुणले जितेर खानु। पहिलै दुःख सहनुसक्यो भने पछि सुख हुन्छ इत्यादि। “पृष्ठ ८७

कुनै परिवारभित्र एउटी स्त्री प्रभावशाली हुनुको अर्थ अर्को स्त्री दुर्बल हुनु हो। जब एउटी स्त्री विवाह गरेर ससुराली घर जान्छिन्। त्यसबेला लोग्ने एवं छोरा अर्थात् यो दुवै सम्बन्ध वाहक पुरुषलाई नियन्त्रण गर्न सासु र बुहारीमाझ सङ्घर्ष हुन्छ । अनि जसले अधिक नियन्त्रण गर्छ, ऊ नै त्यस घरमा प्रबलशाली हुन जान्छ । यस व्यवस्थामा दुई दयनीय स्त्रीलाई विरोधको भावले ग्रसित गराउँदै नकारात्मक धारणा निमार्ण गरिन्छ कि स्त्रीहरु स्त्री कै दुश्मन हुन्छ। परन्तु हामी समक्ष इतिहाम साक्षी छ जहाँ पुरुष पुरुष माझ घमासन युद्ध भएको, एक वा अनेक परिवारमा दाजु-भाइ, बा-छोरा काटमार भएको परन्तु यस स्थितिमा कहिले पनि पुरुषको दुस्मन पुरुष हुन्छ भनेको सुनिएको छैन । यसको सोजो कारण पुरुष प्रधान समाज व्यवस्था हो। जहाँ पुरुषलाई प्राथमिकता दिएको छ । उपन्यासकारले पितृसत्तात्मक समाज व्यवस्थाको यही नकारात्मक धारणलाई मङ्गली र उसको सासुद्वारा चरितार्थ गरिएको भेटिन्छ।

===

उपन्यासको दोस्रो खण्डको कृष्णराजको परिवर्तित चरित्रबाट मङ्गली दुखी छिन्। कति लोग्नेमान्छेको स्वभाव यस्तै हुन्छन् भन्ने कुरा कृष्णराजको स्वभावबाट प्रष्ट भएको छ। ऊ परस्त्रीदेखि मुग्ध भई एकदिन आफ्नो स्वास्नी मङ्गलीलाई भन्छ, ”मलाई त्यो केटी साह्रै मन पर्यो, त्यसलाई बिहा गर्छु।“पृष्ठ ११९

लोग्नेको दिनरातको कचकचमा मङ्गली घरमा बसिनसक्नु हुन्छ। आफ्नो लोग्ने परस्त्रीसँग आकृष्ट हुँदा वैवाहिक जीवन कस्तो होला !

कृष्णराज बिहानै आफ्नो स्वास्नीलाई रगतपच्छे बनाई चुल्ठोमा समातेर बाहिर घिसारेको देखी चित्त नबुझेर घरको एक बुढी नोकर्नी भन्छे, ”हन, यस केटीलाई मार्ने मन छ कि कसो हो, त्यस्तो रगतपच्छे हुउन्जेल कुटाइ खाई, अझ यसरी थुन्नु।“ पृष्ठ१२२

यस घटनाबाट हामी बुझ्नसक्छौँ, परस्त्रीको मोहमा परेर आफ्नो स्वास्नी कुटपिट गर्ने कृष्णराजले दुर्बल पुरुषको प्रतिनिधित्व गरेको छ।

यस्तो घटना हाम्रै अघिपछि पाइन्छ। यसको विरोधमा अघि सरेर ससुराली घर छोडेर एक्लो बस्ने आँट हुनुपर्दछ । जुन घरमा सुख छैन, शान्ति छैन, औ अन्याय, अत्याचार व्याप्त छ। त्यस घरमा भोग्यवस्तु भएर बस्नु दुर्बलता हो । मङ्गलीले ससुराली घर छाडी एक्लो बस्ने साहस बटुलिन्। माइत घरमा आई उही बन्द चियादोकान पूर्ण खोलेर आफ्नो जीवन निर्वाह गर्न लागिन् । परन्तु मङ्गलीलाई साहसी स्त्री बन्न नदई उपन्यासकारले परजीवी एवम् आशे बनाएको छ। लोग्नेको घर छोडेर एक्लो बसेकी मङ्गली लोग्ने उसलाई लिन आउँछ कि भनेर बाटो कुरिरहन्छे।

“जति गाडीहरु सहरबाट फर्किन्छन् , मङ्गली एक दीठ लाएर हेरिरहन्छे, काम-धन्धा छोडेर बाहिर घरिघरि निस्कन्छे। त्यो हरियो रङको मोटरगाडी झमक्क परेर पनि फर्केन उसले निराश भएर राती ढोका थुनी ।“ पृष्ठ १४१

===

उपन्यासको तृतीय खण्डमा दोस्रो विश्व युद्धको प्रभाव भेटिन्छ। युद्धको कारण बर्माबाट लखेटिएका मानिसहरु आ-आफ्नो देशतिर लाग्दा भारतीय नेपालीहरु पनि भटाभट भारत फर्कन्छ। यही फर्कने क्रममा मङ्गलीको आमा र बाजेसँग उसको भेट हुन्छ। यो भेट अपत्यारिलो देखिन्छ । परन्तु अविवाहिता स्त्री चन्द्रशिलासँग घटित घटना अवास्तविक होइन । अविवाहिता स्त्री गर्भवती बनेपश्चात ऊ समाजदेखि लुकेर हिँड्न पर्ने अवस्था औ समाजको अपवादले त्राही त्राही भई आफ्नो अबोध शिशु जन्मनासाथ परित्याग गरिने दृष्य भने टड्कारो छ। अर्कोतिर दोस्रो विश्व युद्धको चेपारोमा दार्जीलिङमा टाइफाइड रोग फैलिएको छ । यस कै चपेटमा परेर मङ्गली र उसको आमा बितेकी छिन्। मङ्गलीको घर उसको बाजेले नारी मङगल केन्द्रमा परिणत गरिदिन्छ। जसको उद्देश्य नारीको मङ्गल होस्, कल्यण होस्, जागृत होस्, भन्ने देखिन्छ। यसरी उपन्यासमा मङ्गलीको बाजेको अन्तिम उद्देश्य बाहेक सम्पूर्ण घटना पितृसत्ताकै परिधिभित्र समाप्त भएको छ ।