अस्ति असार २२ गते धरानमा कलरव धरानले एउटा भव्य कार्यक्रमको आयोजना गरेको थियो । नाम दिएको थियो ‘धरान साहित्य उत्सव’ । यो ‘मेसिनको सहर हो’ कविता सङ्ग्रह त्यही कार्यक्रममा हात लागेको थियो । कवि पराजित पोमुले सप्रेम उपहार दिनुभएको थियो मलाई ।
धरान साहित्य उत्सवको पाँचौं चरणको कार्यक्रम ‘समकालीन कविता विमर्श’को थियो । सहजकर्ता थिए कवि पराजित पोमु । सवालका जवाफ दिएर बसेका थिए डा. तुलसी गौतम । सो कार्यक्रममा कविताका थुप्रै कुराहरू उठे । यता हलबाहिर कवि मनि राई गोठालेका कवितामाथिका गहन विचार सुनेपश्चात् तुलसी गौतमलाई सुन्न बसेको मैले केही कुरा खट्केको महसुस गरेँ । तुलसी गौतमले तेस्रो आयाम, उत्तरवर्ती सोच, सृजनशील अराजकतादेखि कुकुर कवितासम्मको नाम लिए । कुकुर कविताको नाम लिँदा मान्छे गललल हाँसेता पनि त्यो थियो त आन्दोलनको नाम ।
आज विदेशिएकाहरूले त्यस्ता कुनै चर्चायोग्य आन्दोलन गर्न सकेका रहेनछन् । मलाई यो मेसिनको सहर हो पढेर दुई शब्द लेख्ने जाँगर चलिहाल्यो ।
‘अरपे साहित्य’ एक आन्दोलनको नाम हुनसक्थ्यो ।
‘मलेसियामा नेपाली साहित्य’ पुस्तकमा लेखक देवेन्द्र सुर्केलीले अरपे साहित्यलाई मलेसियामा प्रतिपादित नयाँ विधाहरूमध्ये एक भनेर उल्लेख गरेका छन् । शायद प्रथम पल्ट अरपे साहित्य शब्दले पुस्तकमा प्रवेश पाएको थियो । तर के त्यो एक विधा थियो त ? परदेशी साहित्य, प्रवासी साहित्य, डायस्पोरिक/डायस्पोरा साहित्य भनिएजस्तै अरपे साहित्य एक हो ।
अरपे साहित्यको चर्चा गर्ने शायद आजको मितिमा कथाकार जीवन देवान गाउँले एक्ला सर्जक हुन् । गुगल सर्चमा पनि उनी मात्र आउँछन् । विदेशमा हुँदा अरपे साहित्यको नाम लिने सर्जकहरू स्वदेश फर्केपश्चात् चुपचाप छन् । यस तथ्यले सर्जकहरूमा सङ्गठनात्मक कलाको अभाव दर्शाउँदछ, या त तिनमा उत्साहको अवसान ।
अरब शब्दबाट अपभ्रंश भएको शब्द नै अरपे हो । यो गाउँले लबज हो । आज पनि गाउँघरमा विदेशिएकाहरूलाई अरपे नै भन्ने चलन छ । अरपे शब्दले युरोप अमेरिकामा बसेर लेखिएका साहित्यलाई समेट्दैन । यसले निश्चित अवधिसम्म काम गरेर परिवारकहाँ फर्कने सर्जकहरूलाई मात्र समेट्दछ । त्यसकारण मलेसिया र मध्यपूर्व (खाडी) मा कार्यरत सर्जकहरू अरपे हुन् । आजको दिनमा साउथ कोरियामा कार्यरत सर्जकहरूलाई पनि समेट्न सकिने आधारहरू छन् । त्यसो भन्दा त्यहाँ कार्यरत सर्जकहरूले हीनताबोध महसुस गर्लान् भन्ने पिर पनि छ । उहाँहरूलाई सुदूर गाउँघर (विशेषगरी पूर्वी) मा आफ्नो आधारभूत पहिचान के हो खोजी गर्न सुझाव दिन्छु ।
र, अरपे साहित्यलाई कुनै नयाँ विधा भन्दा पनि एक आन्दोलनको रूपमा लिन सकिन्छ । विदेशिएका युवाले आफूले लेखेका भोगेका कुरा विदेशकै पृष्ठभूमिमा उभिएर लेख्न जरुरी छ– सधैँभरि नभए पनि केही हदसम्म, कमसेकम एक दुई पटक । प्रथम र दोस्रो विश्वयुद्ध लडेका हाम्रा पुर्खाका लाहुरे कथाकहानीहरू कसले पढ्न पाएको छ ? काङमाङ नरेश राईकृत पानी पतियाजस्तो कृतिले समेट्न सकेको छैन ती कुरा । आज विदेशिएका युवाका दर्दनाक कथाहरू पनि नामेट भएर जानेछन् एकदिन यदि यसमाथि समयमै विचार गरिएन भने ।
अहिलेको वैदेशिक रोजगार दासप्रथाको आधुनिक रूप हो भनेर कतै सुन्नुभएको छ भने त्यो सत्य हो । विदेशिएका अधिकांश दाजुभाइ दिदीबहिनीहरू बहुराष्ट्रिय कम्पनीहरूमा एक दासको रूपमा कार्यरत छन् । आधुनिक दास यस अर्थमा कि यिनलाई बोल्ने, संघसंस्था खोल्ने, आफ्नो कामसम्बन्धी असन्तुष्टि पोख्ने कुनै अधिकार छैन । काम गर तलब थाप, नत्र फर्केर जाऊ, नत्र सजाय भोग । एक जनावरको भन्दा पनि तल्लो स्तरको व्यवहार विदेशिएका नेपालीहरूमाथि गरिन्छ । उनीहरू आफ्नो भविष्य र परिवारका अनुहार सम्झेर चुपचाप काम गर्न विवश छन् ।
त्यसकारण विदेशिएका युवाहरूसँग अनेक अलिखित कथाहरू छन्, अनुभूतिहरू हुन्छन् ।
विदेशिएकाहरूले विदेशकै पृष्ठभूमिमा रहेर कलम चलाए त्यो अरपे साहित्य हुन्छ । र, अरपे साहित्य आन्दोलन बन्दछ । अरपे साहित्य हीनताबोधको लागि हैन, आत्मसम्मानको लागि लेखिनुपर्छ । विदेशिएका असी लाख नेपाली दाजुभाइ दिदीबहिनीहरूद्वारा सिर्जित रचनाहरूलाई पनि आजको समालोचनाले समेट्न आवश्यक छ ।
०० ०० ०० ००
यो मेसिनको सहर हो
कवि पराजित पोमुद्वारा सम्पादित कविताकृति यो मेसिनको सहर हो एक मात्र यस्तो कृति हो जसमा नेपाली र कोरियन भाषा गरी दुई भाषामा ३५ कविका कविता पढ्न सकिन्छ । आजसम्म कहीँ पनि यस्ता कृति आएका छैनन् । यो एक पृथक् कार्य हो । जहाँ गए पनि त्यहाँका स्थानीय सर्जकहरूसँग सहकार्य गर्नु ठूलो कुरा हो । त्यसो गर्न नसके पनि आफ्ना कुरा उनीहरूकै भाषामा सम्झाउन खोज्नु महत्त्वपूर्ण कर्म हो । यो मेसिनको सहर हो पढ्नमा रहरलाग्दो छ । प्रकाशकीयमा भनिएअनुसार यस कृतिमा समेटिएका कविहरूमध्ये अनिल किराँतीबाहेक सबै कवि दक्षिण कोरियामा कार्यरत थिए र छन् । यस कृतिको अझ रोचक पक्ष भनेको चाहिँ यसमा एक कोरियाली लेखकले नेपालीले जसरी नै र बडो रोचक ढङ्गले समीक्षात्मक भूमिका लेखेका छन् ।
यो मेसिनको सहर हो सँगालोका कविताहरू अरपे साहित्यका प्रतिनिधि कविता हुन् भन्ने तर्क म यहाँ सार्दछु ।
अरपे साहित्य लेखनको पहिलो शर्त हो इमानदारी । इमानदार नभई लेखकले विदेशको वास्तविकता प्रस्तुत गर्न सक्दैन । कवि निर्गराज राई आफ्नो बारेमा आफ्ना मालिकलाई सम्बोधन गरेर लेख्छन् :
“उहिले मेरी आमाले कालो हाँडीमा भुटेको मकै
र, अहिले हजुरको मेसिनले भुटेको मेरो मगज
उस्तै छ साजाङनीम (मालिक)
भन्नू–
कुन लयमा गाउँ अब खै
जीवनको एउटा वसन्त गीत ?
कुन रङ्गले रङ्गिऊँ खै रङ्ग हराएको
रङ्गहीन म एउटा मानिस ?
म त अनेकौँ
रहर र चाहनाहरूको विरुद्ध
अभावको बतासहरूले
बत्तिँदै बत्तिँदै
बाध्यताको छालहरूले
छचल्किँदै छलल्किँदै
हजुरसम्म आएको मान्छे
म त
गोधुली क्षितिजको डिलमा
टुक्रुक्क बसेको एक युगल
ईश्वरलाई छोडी हिँडेको मान्छे
म त साजाङ्नीम … ।”
– निर्गराज राई, महायन्त्रको विलाप, पृष्ठ ८८ ।
विदेशमा सबै भन्दा ठूलो समस्या भनेको मानसिक यातना हो । उक्त कवितामा कविले त्यहाँ काम गर्दाको आफ्नो ‘मगज’को अवस्था आमाले कालो हाँडीमा कमै भुटेकोसँग दाँजेका छन् । मानसिक यातनाको अर्को उदाहरण :
“तिम्रो अनुहारमा खुसी खोज्न
हरदिन हररात आफू घोटिनु
घोट्दाघोट्दा ज्यान थाकेर
कम्मरमा हात राखेर एकैछिन उभिनु
ठ्याक्कै त्यही बेला तिमी आउनु र देख्नु …।”
– राजकुमार राई, असफल प्रयास, पृष्ठ १०० ।
हरेक कामदार आफ्नो मालिक आफ्नो कामबाट खुशी भएको देख्न चाहन्छन् । त्यसको लागि एउटा कामदार हदै पार गर्न तैयार हुन्छ । शायद यही नै असल कामदारको पहिचान पनि हो । तर पनि ऊ :
“अस्तित्व छैन मेरो यहाँ मुना !
तिम्रो यो ‘मदन’को
आधुनिक यो भोटमा
स्वाभिमान छैन
अभिमान छैन
र छैन कुनै अस्तित्व … ।”
– सञ्जय काउछा, मदनको गन्थन, पृष्ठ ११४ ।
तर पनि ऊ सधैँ सधैँ आफ्नो आत्मसम्मान हराएको महसुस गरिरहन्छ । ऊ आफूलाई आधुनिक दासको रूपमा महसुस गरिरहन्छ । विदेशमा कामको ‘रिस्पेक्ट’ हुन्छ भन्नु एक ‘मिथ’ मात्र हो । त्यसो त कामदारको अवस्था त्यहाँको सुपरभाइजर र म्यानेजरको हातमा पनि निर्भर गर्दछ । तर मेसिनको सहरमा कसको मुटु हुन्छ ?
“यो मेसिनको सहर हो साथी,
यहाँ ममता छर्केर हाँस्दैनन् बेली, चमेली र मखमलीहरू
गाउँदैनन् चराहरूले शान्तिको गीत
यहाँ त मेसिनको कर्कश आवाजसँगै
ब्युँझन्छन् मानिसहरू … ।”
– सरोज सर्वहारा, मेसिन, पृष्ठ १३५
विदेशमा लेखिएका कविता स्वदेशीलाई छुने (रिलेटेबल) नहुन पनि सक्छ । यो एक जोखिम हो एक कविका लागि, लेखकका लागि । नेपाली साहित्यमा प्रतिसमालोचनाको चर्चा चलिरहेको अवस्थामा मेरा आफ्ना कविता पनि पाठकहरूले नबुझेको पाएको छु । युद्धग्रस्त मुलुकको छिमेकमा बसेर आतङ्कवादको विरुद्धमा लेख्दा नछोएको पाएको छु । मृत्युको खेल नजिकबाट हेर्न त कि इजरायलमा बसेको हुनुपर्छ, कि त जनयुद्ध भोगेको हुनुपर्छ । मेसिनको कर्कश आवाजसँगै ब्युँझनेहरूको अनुभूतिले नछुन पनि सक्छ स्वदेशीलाई । एउटा साँघुरो कोठामा तीन तलाको ट्रेन्चबाट शुरू गरेको अरपे जीवन स्वदेशीले कहाँ भोगेको हुन्छ ?
“एउटा साँघुरो कोठा
तीन तला बेड भएका दुई ट्रेन्च
ढोकानिरको ट्रेन्चको भुइँतलामा म
सिरानीको दाहिनेतिर प्लग्ड गरिएको मोबाइल चार्जर
त्यसैको फेदमा थुप्रिएको मोबाइल फोन
अनि नजिकै गुज्मुजिएको इयरफोन
देब्रेपट्टि बेपर्वाह छरिएका केही थान किताब
जसमा खोजेर भेट्न चाहन्थेँ
जिन्दगीको सुखद गन्तव्य भेट्ने छुमन्तर जादु
तर ती किताबका कहानीभन्दा गह्रुङ्गो सत्यताले किचिएर
म
किताबका भाषा नै नबुझ्ने भैसकेछु … ।”
– दिलिप बान्ताबा, म, पृष्ठ १६९
अरू अरपे साहित्य पढ्न आतुर छु । अरू धेरै अरपे साहित्य लेखियोस् । किनभने प्रवासीका हर पीडाहरूमा देशको अर्थशास्त्र दुःखेको हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।