‘मावलीको यात्रा’ डा. कविताराम श्रेष्ठले सिर्जना गरेको बालउपन्यास हो । साझा प्रकाशनले प्रथम संस्करणका रूपमा २०५९ सालमा पुस्तकलाई बजारमा ल्याएको रहेछ । २०७३ सालमा पुनः तेस्रो संस्करण पनि भएको रहेछ । अहिले मेरो हातमा तेस्रो संस्करणका रूपमा परेको हो ।
पुस्तक समापनको अन्त्यमा लेखकले २०५४ आश्विनको २२, २३, २६ पीपलडाँडा, ३० गते धरान र कार्तिक ३ र ४ गते काठमाडौँमा लेखिसकेको कुरा व्यक्त गर्नुभएको छ त्यसैले पनि पुस्तकको आयु झन्डै ३० वर्षको भएको कुरा हिसाबकिताबबाट पत्ता लगाउन कुनै द्विविधा रहेन । बालउपन्यास जम्मा ९२ पानामा संरचित छ ।
उपन्यासले काठमाडौँदेखि पूर्वी पहाडको पीपलडाँडा (खोटाङ) सम्मको परिवेशलाई समेट्ने प्रयास गरेको छ । झन्डै २५-३० वर्ष पहिले अहिलेजस्तो सूचना र सञ्चारको विकास भई नसकेको अवस्थामा दुई दिदीभाइ मुना र ईशानले गरेको साहसिक यात्रा उपन्यासको विषयवस्तु रहेको छ ।
काठमाडौँमा नै अध्ययन गर्ने यी दुई पात्र मुना उमेरले १३ वर्षकी कक्षा ९ मा र भाइ ईशान उमेरले १० वर्ष कक्षा ४ मा अध्ययन गर्छन् । खोटाङको पीपलडाँडा यिनीहरूको मामाघर हो । लामीडाँडासम्म हवाइजहाजको यात्रा, त्यसपछि पीपलडाँडासम्मको पैदल यात्रा गरेका छन् । त्यो यात्रा निकै रोमाञ्चक, साहसिक अनि कौतूहलले भरिएको छ ।
सूचना सम्प्रेषण गलत भएपछि तिनीहरू एक्लै यात्रा गर्न विवश हुन्छन् ।
उपन्यासमा गाउँको सामाजिक परिवेशलाई दुरुस्तै शब्दमा कैद गरिएको देखिन्छ । सो कुरा लेखकले पुस्तक लेखनको अन्त्यमा तिथिमिति र स्थानको चर्चा गरेसँगै लेखक स्वयम् ती ठाउँहरूसँग तालुक राख्छन् कि भन्ने पनि देखिन्छ ।
यात्राका क्रममा भेटिएका यात्रु बा र भरियाको सहाराले मुना र ईशानको पैदल यात्रा सुरु हुन्छ ।
यातायातको असुविधाले गाउँले समाज कति दुःख, कष्टप्रद जीवनयापन गुजार्थे भन्ने कुराको छनक भरिया दाइको भारी बोकाइले कहेको छ । भरिया दाइले गाउँले समाजको मिठो वर्णन लोक गीतकै पारामा गरेका छन् ।
दसैँको समय खेतमा धान सुनौँला देखिएका ती एकनासले सुसाइरहेका, चारैतिर हरियाली ग्रामीण पर्यावरणको वर्णनमा उपन्यासकार कत्ति पनि चुकेका छैनन् ।
बिचमा रावाको खोलासँग, कुकुर, भूतप्रेतसँग जोडिएका लोक कथाले उपन्यास रोचक बनेको छ नै ।
वनको बाघले खाओस् कि नखाओस् मनको बाघले खाओस् उखान ठ्याक्कै चरितार्थ हुन्छ । अन्धविश्वासले समाजलाई मज्जासँग गाँजेको छ ।
सपना किन देखिन्छ ? देखेको, सुनेको र पढेको कुरामा विश्वास गरेपछि त्यो अवचेतन मनमा बसेपछि सपना देखिन्छ वा चेतन मनमा पूरा हुन नसकेका कुरा सपनाद्वारा पूरा गर्न सपना देखिन्छ ।
मानसिक र शारीरिक रूपले स्वस्थ शरीरमा डर अवचेतन मनमा दबेर बस्ने, जब जब मानिस दुवै रूपमा कमजोर हुँदै जान्छ, तब तब डर पैदा हुने । त्यो पनि जसलाई जे कुरामा डर लाग्छ ।
मस्तिष्कको एक अङ्ग ‘थलामस’ जसले प्राणीहरूको शरीरको तापक्रम सन्तुलन राख्न मद्दत गर्दछ ।
निद्रा किन आवश्यक छ, उपन्यासकार कै शब्दमा, “जीवित भएकाले जीवन राख्न यसलाई बिसाउनै पर्ने हुन्छ । थकित अङ्गलाई आराम दिन, त्यो आराम निद्राबाट पूरा हुन्छ ।”
हवाई जहाजमा यात्रा गर्दा एक्कासि जहाज तलमाथि झर्दा किन कान दुख्ने रहेछ । किन चकलेट खान दिइने रहेछ जस्ता विज्ञानसम्मत रोचक कुराहरू पनि उपन्यासका विषयवस्तु बन्न पुगेका छन् ।
राई वंशावलीमा लेखिएको लोक कथाअनुसार कुकुर र मान्छेको सम्बन्धको लोक कथा । त्यसका भाइ ईशानले गरेको प्रश्न, दिदी मुनाले डार्विनको विकासवादसँग जोडेर दिएको उत्तर आम विद्यार्थीहरूका लागि राम्रो पठनीय सामग्री बन्न सक्छन् ।
जनमानसमा चलिआएका भूतप्रेतका कथा र त्यसबाट बाल मनोविज्ञानमा परेको प्रभाव पनि उत्तिकै जीवन्त लाग्छन् ।
त्यो उमेरमा सुनेका त्यस्ता कथाले आफूलाई त्यस्तै पारेकोले पनि होला जीवन्त लागेको । यही विषयमा भाइ ईशानलाई दिदी मुनाले दिएको उत्तर पनि उत्तिकै रोचक लाग्छ नै ।
रक्सीसँग जोडिएको काल (मृत्यु) को लोक कथा पनि उत्तिकै रमाइलो छ नै । ईशानले रक्सी खाएपछि मान्छे किन मात्दछ भन्ने जस्ता जाँड र रक्सीसँग जोडिएका थुप्रै प्रश्नहरूको उत्तरमा शिक्षक हिक्मत राईले दिएका उत्तरहरू पनि उत्तिकै रोचक लाग्ने । समाजलाई मादक पदार्थले कसरी तहसनहस बनाएको छ भन्ने कुराको सङ्केत पनि दिने प्रयास लेखकको गरेका छन् ।
र अन्त्यमा
बालउपन्यासमा लेखकले समाजमा परापूर्व कालदेखि चलिआएका लोककथाहरू टन्नै राखेका छन् । ती लोककथाको आफ्नै महत्त्व रहेको कुरा पनि बताएका छन् । साथै परिवर्तित समयमा विज्ञानले गरेको उन्नति र प्रगतिको कसीका ती लोककथालाई तौलेका पनि छन् । तौलाइका क्रममा लेखनको तर्क, विचार, विज्ञानसम्मत अध्ययन साँच्चिकै प्रशंसनीय लाग्छन् । यी विचार र तर्क प्रवाह मुना भन्ने पात्रबाट भएको छ । कताकता ती १३ वर्षे बालिकालाई लेखकले अलिक ठुलै विचार र तर्कको भारी बोकाएको अनुभूति पनि हुने । उमेरले १० वर्षे भाइ ईशान कक्षा ४ मा पढ्ने अनि १३ वर्षे दिदी मुना कक्षा ९ मा पढ्ने, उमेरको तालमेलमा लेखन कतै चुकेकै हुन् पनि लाग्ने । बालउपन्यास भन्दै गर्दा अक्षर÷फन्ट सारै साना रहेका छन् । प्रकाशकीय दृष्टिले यो कमजोरी नै हो ।
खैर ! मिडल (कक्षा ६ –८) स्कुलका विद्यार्थीहरूका लागि यो उत्कृष्ट सामग्री चाहिँ पक्का हो नै ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।