पीडाबाट मुक्ति नै आनन्द हो । अक्षय आनन्द प्राप्त हुनु परमानन्द हो । आनन्द प्राप्ति मानिसको अन्तिम लक्ष्य हो । मानिस चाहे धर्ममा लागोस् वा राजनीतिमा, कुनै पेशामा लागोस् वा कला, साहित्य र संगीतमा, चाहे सुतोस्, उठोस् या अन्य क्रियाकलापमा संलग्न होस्, त्यसको ध्येय आनन्द नै हो । पद, पैसा र प्रतिष्ठा आर्जनको ध्येय पनि आनन्द नै हो ।

भौतिक वस्तुहरुको संग्रह र उपभोग पनि आनन्दकै लागि गरिन्छ । शरीरलाई आवश्यक पर्ने खाना र सन्तानोत्पत्ति गर्ने यौनिक क्रियाकलाप पनि उपयोगिताभन्दा आनन्द केन्द्रित रहेको पाइन्छ । जबकि यस्ता आनन्दमा तृप्ति अति अल्पकालीन हुन्छ । त्यसैले सामान्य मानिसहरूको जीवन सामान्य भौतिक भोग गरी  क्षणिक आनन्द प्राप्त गर्ने जिजीविषामा बितिरहेको हुन्छ । तर पूर्ण तृप्तिबाट उनीहरू कोसौं पर हुन्छन् । साधु, योगी र सन्यासीहरु पनि आनन्दकै खोजीमा भौंतारिइरहेका हुन्छन् । तर उनीहरूको आनन्द प्राप्ति हेतु क्षणिक आनन्द नभै अक्षय आनन्द यानि परमानन्द हुन्छ । त्यसपछि कुनै आनन्द बाँकी रहँदैन ।

सागर पराजुलीको पुस्तक “पीडादेखि परमानन्दसम्म” (Agony to Ecstasy) अंग्रेजी भाषामा योग-साधनासँग सम्बन्धित एक आध्यात्मिक पुस्तक हो । लेखकले आफैले पनि शारीरिक र मानसिक पीडा भोगेर उपचारको खोजीमा आधुनिक चिकित्सा पद्धति हुँदै प्राचीन वैदिक योग-साधना समेतको अनुभव हासिल गरी निकालिएको निष्कर्ष हो, यो पुस्तक ।

योग आफैमा विज्ञान हो र अध्यात्म पूर्ण विकसित विज्ञान हो । हुन त भौतिकवादीहरूले यसलाई विज्ञान नमान्लान्, तर यो उनीहरूको समस्या हो । अनुभवी विद्वानहरू भन्छन्, ‘जहाँ पुगेर भौतिक विज्ञान रोकिन्छ, त्यहाँबाट अध्यात्म विज्ञान शुरू हुन्छ ।’

अहिले आध्यात्मिक साधक र अध्येताहरूले आध्यात्मिक ज्ञान हासिल गरेर मात्र पुग्दैन, आध्यात्मिक विचार र तथ्यहरूलाई पुष्टि गर्न आधुनिक भौतिक अध्येताहरूका खोजमूलक अध्ययन प्रतिवेदन र पुस्तकहरू पनि पढेर ज्ञानार्जन गर्नु जरुरी छ । अहिलेका भौतिक र भोगवादी दर्शनबाट प्रभावित पुस्ताले अध्यात्ममा विज्ञान खोजिरहेका हुन्छन् भने भौतिक विज्ञानको अध्येताले भौतिक अपूर्णताका कारणले दर्शनतिर पनि ध्यान दिन बाध्य छन् । लेखक स्वयं इन्जिनियर हुनुका साथै अनुसन्धान कार्यमा जुटिरहेका व्यक्ति भएकोले पुस्तकमा संस्कृत वाङ्मयका सिद्धान्त र दृष्टिकोण प्रस्तुत गर्दा आधुनिक भौतिक विज्ञानको कसीमा घोट्ने प्रयास गरेका छन् । त्यसैले पुस्तक सामान्य मुमुक्षुका लागि पठनीय छ ।

मूल रूपमा तीन खण्डमा विभाजित पुस्तकको तेस्रो खण्डलाई आठ उपखण्डमा विभाजित गरिएको छ र विभिन्न खण्ड र उपखण्डलाई आवश्यकता अनुसार स-साना शाखामा पनि बाँडिएको छ ।

पहिलो खण्डको शीर्षक ‘जीवनको अमरता’ राखिएको छ । जीवनजस्तै मृत्यु शाश्वत विषय हो र मानिसले मृत्युको कुरा गर्न नचाहे पनि क्षण-क्षणमा मृत्युसँग साक्षात्कार गरिरहेका हुन्छन् । ‘मृत्यु केवल एक विचार हो । त्यस बाहेक केही हैन । निद्रा अस्थायी मृत्यु हो र मृत्यु स्थायी निद्रा’ रमण महर्षिको यसै भनाइबाट शुरू गरेर विभिन्न आयामबाट मृत्युलाई हेर्ने प्रयास गरिएको छ । रमण महर्षिको “म को हुँ ?” भन्ने पुस्तिकाबाट आफू प्रभावित भएको र आफूलाई अनुभूति गर्न सकेको स्वीकार्दै मृत्युलाई अनुभूतिद्वारा, बोधद्वारा, चेतनाद्वारा र अनुभवद्वारा बुझेर शान्तिपूर्वक गन्तव्यको पथगामी हुने सन्देश दिएका छन् ।

न जायते म्रियते वा कदाचन् नापं भूत्वा भविता वा न भूयः ।

अजो नित्यः शाश्वतोड यं पुराणो न हन्यते हन्यमाने शरीरे ।२०।(गीता)

‘आत्माको लागि न कहिल्यै जन्म छ, न मृत्यु । आत्मा कहिल्यै जन्मिएन, जन्मिने छैन । ऊ अजन्मा छ, नित्य छ, शाश्वत छ र पुरातन छ । शरीर मर्दा पनि ऊ मर्दैन ।’ पुस्तकको पहिलो अध्यायको सार यही छ । तैपनि जीवनको भौतिक अस्तित्वलाई मात्र स्वीकार गर्नेले मृत्युलाई भयावह ठानेर चिरञ्जीवी हुने इच्छा राख्छन् । तर भौतिक शरीरको अन्त्य त हुनैपर्छ र हुन्छ पनि । सुविख्यात ब्रेक डान्सर एवं गायक माइकल ज्याक्सनले मर्नबाट जोगिने सक्दो उपाय गरेका थिए । तर पचास वर्षकै आयुमा जानुपर्‍यो ।

दोस्रो खण्डलाई ‘शरीर, मन (बुद्धि) र चेतनाको गतिमयता’ शीर्षक दिइएको छ । शरीर जीवनको भौतिक स्वरूप हो र शरीरमा मन छ, जो देखिंदैन । मन अदृश्य, अस्पर्श्य छ र सूक्ष्म छ । शरीरभन्दा मन(बुद्धि)को तह माथि हुन्छ । शरीर छउन्जेल मन(बुद्धि) छ । त्योभन्दा माथि चेतना छ । चेतना एक ऊर्जा हो । जो अविनाशी छ । यसको सूक्ष्मता र महानता अवर्णनीय छ । फेरी कुनै कुरा जति सूक्ष्म हुन्छ, उति नै शक्तिशाली पनि । शरीरधारी मानिसले शरीर, मन र चेतनाको सन्तुलन कसरी मिलाउन सक्छ ? शरीरको तहदेखि चेतनाको तहसम्मको गर्नुपर्ने यात्राको उपायको सन्धान गर्नु जरुरी छ ।

‘आत्मा प्रत्याभूति‘ पुस्तकको तेस्रो खण्ड हो । यस खण्डमा आत्मा प्रत्याभूतिका लागि मानिसले के काम गर्न सक्छ ? त्यस्तो जवाफ खोज्ने प्रयास गरिएको छ ।

‘कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन ।

मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि ॥

यही गीतांशलाई आत्मसात् गर्दै कर्ममा दत्तचित्त रहूँ भन्ने सन्देश दिंदै उपखण्डहरू शुरू हुन्छन् । शरीर शुद्धीकरण, बोझमुक्ति, ध्यानमग्नता, ध्यानसाधना, योगाभ्यास, गुरुप्राप्ति र आत्मसमर्पणजस्ता उपायहरू बताइएको छ । यी विधिहरूलाई निरन्तरता दिने मात्र नभै उचित नियमानुसार पनि हुनु जरुरी छ । त्यसका लागि योग्य गुरुको आवश्यकता पर्दछ । तर त्यो योग्य गुरु कसरी चिन्ने र कसरी प्राप्त गर्ने ? यो यक्ष प्रश्न हो । अन्तमा टिप्पणी दिइएको छ ।

पुस्तक पठनीय हुँदाहुँदै पनि केही कमीकमजोरी र त्रुटिहरू देखिन्छन् । जस्तै पृष्ठ नं. भगवान् शिवबारे केही तथ्य भनेर प्रस्तुत गरिएका शब्दहरू आपत्तिजनक छन् । एउटा वैदिक सनातनीले घोर आपत्ति जनाउन सक्छ । शिव परम कल्याणकारी, अजन्मा, दयालु, छिट्टै खुशी हुने, चराचर ब्रह्माण्डको दुःख हर्ता, देवाधिदेव, समाजबाट उपेक्षित भूतप्रेत, पिशाच, नन्दी, भृङ्गी, बेताललाई साथ दिने सृष्टिकर्ता र सकल सृष्टिका मालिक हुन् । स्वार्थी तत्त्व र म्याक्स मुलर प्रवृत्तिका सनातनद्वैषीहरूले वैदिक देवीदेवताका नाममा अनेक लाञ्छनीय हल्ला मात्र गरेका छैनन्, बरु ग्रन्थमै छेडखानी गरेर देवीदेवताको गरिमा घटाउने कुकृत्य गरेका छन् । वैदिक सनातनीहरूले त्यस्तै हल्लाको पछि लाग्नुहुँदैन ।

त्यस्तै योग सम्बन्धित सीमाहरूमा पनि पाठक सहमत नहुनसक्छ । यसमा प्रायजसो ठाउँमा लेखकले आफ्ना अनुभूति र अनुभवबाट आएको कुरा प्रस्तुत गरेका छन् ।

विचारकहरूले आफ्नो विचारसँग खेल्छन् । तर्क गर्छन् र तर्कबाटै समस्याको समाधान खोज्ने प्रयत्न गर्छन् । जसरी प्राचीन ग्रीसका सोफिस्टहरूले गर्दथे । तर साधकहरू आफ्नो गहिरो ध्यानसाधनाबाट विचारको आविष्कार गर्न सक्छ । जहाँ कुनै किसिमको विभेद रहँदैन र आनन्दै आनन्द मात्र हुन्छ । शायद ज्ञानीहरूले त्यसलाई नै परमानन्द भने होलान् । त्यही परमानन्दसम्म पुग्ने बाटोको खोजीमा रहेका मुमुक्षुहरूका लागि सही बाटो देखाउने सत्कार्य स्वरूप गरिएको प्रयासप्रति लेखकप्रति साधुवाद प्रकट गर्दै उनको आध्यात्मिक चिन्तन र साधना अझै गहिरो हुँदै जाओस् भन्ने शुभकामना समेत प्रकट गर्दछु ।