जाबिल, यु.ए.ई.(दुबई) / मनोज थारू ‘अज्ञात’को उपन्यास ‘टुवरा’ यु.ए.ई.(दुबई)को जाबेलमा पनि सार्वजनिक भएको छ । २०७९ कार्तिक २६ गते, यु.ए.ई.(दुबई) स्थित जाबेल पार्कको रमणीय परिसरमा था.क.स., यु.ए.ई. अध्यक्ष खोरबहादुर महतो लगायत प्रवासी नेपालीहरूद्वारा उपन्यास ‘टुवरा’ सार्वजनिक गरिएको हो ।
थारू शब्द ‘टुवरा’को अर्थ ‘टुहुरा’ हो । यसमा निमुखा थारू किसानको कष्टपूर्ण दैनन्दिनीसहित छुतवर्गको व्यथा पनि समेटिएकोछ । लेखक मनोजको पहिलो उपन्यास ‘टुकी’ २०७५ साल असारमा सार्वजनिक भएको थियो । ‘टुवरा’ पहिलो पटक नेपालमा २०७९ कार्तिक ०६ गते होटल ह्याप्पी होम, कमलनगर, नारायणगढमा, माडी नगरपालिकाकी मेयर ताराकुमारी काजी महतोद्वारा थारू पत्रकार संघ चितवनको आयोजनामा लोकार्पण भएको थियो ।
जाबिल पार्कमा, था.क.स., यु.ए.ई.को एक बिशेष कार्यक्रममा पुस्तक सार्वजनिक गर्दै था.क.स., यु.ए.ई.का अध्यक्ष खोरबहादुर महतोले भन्नुभयो, ‘विदेशी भूमिमा विरादरीका सर्जकद्वारा लिखित टुवरा उपन्यास लोकार्पण गर्न पाउदा हर्षित भएका छौँ । यो अवसर हामीले पहिलो पटक पाएकाछौँ । ब्यग्र पतिक्षामा रहेको टुवरा उपन्यास हामीले यसरी विदेशी भूमिमा लोकार्पण गर्न पाउनु खुसीको कुरा हो । सार्वजनिक गर्दागर्दै वहाँको टुवरा ५० प्रति बिक्री भैसकेको छ । अझै माग रहे फेरिपनि टुवरालाई प्लने चढाउनेछौँ, लेखकलाई धेरै बधाई छ । हामीले नेपाली लेखकका पुस्तकहरु यसरी प्रवर्धन गरेर बिक्री बितरणमा सहयोग गर्नुकासाथै पठन संस्कृति विकास गर्ने चेष्टा गरिरहेकाछौँ । थारू समुदाय साँस्कृतिक रुपमा धनी भएपनि साहित्यिक क्षेत्रमा यस समुदायको प्रतिनिधित्व कम रहेको छ । तथापि यस कार्यमा मनोज अगाडि बढेकोमा सरहाना गर्दछौँ । था.क.स., यु.ए.ई.ले साहित्य र साहित्यकार प्रबद्र्धनमा बिशेष प्रयासगर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो ।
जाबिल, था.क.स., यु.ए.ई.का संयोजक खेमनारायण महतोले भन्नुभयो, बिेदेशी भूमिमा रहेरपनि हामीलाई थारू समुदायका कथाब्यथा थारु समुदायका लेखकबाटै लेखिएको किताब पढ्न पाउदा आनन्द लाउछ किनकी आफ्नै विरादरीको कथाब्यथा टिप्न लेखक माहिर छन् । वहाँको लेखन शैली ज्यादै राम्रो छ । टुकी उपन्यास पढेकोछु मैले र अनलाइन पत्रिका मार्फत झोरी कथा तथा अन्य फुटकर रचनाहरु पनि पढेकोछु । थारु समुदायबाट प्रतिनिधित्व गर्दै मनोजले नेपाली सहित्यमा कलम चलाउनु ठूलो आँट हो । वहाँको यो आँटलाई हामी कदर गछौं, संयोजक खेमनारायणले भन्नुभयो ।
था.क.स., यु.ए.ई.का एक सदस्य सनु महतोले टुवरालाई नियाल्दै भन्नुभयो, थारुहरुले भोगेका कष्टपूर्ण जीवनलाई किताबका रुपमा सशक्त ढंगले चित्रण गर्न, उनीहरुकै बोलिचालि, लवज टिपेर जस्ताकोतस्तै परिवेश बनाएर लेख्न लेखक माहिर छन् । यो पुस्तकको आवरण चित्रले पनि सोही इंगित गरेको छ । मनोजजीलाई अझ सफलताको शुभकामना दिन चाहन्छु ।
था.क.स., यु.ए.ई.का केन्द्रिय सदस्य जितेन्द्र महतोले नेपालबाट टुवरालाई हवाई यात्रा मार्फत युएई पुर्याउनुभएको थियो । वहाँले भन्नुभयो, टुवरालाई प्लेनमा चढाएर दुबई सहर घुमाइवरी जाबिल पार्कमा सार्वजनिक गरियो । सार्वजनिक गरेपश्चात् तत्काल टुवराले पाठकको साथ पाइहाल्यो । अब टुवरा टुहुरो रहेन, लेखकको मात्रै रहेन । टुवराले थुप्रै पाठकको माया पाइरहेको छ । अझैपनि बृहत् माया पाउनेमा म ढुक्क छु । लेखक मनोजजीलाई धेरैधेरै बधाई छ । आगामि दिनमा अझ शसक्त किताबहरु पाठक समक्ष पस्किन सफल हुनुहोस्, हामी आप्रवासीहरुको अपार शुभेच्छा र माया रहनेछ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

