भरतपुर / मनोज थारू ‘अज्ञात’को उपन्यास ‘टुवरा’ सार्वजनिक भएको छ । माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतोसहित साहित्यकारहरूले उपन्यास ‘टुवरा’ लोकार्पण गरेका हुन् ।

थारू शब्द ‘टुवरा’को अर्थ ‘टुहुरा’ भन्ने हुन्छ । यसमा निमुखा थारू किसानको कथाब्यथासहित छुतवर्गको कथा समेटिएको लेखकले बताए । लेखक मनोजको पहिलो उपन्यास ‘टुकी’ २०७५ साल असारमा सार्वजनिक भएको थियो ।

पुस्तक सार्वजनिक गरेपछि प्रमुख अतिथिको रुपमा मन्तव्य व्यक्त गर्दै माडी नगरपालिकाका मेयर ताराकुमारी काजी महतोले थारू समुदाय सांस्कृतिक रुपमा धनी भए पनि साहित्यिक क्षेत्रमा यस समुदायको प्रतिनिधित्व कम रहेको बताइन् । यस कार्यमा मनोज अगाडि बढेकोमा सराहना गरिन् । अब माडी नगरपालिकाले साहित्य र साहित्यकार प्रवर्द्धनमा विशेष प्रयास गर्ने प्रतिबद्धता उनले जनाइन् ।

थारू पत्रकार संघ नेपाल, चितवन शाखाले आयोजना गरेको पुस्तक लोकार्पण कार्यक्रममा पुस्तकका बारेमा बिभिन्न व्यक्तिहरुले चर्चासहित शुभकामना व्यक्त गरेका थिए ।

समीक्षक उदय अधिकारीले, थारू समुदायले भोगेको कष्टपूर्ण जीवनलाई लेखक थारूले किताबमा परिणत गरेको बताए । ‘लेखकले थारू समुदायका दैनिकी, क्रान्ति र सपनालाई ‘टुवरा’मा उल्लेख गरेका छन् । आञ्चलिकताले भरिपूर्ण यस किताबमा भाषाको छुट्टै सौन्दर्य छ । उपन्यास टुकीबाट आख्यान लेखनमा परिचय बनाएका अज्ञातलाई टुवराले राष्ट्रियस्तरको लेखकको रुपमा ज्ञात गराउनेछ’, अधिकारीले भने ।

समीक्षक रमेश प्रभातले उपन्यासमा भूइँमान्छे को कथा समेटिएको बताए । यस उपन्यासले टुवरा, मान्ठा लगायतका पात्रमार्फत तराइमधेसको सिङ्गो कथा उठान गरेका छन् ।

अमर जनशक्ति बहुमुखी क्याम्सका पूर्व क्याम्पस प्रमुख तोयनाथ पौडेलले, लेखक थारूले आफ्नै समुदायको कथालाई बिभिन्न आयामबाट उपन्यासको रुपमा तयार गरेर पात्रहरुमाथि न्याय गरेको बताए । खेतिपाती र कुटो कोदालो गर्ने वास्तविक कथा किताबमा छ, पौडेलले भने ।

अर्का समीक्षक ज्ञानेन्द्र महतोले, पुस्तकमार्फत लेखकले राज्यको शासन सक्तामा बसेकालाई आफ्नो समाजको वास्तविकता सम्बोधन गरेको बताए । यो किताब एक किसिमको युद्ध साहित्य जस्तैपनि हो । थारूहरुले बोल्ने लवजको कारणले भाषिक समस्यामापरि राज्यसक्ताबाट बिभिन्न अप्ठ्यारा भोगेका घटनाहरु यस किताबले उठान गरेको छ । र, उक्त अप्ठ्याराहरुको निकास पनि यस किताबले खोजेको छ ।

भरतपुर महानगरपालिका वडा नं. २२ का वडाध्यक्ष विष्णुराज महतोले टुवरा आफ्नै समाजको कथा भएको बताए । महतो भने, यो पुस्तकमा थारू समुदायको जनजीवन, चालचलन, संस्कृति उल्लेख भएकोले गैरथारू समुदायले पनि पढ्नैपर्ने पुस्तक हो ।

साहित्यकार धनराज गिरीले, आफ्नो समुदायको कथा खोतल्नु प्रशंसनीय काम भएकोले यस टुवराले ख्याति पाउने बताए ।
प्रकाशक शिखा बुक्सका सञ्चालक पुष्पराज पौडेलले सर्जकलाई शिखाको प्रोत्साहन सधैं रहने बताए ।

थारू कल्याणकारिणी सभा चितवनका अध्यक्ष ललित कुमार चौधरी, जब्का महतान पटिदारीका अध्यक्ष आशाराम चौधरी, थारू पत्रकार संघ नेपालका केन्द्रिय बरिष्ठ उपाध्यक्ष सन्तकुमार चौधरी लगायतले थारू समुदायको वर्तमान अवस्था किताबमा कम आएको तर लेखक थारूले थारू विषयवस्तुको टुकी २०७५, झोरी कथा २०७७ मार्फत पाठक समक्ष पस्किसकेका र हाल टुवरामार्फत लेखन कार्यमा अघि बढेकोमा लेखक थारूलाई आगामी दिनमा पनि यसखाले किताब लेखनका लागि उत्तरोत्तर प्रगतिको कामनासहित प्रोत्साहन गर्नुपर्ने बताए ।