झापाको दमकमा गजलकारद्वय आवाज शर्मा र नारायण घिमिरे (अहम् स्रष्टा) को विशेष गजल वाचन कार्यक्रम सम्पन्न भएको छ ।
दमकमा रहेको कदम थिएटरको आयोजनामा सञ्चालन हुँदैआएको गजल वाचन कार्यक्रम “शेर-अन्दाज”को शनिबार सम्पन्न तेस्रो शृङ्खलामा गजलकारद्वय शर्मा र घिमिरेले आ-आफ्नो गजल प्रस्तुत गर्नुभएको हो ।
देशका विभिन्न ठाउँबाट गजल पारखीहरूको उपस्थिति रहेको कार्यक्रममा गजलकार शर्मा र घिमिरेले ८-८ ओटा गजल वाचन गर्नुभएको थियो । गजलकार शर्मा पोखरा र गजलकार घिमिरे काठमाडौँ निवासी हुनुहुन्छ ।
सोही कार्यक्रमका बीच गजलकार घनेन्द्र ओझाको गजल एल्बम “शुभेच्छा” माथि परिचर्चा गरिएको थियो । कार्यक्रममा बोल्दै गजलकार ओझाले गजलको सैद्धान्तिक पक्षमा जोड दिँदै बहरमा गजल लेखिनु पर्छ भन्ने आफ्नो मान्यतालाई दोहोर्याउनु भएको थियो ।
यसैबिच कार्यक्रममा गायक तथा सङ्गीतकार सन्तोष श्रेष्ठको विशेष गायन प्रस्तुति रहने बताइएको भए पनि उहाँकी हजुरआमाको निधनका कारण सो कार्यक्रम स्थगित भएको कार्यक्रम संयोजक तथा गजलकार लोकेन्द्र बञ्जाराले जानकारी गराउनु भयो ।
शेर अन्दाजको यसअघि पहिलो शृङ्खलामा गजलकार तथा कवि सुन्दर कुरुप र गजलकार लोकेन्द्र बञ्जारा तथा दोस्रो शृङ्खलामा गजलकारद्वय सङ्गीता थापा र कृष्ण काश्यप रहनु भएको थियो ।
गजल लेखनमा प्रोत्साहन र गजलको विकासमा टेवा पुर्याउने उद्देश्यका साथ कदम थिएटर, दमकले पारिश्रमिकसहित गजलकारहरूको विशेष गजल वाचनको शृङ्खला गत असार ३ गते शुक्रबारबाट सुरु गरेको थियो । कार्यक्रम हरेक दुई महिनाको अन्तरमा हुँदै आएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।