गौँथली !
हाम्रो आँगनलाई मात्र
सधैँभरि
अँध्यारोले कहाँ ढाक्न सक्छ ?
समयसँगै समयले
अँध्यारोकै कोखबाट
अँध्यारोलाई नै समाप्त पार्ने
बलिष्ठ प्रकाश जन्माउँछ
र उदय हुन्छ हाम्रो युगको

गौँथली !
खोल ! दिव्य दृष्टि
त्यो समय यही हो
चिन यो उज्यालोलाई
अनुभूत गर यसका स्पर्शलाई
पारि क्षितिजमा पोखिएको उज्यालोले
तिम्रो, मेरो र हाम्रो
सम्भावनाको बिहानी जन्माएको छ

सायद !
यो बिहानीमा
तिम्रा र मेरा
हराएका बाइपङ्खी सपनाहरू भेटिन सक्छन्
यो चम्किलो उज्यालोभित्र
आऊ !
तिमी र म मिलेर खोजौँ
हाम्रा सुन्दर बाइपङ्खी सपनाहरूलाई

आऊ ! गौँथली
आऊ !
मिर्मिरे बिहानीसँगै
हाम्रो निराशाको खेतबारीमा
सारौँ आशाका बेर्ना र
हुर्काऔँ समृद्धिको बाली
हाम्रो धर्तीमा
रोपौँ प्रेमका गुलाफ र
उडाऔँ एकहुल सेता परेवाहरू

आऊ !
हामी मिलेर
हाम्रो सुन्दर धर्तीलाई
एकताको डोरीमा
उनेर रङ्गीबिरङ्गी पौरखका फूलहरू
गरौँ समर्पण प्रेमका मालाहरू

गौँथली !
तल्लाघरे र पल्लाघरेलाई देखाएर
यो भएन !
त्यो भएन भन्दैमा
यसका गल्ती र
उसका गल्ती देखाउँदै
घर छोडेर मुग्लान पस्दैमा
घर
घरजस्तो बन्दो रहेनछ

गौँथली !
आऊ हामी मिलेर
जूनमा पनि घाममा पनि
साँझ पनि बिहान पनि
असहजताभित्र होस् वा सहजतामा होस्
हाम्रा सन्तानका लागि
हाम्रै माटोमा
हाम्रो सपनाको घर बनाऔँ।