युएई / झापाको दमकमा सञ्चालन हुँदैआएको गजल वाचन कार्यक्रम “शेर-अन्दाज” को चौथो शृङ्खलामा ५ जना गजलकारहरु रहनु हुने भएको छ ।

दमकमा रहेको कदम थ्रिएटरले आयोजना गर्दै आएको गजल वाचनको विशेष कार्यक्रममा यो पटक पूर्वका गजलकारहरुलाई समेटिएको छ ।

कार्यक्रममा पाँचथरका नितिज आङ्बो, इलामका चन्द्र अधिकारी, झापाकी सुनिता तामाङ, मोरङका मौसम बराल, र धनकुटाका याक्थुङ्बा कान्छा गरी ५ जना गजलकारहरुको विशेष प्रस्तुति रहनेछ ।

उहाँहरू लामो समयदेखि गजल लेखन र विभिन्न साहित्यिक गतिविधिहरुमा सक्रिय रहँदै आउनु भएको छ ।

कार्यक्रम आगामी पौष ०९ गते शनिबार कदम थ्रिएटरको हलमा दिउँसो १ बजेबाट सुरु हुने कार्यक्रम संयोजक तथा गजलकार लोकेन्द्र बञ्जाराले जानकारी गराउनु भयो ।

शेर अन्दाजको यसअघि पहिलो शृङ्खलामा गजलकार तथा कवि सुन्दर कुरुप र गजलकार लोकेन्द्र बञ्जारा, दोस्रो शृङ्खलामा गजलकारद्वय सङ्गीता थापा र कृष्ण काश्यप तथा तेस्रो शृङ्खलामा गजलकारद्वय आवाज शर्मा र नारायण घिमिरे रहनु भएको थियो ।

गजल लेखनमा प्रोत्साहन र गजलको विकासमा टेवा पुर्याउने उद्देश्यका साथ कदम थ्रिएटर, दमकले पारिश्रमिक सहित गजलकारहरुको विशेष गजल वाचनको शृङ्खला गत असार ३ गते शुक्रबारबाट सुरु गरेको थियो । कार्यक्रम हरेक दुई महिनाको अन्तरमा हुँदै आएको छ ।