सुन फलाउने खेत
हिरा उब्जाउने बारी

वृद्ध बाआमालाई
एक्लै छोडेर
वर्तमानको पोको च्यापी
भविष्यको बाली लगाउन
जहिलेदेखि
नौजवान देश छोडेर परदेश पसे
हो! त्यही बेलादेखि
मेरो देश मस्त निदाएको छ।

हिजोआज
मेरो देश ब्यूँझाउन
एक प्रहर रात छँदै
खोरमा भाले बास्दैनन्
गोठमा पाडाबाछा कराउँदैनन्
पाखामा चरा गाउँदैनन्
सायद!
तिनीहरूलाई पनि डीभी पर्‍यो होला
पराई देशको भिसा लाग्यो होला।
त्यसैले त
हिजोआज मेरो देश
रहर सकिएको वृद्धाश्रम जस्तै
सुनसान छ
बाती सकिएको दियो जस्तै
अँध्यारो छ।
हो! यही अँध्यारोमा
मेरो देश मस्त निदाएको छ।

जहिलेदेखि
देश हाँक्ने नौजवानहरू
देश बनाउन छाडेर परदेश बनाउन पसे
देश पढ्न छोडेर परदेश पढ्न लागे
आफ्नो परिचय
स्वदेशी नागरिकता भुलेर
पराईको पीआर खोज्न थाले
हो! त्यही बेलादेखि
मेरो देश मस्त निदाएको छ।

जहिलेदेखि
नौजवानहरूका आँखाले
आफ्नी आमा भन्दा
पराई आमालाई सुन्दर देख्न लागे
आफ्ना सिर्जनालाई भन्दा
पराईको कृत्रिमतालाई हृदयङ्गम गरे
हो! त्यही बेलादेखि
मेरो देश मस्त निदाएको छ।

यो निदाएको देश ब्यूँझाउन
हातमा औजार,
हृदयमा सपना,
मस्तिष्कमा योजना

काँधमा जिम्मेवारी बोकेका
नौजवानहरू
जब
देशप्रेमको झरीमा निथ्रुक्क रूझेर
फिर्नेछन् मातृभूमिमा
तब मात्र
हट्ने छ अज्ञानताको अँध्यारो
खुल्ने छ सम्भावनाको बिहानी
बास्ने छ चेतनाको भाले

खुल्ने छ मेरो देशको निद्रा।