कान्छा, यसपटक झरी बेस्सरी पर्छ भन्छन् ।
घरको छानो दिनानुदिन चुहिँदै छ दलिनहरूमा
धमिराको रजाइँ छ
मुलथाम पनि मक्काएको धेरै भयो।
छिमेकीहरू भन्छन्
“मौका छ, सक्छस् भने नयाँ घर बना
त्यति पनि नसके मुलथाम फेर ।”
के गर्नु कान्छा? त्यो मुलथाम
जसले ठूलाठूला आँधीहुरीमा पनि
घर मात्र बचाएको छैन
हाम्रो जीवन पनि जोगाएको छ
उसैलाई झट्ट मिल्काएर
अर्को फेर्दा पनि स्वार्थी भइने पो हो कि ?
फेरिहाले पनि
काठ त त्यही जङ्गलको न हो
राम्रै पर्छ भन्ने के छ र, कान्छा ?
भन्छन् घर नयाँ होस् वा पुरानो
मन अडिनुपर्छ; अचेल त मन होइन
धन अडिनुपर्छ रे कान्छा !
त्यसैले छिमेकीहरू सुझाउँछन्
“मौका आउँदै छ, उसैका कुरा मान
मानु पनि बदलिन्छ, छानु पनि बदलिन्छ
पुरानैलाई माया गरेर के हुन्छ ?”
कान्छा ! म रनभुल्लमा छु
के पुरानैले जस्तो नयाँले पनि न्यानो देला र ?
भन त कान्छा, पुरानो भत्कँदैमा
सोचेको जस्तै नयाँ घर बनिहाल्ला र ?
कान्छा, बाउबाजेको रगत–पसिनाको निशानी,
हाम्रो धरोहर यो घर लहैलहैमा लागेर
भत्काइहाल्न पनि मन छैन ।
के गर्नु कान्छा ?
यो घर भत्काऊँ कि नभत्काऊँ ?



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
२८ जेष्ठ २०८३, बिहीबार 









