अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास बेल्जियम र साङ्ग्रिला समाज बेल्जियमको संयुक्त आयोजनामा १५६ औँ मोती जयन्तीमा साहित्यिक रचनावाचन एवं श्रद्धाञ्जली अर्पण कार्यक्रम सम्पन्न गरियो ।
साङ्ग्रिला समाजले सञ्चालन गर्दै आएको नेपाली भाषा कक्षाका विद्यार्थी बालबालिकाहरूसँगै सोही विद्यालयमा भएको कार्यक्रममा विभिन्न वक्ताहरूले नेपाली साहित्य र भाषाको उत्थानका लागि मोतीराम भट्टको योगदानको चर्चा गरिएको थियो ।
आदिकवि भानुभक्त आचार्यको साहित्यको संरक्षण र विस्तार एवं आधुनिक साहित्यको विकासमा भट्टको अतुलनीय योगदान रहेको, छोटो उमेरमा पनि धेरै काम गरेकाले नेपाली भाषा साहित्यप्रेमीहरूले मोतीरामलाई सधै सम्झिरहने मन्तव्य सो अवसरमा व्यक्त गरिएको थियो ।
एनआरएनए बेल्जियमका अध्यक्ष खड्कबहादुर केसीको प्रमुख अतिथ्यतामा सो कार्यक्रममा परमानन्द सापकोटा, चन्द्र शर्मा, ब्रह्मदत्त वाग्ले, विमल गिरी, जमुना गैरे बास्तोला, मोहन खत्री, दीपेन्द्र केसी, गोपाल दाहाल, जगदीश सापकोटा, यामु निरौला, खड्क केसी, ओम शर्मा र नारायण अधिकारीले कविता, मुक्तक लगायतका रचना वाचन गर्नु भएको थियो ।
अनेसास बेल्जियमका पूर्व अध्यक्ष दीपेन्द्र केसीले कवि मोतीराम भट्ट्को जीवनीका बारेमा प्रकाश पार्नु भएको कार्यक्रममा भाषा कक्षाकी शिक्षिका रुबिना शर्माले विद्यालय सञ्चालनमा आएका चुनौती र व्यवस्थापनको अनुभव र बालबालिकाहरूको उत्साह र सिकाई बारेमा जानकारी गराउनु भएको थियो ।
साङ्ग्रिला समाजकी महासचिव एवं शिक्षिका नीलम घिमिरेले अतिथिहरूलाई स्वागत गर्नु भएको थियो ।
नारायण अधिकारी, नीलम घिमिरे, रुबिना शर्मा, परमानन्द सापकोटा र रिना शाहीले स्वयंसेवकको रुपमा बालबालिकाहरूलाई नेपाली भाषा सिकाइरहनु भएकोछ। सोही भाषा विद्यालयका विद्यार्थी वितृष्णा पौडेल र सृष्टि अधिकारीले कवि मोतीरामको बारेमा रचना सुनाउनु भएको थियो ।
कार्यक्रमका संयोजक एवं साङ्ग्रिला समाजका अध्यक्ष नारायण अधिकारीले उपस्थितहरूलाई धन्यवादज्ञापन गर्नु भएको थियो ।
अनेसास बेल्जियमका अध्यक्ष डिल्ली अम्माईको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन महासचिव लोकनाथ शर्माले गर्नु भएको थियो ।
साहित्य रचनालाई बालबालिकाहरुले चासोपूर्वक सुनेका थिए भने कवि मोतीराम भट्टको बारेमा पनि उनीहरूले बुझ्ने गरी जानकारी गराइएको थियो।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।