
पोखरा, भाद्र ५ / पोखरेली युवा सांस्कृतिक परिवारले कविताको अघोषित पाठशालाका रुपमा सञ्चालन गर्दै आएको समता काव्य सन्ध्याको ३५० औं शृङ्खला सम्पन्न भयो ।
काव्य सन्ध्यामा कवि मीना श्रेष्ठको कविता कृति फर्गेट एस्टर्डेको परिचर्चा गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि नेपाली लेखक संघका केन्द्रीय अध्यक्ष तीर्थ श्रेष्ठ रहनु भएको थियो ।
कविता गुन्द्रीको तानजस्तो कसिलो हुनुपर्ने सो अवसरमा श्रेष्ठले बताउनुभयो । शब्दहरू धेरै छिरल्लिए भने कविता कविता बन्न सक्दैन । कवि मीना कविताको गुन्द्री बुन्न सफल भएको बताउनुभयो ।
कवि मीना श्रेष्ठले आफू पोखराका अग्रज स्रष्टा सरुभक्त र तीर्थ श्रेष्ठका कविताहरू पढेर पनि होला पोखरासँग आफ्नो पुरानै सम्बन्ध रहेको अनुभूत गरेको बताउनुभयो ।
कार्यक्रमका अर्का वक्ता डा. ईश्वरमणि अधिकारीले फर्गेट एस्टर्डेको पितृसत्तात्मक सत्ताले जकडेको हाम्रो समाज र त्यही समाजमा नेपाली महिलाहरूको अवस्था र यसको पृष्ठभूमि, उनीहरूले भोगेको कष्टप्रद जीवनको कथा र सोका विभिन्न आयामहरूको कलात्मक चित्रण गर्न सक्षम भएको बताउनुभयो । कविका आफ्ना केही कविताहरूमा ‘आइमाई बस्ने घर’ संग्रहको यौटा ससक्त कविता हो । जहाँ नेपाली पुरातन महिलाहरूको कुरूप अवस्थाको सुन्दर चित्र छ । बाबुको घरबाट लोग्नेको घर पुगेकी चेलीले आफ्नो घर खोजेको कथा छ त्यहाँ, नेपाली महिलाको पीडा छ । यो नेपाली ग्रामीण महिलाहरूको प्रतिनिधिमूलक पीडा हो । हुन त अहिले अवस्था केही हदसम्मबदलिएको छ र पनि कविता कलात्मक छ र, प्रेरणादायी पनि ।
हो, मेरी आमाको घर थिएन
बुबाको घर कहिल्यै उनको भएन
त्यो घर काकाको थियो
त्यो घर बडाबा को थियो
मेरी आमा जहिल्यै
बाहरुको घरमा बसिन
यसरी लैंगिकविभेदको कलात्मक विन्यास गर्न सफल कवि कहीँकहीँ छिरलिएकी छिन् । कविहरू कवितामा गुलाब खेती गर्छन् । कति बेला शासकका विरुद्ध, कति बेला संयन्त्रका विरुद्ध र कतिबेला पार्टी नेतृत्वका विरुद्ध जोडले झटारो हान्न भन्छ मन । राजनीतिक विवेकले बन्धक बनाउँछ मनलाई । तर किताब पढिरहँदा लाग्छ, उनले झटारो हानिनन्, या प्रेमपूर्वक हानिन्, जसले उनी भित्रको राजनीतिक प्राणीलाई सके फाइदा नै होस्, नभए नि केही घाटा नपरोस् । या, उनको मनलाई नै राजनीतिक विवेकले बन्धक बनायो । यौटा सचेत पाठक, यसरी पनि सोच्न सक्छ,“फर्गेट एस्टर्डे” मा भन्दै डा अधिकारीले कविलाइ हौसला प्रदान गर्नुभयो ।
काव्य सन्ध्याको ३५० औँ शृङ्खलामा कविहरू लक्ष्मण थापा, सरस्वती श्रेष्ठ सरु, दीपक समीप, अमृत, शरण आँशुले आआफ्ना सिर्जनाहरू वाचन गर्नुभएको थियो ।
परिवारका उपाध्यक्ष उपेन्द्र पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । परिवारका अध्यक्ष मोति भुजेलको अध्यक्षता सम्पन्न उक्त कार्यक्रमको सन्चालन साहित्य संयोजक रीता अधिकारी ऋतले गर्नुभएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१५ असार २०८३, सोमबार 










