‘समता काव्य सन्ध्या’मा छन्दमा कविता वाचन

पोखरा, वैशाख ८ / पोखरेली युवा साँस्कृतिक परिवारले कविताको अघोषित पाठशालाका रुपमा सञ्चालन गर्दै आएको समता काव्य सन्ध्याको ३४८ औं शृङ्खला सम्पन्न भयो ।
काव्य सन्ध्यामा देवघाट बाट आएका छन्द कवि कृष्णशरण उपाध्यायलाई परिवारले सन्ध्या नायकको रुपमा उभ्याएको थियो । कवि उपाध्यायले छन्द भाव र विचार व्यक्त गर्ने लयात्मक माध्यम भएको बताउनुभयो । यसले कवितालाई बढी हृदयस्पर्शी बनाइदिने उहाँले जनाउनुभयो । कविले मात्रिक, स्रग्धरा, मन्दाक्रान्ता, शार्दूलविक्रीडित, वसन्ततिलका, भुजप्रयात, वितान, चेतना, स्रग्विणी, अनुष्टुप छन्दमा कविता वाचन गर्दा दर्शक स्रोता मन्त्रमुग्ध भएका थिए । अभिषेक ओझा ‘अभिश्री’ निजगढ, बारा र बिष्णु पादुका बाँके, कोहलपुरदेखि कवि कृष्णशरण उपाध्यायलाई सुन्न आउनुभएको थियो ।
कार्यक्रमका अतिथि कवि लक्ष्मण थापा र साहित्य श्रृङ्खलाकी अध्यक्ष कवि लक्ष्मी थापाले समतामा कविता वाचन गर्ने कविहरूको छन्द प्रयोग गर्ने शैलीले आफू प्रभावित भएको बताउनुभयो ।
काव्य सन्ध्याको ३४८ औँ शृङ्खलामा कविहरू सुरज उपाध्याय, निर्मला अर्याल, प्रदीप खनाल, अव्यग्र अस्मित, प्रकाश आचार्य, अभिषेक ओझा, भूमिराज वस्ताकोटी, माधव खतिवडा, रोशन तिमिल्सिना, भरत आचार्य, लिली अधिकारी, विष्णु पादुका, लक्ष्मी थापा, शिव त्रिपाठीले आआफ्ना सिर्जनाहरू वाचन गर्नुभएको थियो ।
परिवारकी सदस्य लिली अधिकारीले स्वागत मन्तव्य गर्नुभएको सो कार्यक्रम संस्थाका अध्यक्ष मोती भुजेलको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन सहसचिव शिव त्रिपाठीले गर्नु भएको थियो ।
