पोखरा, मंसिर १४ / पोखरेली युवा साँस्कृतिक परिवारले स्रष्टाका अनुभव र अनुभूति अन्तर्गतको नयाँ शृङ्खलामा मंगलबार साहित्यकार तथा राधा पौडेललाई प्रस्तुत ग-यो ।

 

साहित्यकार पौडेलले आफू शारीरिक बनावटमा होचो कदको फुच्ची देखिने चितवनबाट फरेस्ट्रीको फर्म भर्न आएका बालाई दाइहरूले यो फुच्ची मान्छे, केटी मान्छे फरेस्ट्री पढेपछि जङ्गल‑जङ्गल डुल्नुपर्छ गुण्डागर्दी हुन्छ सक्दिन भनेर नर्सिङको फर्म भरिदिएको अनुभव सुनाउनु भयो । तर आजसम्ममा कुनै एक सेकेन्ड पनि नर्सिङ पढेकामा पछुतो नभएको उहाँले बताउनुभयो ।

 

उहाँले थप्नुभयो, ‘म नर्सिङ नपढेको भए आज तपाईंहरुमाझ हुन्थिनँ । कतै एलडियो सेल्डियो भएर १० देखि ५ को जागीर खाइरहेको हुने थिएँ । नर्सिङ पढेकै कारण म हुम्ला, जुम्लामा जान पाएँ र ‘खलंगामा हमला’ भन्ने किताब जन्म्यो । ‘खलंगामा हमला’ले मदन पुरस्कार पाएकै भएर तपाईंहरूले आज मेरो अनुभव र अनुभूति सुन्दै हुनुहुन्छ ।’

 

मध्यम परिवारमा जन्मनु भएकी राधा पौडेलले आफ्नो मनले यो गर् भनेपछि गरिहाल्ने जिद्दी स्वभावले गर्दा एकफेर आत्महत्या गर्नसमेत हिँडेको बताउनुभयो । अहिले पनि आज मरिन्छ कि भोलि ठेगान नभएको जिन्दगीमा झन् माओवादी जनयुद्धकालमा नजिकैबाट मृत्यु देख्दा आज कि भोलि ठेगान छैन भन्दै आफूले देखेको समाज र भोगेको जीवन डायरीमा लेख्न शुरु गरेकाले ‘खलंगामा हमला’ जन्मेको अनुभव सुनाउनुभयो । पोखरा नर्सिङ क्याम्पसमा सातौं ब्याचमा पढ्दा पोखराको बसाइको पनि उहाँले अनुभव सुनाउनुभयो । साथै उहाँले अहिले देश‑विदेशमा मर्यादित महिनाबारीको अभियान चलाइरहनु भएको छ ।

 

नेपाल सङ्गीत नाट्य प्रज्ञाप्रतिष्ठानका निवर्तमान कुलपति तथा कार्यक्रमका प्रमुख अतिथि प्रसिद्ध साहित्यकार शरुभक्तले ‘एकआध मान्छेबाहेक कोही पनि जन्मिदै केही लिएर आएको हुँदैन । त्यस्तै राधा पौडेलले पनि केही लिएर आएकी होइनन्, उनले जे गरिन् जन्मेपछि नै गरेको’ बताउनुभयो ।

 

‘साहित्य, कला र सङ्गीतको उत्थानः हाम्रो प्रण’ भन्ने मूल नाराका साथ २०३४ सालमा स्थापना भएको पोखरेली युवा साँस्कृतिक परिवार गण्डकी प्रदेशको मात्रै नभई देशकै साहित्य, कला र सङ्गीतको विकासमा ४५ वर्षदेखि अविछिन्न क्रियाशील र सक्रिय संस्थाका रूपमा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा परिचित छ । साहित्य विभागका संयोजक शरण आँशुले पौडेलको संक्षिप्त परिचयसमेत स्वागत गरेका थिए । यसअघि रागिनी उपाध्याय, खगेन्द्र संग्रौला, नारायण ढकाल, राजेन्द्र भण्डारी, सम्राट उपाध्याय, स्नेह सायमी लगायतका स्रष्टाहरूले अनुभुव र अनुभूतिमा आफ्नो हृदय राखिसक्नु भएको छ ।

 

परिवारका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संयोजन निर्वतमान अध्यक्ष मोती भुजेलले र सञ्चालन सदस्य हसिना बस्नेतले गरेकी थिइन् ।