पोखरा, वैशाख ३ / पोखरेली युवा साँस्कृतिक परिवारले कविताको अघोषित पाठशालाका रुपमा सञ्चालन गर्दै आएको समता काव्य सन्ध्याको ३४७ औं शृङ्खला सम्पन्न भयो ।

काव्य सन्ध्यामा परिवारका सल्लाहकार कार्यक्रमका प्रमुख अतिथि कवि डा. ईश्वरमणि अधिकारीले ‘आफू आजीवन कविताको विद्यार्थी रहने र कवितामा नै समर्पित हुने’ प्रतिवद्धता जनाए ।

कार्यक्रमका अर्का अतिथि कवि केशु शर्माले ‘पचासको दशकमा आफूले समता पहिलो पटक कविता वाचन गरेको अनुवभ सुनाइन् । समतामा कविता वाचन गर्दा गर्दै अहिले आफू संघसंस्थामा नेतृत्वदायी भूमिकामा रहेको बताइन् । यसको श्रेय पोयुसांपलाई जाने भन्दै खुलेर प्रशंसा गरिन् ।

काव्य सन्ध्याको ३४७ औँ शृङ्खलामा कविहरू त्रिवेणी, मनिषा पौडेल, माधव खतिवडा,अमृता पौडेल, कृष्ण सुवेदी, रोशन तिमिल्सिना, रामजी प्रसाद आचार्य, लिली अधिकारी, प्राञ्जल, शिव त्रिपाठी, प्रकाश ज्ञवालीले आआफ्ना सिर्जना वाचन गरेका थिए ।

परिवारकी साहित्य संयोजक रीता अधिकारी ‘ऋत’ले स्वागत मन्तव्यसँगै अब आउने शनिबार पोखरामा लोकार्पण हुने अधिकारीको ‘सेल्फ पोट्रेट’बाट दुई छोटा कविता वाचन गरेकी थिइन् । संस्थाका अध्यक्ष मोती भुजेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सहसचिव शिव त्रिपाठीले गरेका थिए ।