जनकपुर / मैथिली विकास कोषको आयोजनामा चैत २३ देखि २५ गतेसम्म आयोजन हुन लागेको जनकपुरधाम साहित्य, कला तथा नाट्य महोत्सव–२०७८ को तयारी पूरा भएको छ ।

तीन दिवसीय महोत्सवमा साहित्य, कला, संस्कृतिको क्षेत्रमा क्रियाशील नेपाल र भारतका एक सयभन्दा बढी स्रष्टा सहभागी हुँदैछन् ।

कोषका अध्यक्ष जीवनाथ चौधरीले आइतबार पत्रकार सम्मेलन आयोजन गरी कार्यक्रमको उद्घाटन पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गर्ने तथा उद्घाटन सत्रमा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, लोसपा अध्यक्ष महन्थ ठाकुर, जसपा अध्यक्ष उपेन्द्र यादव, पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि, माओवादी केन्द्रका गिरिराजमणि पोख्रेल, एमालेका सत्यनारायण मण्डल, तमलोपा अध्यक्ष वृषेशचन्द्र लालसहित अन्य राजनीतिक दलका दोश्रो पुस्ताका नेताहरु पनि सहभागी हुने जानकारी दिए ।

तीन दिवसीय महोत्सवको क्रममा भाषाविद् प्रा.डा. रामावतार यादव, प्रा.डा. रामदयाल राकेश, डा. राजेन्द्र विमल, डा. रेवतीरमण लाल, रामभरोस कापडि ‘भ्रमर’, डा. अमरकान्त झा, डा. गोपाल झा, गोरखापत्रका प्रधान सम्पादक शिवकुमार भट्टराई, राजनीतिक समीक्षकहरु सिके लाल , चन्द्रकिशोर र तुलानारायण साह, मिथिला चित्रकलाका विशेषज्ञ एससी सुमन, नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रिय अध्यक्ष धर्मेन्द्र झा ‘विह्वल’, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य धीरेन्द्र प्रेमर्षिसहितका स्रष्टाहरु सहभागी हुनेछन् ।

मिथिला चित्रकला कार्यशालामा सहभागी कलाकरहरुले स्थलगत बनाइएका मिथिला कला तथा जनकपुरका दृश्य चित्रको प्रदर्शन गरिने जानकारी वरिष्ठ पत्रकार श्यामसुन्दर शशिले दिनु भयो।

यसैगरी भारतबाट साहित्य समीक्षक डा. रमानन्द झा ‘रमण’, तारानन्द वियोगी,कमलमोहन चुन्नु, अजित आजाद, किसलय कृष्ण, गुंजन श्रीसहित दर्जनौं साहित्यकार सहभागी हुने छन् ।

कार्यक्रममा जनकपुरको मिथिला नाट्यकला परिषद्ले महेन्द्र मलंगियालिखित तथा प्रमेश झा निर्देशित ‘गाम नै सुतैए नाटक मञ्चन गर्ने छ भने पटनाको भंगिमा नाट्य समूहले मैथिली नाटक प्रदर्शन गर्नेछ । यसैगरी दरभंगाको नाट्य समूहले अभिशप्त देवब्रत, भारत मणिपुरको अखोक नाट्य समूहले हिन्दी भाषाको एच सिस्टर तथा वेज प्रालि काठमाडौंले नेपाली भाषाको ‘ढल्केको सालैजो’ नाटक प्रदर्शन गर्ने छन् ।

कार्यक्रममा सत्तामा रमाएको विद्रोह, मातृभाषामाथि लगाम, भाषा, भाषिका तथा मैथिली, मैथिली भाषामा वैचारिक चेत तथा नेपाली साहित्यमा वर्णित मिथिला–मधेसलगायतका १० शीर्षकमा विमर्श पनि हुनेछ । जसमा नेपाल र भारतका स्रष्टाहरु सहभागी हुनेछन् ।

महोत्सवको क्रममा सन्ध्या रंगारंग सांस्कृतिक कार्यक्रमको आयोजन हुने अध्यक्ष जीवनाथ चौधरीले जानकारी दिए । सांस्कृतिक कार्यक्रममा नेपालका सुनिल मल्लिक, आभाष लाभ, ललित कामत, रमा मण्डल, संगीता देव, नविन कुमार मिश्र तथा भारतबाट कुंजविहारीलगायतका गायक गायिकाहरु सहभागी हुँदैछन् ।

कार्यक्रमको मुख्य आकर्षण उद्घाटन अघि प्रदर्शन गरिने सांस्कृतिक झाँकी रहने विश्वास अध्यक्ष चौधरीको छ । स्थानीय विद्यालय तथा विभिन्न युवा संघ संस्थाको सहभागितामा हुन लागेको झाँकी प्रदर्शनमा मिथिलाका लोकदेवता, लोक पर्व त्योहार तथा मिथिला समाजलाई प्रदर्शन गरिने झाँकी प्रदर्शन उपसमितिका संयोजक सुनिलकुमार मल्लिकले जानकारी दिए ।