जनकपुर साहित्य महोत्सवको छैटौँ संस्करण शनिबार सम्पन्न भएको छ ।
महोत्सवको तेस्रो अर्थात् अन्तिम दिन शनिबार विभिन्न विषयमा गहन विमर्श भएको छ । ‘मधेशको मत’ सत्रमा मधेशको राजनीति, जनचेतना र बदलिँदो सामाजिक संरचनामा छलफल भएको थियो । उक्त सत्रमा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टाराई, डा. अमरेश सिंह र जसपा नेपालका प्रवक्ता तथा प्रदेश सांसद मनिष सुमनले मधेशको वर्तमान राजनीतिक अवस्थादेखि सामाजिक संरचनासम्मका विभिन्न पक्षहरूमाथि चर्चा गर्नुभएको थियो ।
नेता भट्टराईले मधेशको बदलिँदो सामाजिक संरचनालाई विश्लेषण गर्दै समावेशिता, लैङ्गिक समानता र समुदायबीचको समन्वयमा केन्द्रित रहेर आफ्ना विचार राख्नुभयो। उहाँले भने, ‘मधेशमा सामाजिक रूपान्तरणका लागि भएको आन्दोलनले ठूला उपलब्धिहरू हासिल गरे पनि सामाजिक स्तरमा समानता र समावेशीताको पूर्णतः कार्यान्वयन हुन सकेको छैन । विशेष गरी लैङ्गिक समानता र सामाजिक न्यायको क्षेत्रमा अझै धेरै चुनौतीहरू छन् ।’ मधेशको सामाजिक संरचना बदलिँदै गए पनि सामाजिक आर्थिक असमानता, जातीय विभाजन र लैङ्गिक असमानताको समस्या अझै गहिरो रहेको उहाँको भनाइ थियो ।
त्यस्तै, प्रतिनिधिसभा सदस्य डा. अमरेश कुमार सिंहले मधेशको विकासमा शिक्षा र स्वास्थ्यको भूमिका उजागर गर्दै यस क्षेत्रमा आवश्यक सुधार र नीतिगत परिवर्तनबारे आफ्ना विचारहरू राख्नुभयो । उहाँले मधेशमा शिक्षाको पहुँच, गुणस्तर र स्वास्थ्य सेवाको उपलब्धता र गुणवत्ता सुधारका लागि सरकारी प्रयासहरू अपर्याप्त भएको बताउँदै सामाजिक न्याय र समान अवसर प्रदान गर्न यी दुवै क्षेत्रको सुधार अपरिहार्य रहेको बताउनुभयो । ‘मधेशी जनताले यस्ता आधारभूत सुविधाहरूमा सहज पहुँच नपाउँदा समृद्धिका योजना केवल दस्तावेजमा सीमित भइरहेका छन्,’ उहाँले भन्नुभयो ।
मनिष सुमनले मधेशको राजनीति अहिले गहन परिवर्तनको मोडमा रहेको बताउँदै मधेशी समुदायको राजनीतिक सहभागिता, संघीयताको कार्यान्वयन र समावेशी नीतिहरूको प्रभावकारितामा आफ्नो धारणा व्यक्त गर्नुभयो । उहाँले मधेशी जनतामा विद्यमान असन्तोष, राजनीतिक व्यवस्थाप्रतिको भरोसाको कमी र विकेन्द्रीकरणको क्रममा देखिएका अवरोधहरूबारे विश्लेषण प्रस्तुत गर्नुभएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 






