रोचक घिमिरे

यस वर्षको “नगेन्द्रराज शर्मा साहित्यक पत्रकारिता पुरस्कार” वरिष्ठ साहित्यिक पत्रकार तथा लेखक रोचक घिमिरेलाई प्रदान गरिएको छ । यसै वर्ष स्थापना गरिएको यो पुरस्कार पाउने पहिलो व्यक्ति घिमिरे बन्न पुगेका हुन् । पुरस्कारको राशि २५ हजार नेपाली रुपियाँ रहेको छ ।

नगेन्द्रराज शर्मासँग निकटतम सम्बन्ध रहेका घिमिरेले उनकै नाममा स्थापित पुरस्कार पाउँदा खुसी लागेको बताए । साहित्यपोस्टसँगको टेलिफोन संवादमा उनले भने, “म नगेन्द्रराज शर्मालाई साहित्यिक पत्रकारिताको तपस्वी, साधकका रुपमा लिन्छु । हुन त उहाँले साहित्यिक पत्रकारिता थालेको मैले भन्दा ९ वर्षपछि हो । तर उहाँले अभिव्यक्तिलाई आजसम्म पनि निरन्तरता दिइरहनुभएको छ । मैले रचनाको प्रकाशनलाई बिच बिचमा विविध कारणले स्थगित पनि गर्नुपर्यो । यसर्थ, साहित्यिक पत्रकारितामा दीर्घकालीन सेवा गरेको, त्यसैमा समर्पित व्यक्तित्व नगेन्द्रराज शर्माको नाममा स्थापित पुरस्कार पाउँदा खुसी लाग्नु स्वभाविकै पनि हो ।”

रामेछापस्थित मन्थलीमा वि.सं. १९९८ भाद्र ३ गते जन्मिएका रोचक घिमिरेले वि.सं. २०१८ सालदेखि ‘रचना’ द्वैमासिक साहित्यिक पत्रिका प्रकाशन–सम्पादन प्रारम्भ गरेर नेपाली भाषा साहित्यमा निरन्तर योगदान दिंदै आएका छन् । उनलाई नेपाली साहित्यिक पत्रकारिता क्षेत्रमा गहिरो अध्येताका रुपमा चिनिन्छ ।

सम्बन्धमा नगेन्द्रराज शर्मा रोचक घिमिरेका काका पर्छन् । घिमिरेले शर्मासँगको आफ्नो सम्बन्ध बारेमा भने, “हामी रामेछापस्थित मन्थलीकै घिमिरे वंशी हौँ । नाताकै कुरा गर्ने हो भने उहाँ मेरो काका पर्नु हुन्छ । तर काकाको नाताभन्दा पनि हाम्रो साथीको नाता माथि छ । र, साथीभन्दा पनि माथि उहाँको व्यक्तित्व साहित्यकै हो ।साहित्यिक पत्रकारिताकै हाे ।”

वि.सं. १९९४ चैत २२ गते रामेछापमा जन्मिएका शर्मा ५० वर्षदेखि प्रकाशित ‘अभिव्यक्ति’ साहित्यिक द्वैमासिकका संस्थापक प्रधानसम्पादक हुन्  । वि.सं २०२७ सालमा पहिलो अङ्क प्रकाशन भएको ‘अभिव्यक्ति’ पत्रिका आजपर्यन्त प्रकाशन गरिरहेका छन् । यो पत्रिका एक प्रकारले उनको जीवनको प्रतीक बनेको छ ।

शर्माका ‘महापुरुष’ र ‘दिवास्वप्न’ उपन्यास कृति, ‘पीपलको बोटमुनि’ र ‘एकान्तका आफन्तहरू’ कथासङ्ग्रह प्रकाशित छन् । शर्माद्वारा सम्पादित ‘अभिव्यक्ति’ पत्रिका हालसम्म २ सय ८ अङ्क प्रकाशित भइसकेकाे छ । शर्मा साहित्यिक पत्रकार संघका वर्तमान् अध्यक्षसमेत हुन् ।