Chovar Blues Mobile Size

१. निर्मोही व्यासको भावुकताको सीमा

निर्मोही व्यास

यदि ‘पत्याउनूस्–नपत्याउनूस्’ स्तम्भको नियमित पाठक हुनुहुन्छ भने निर्मोही व्यासको भावुकताबारे तपाईँलाई थाहै छ । त्यतातिर लागिनँ ।

मधेश आन्दोलनको समय थियो । बारा जिल्लास्थित कलैयामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिक थियो । भावुक व्यास कलैयाकै स्थानीय, तर त्यस समय काठमाडौंमै थिए । आन्दोलनकै क्रममा आन्दोलनकारीले देवकोटाको सालिक फुटाए ।

भन्नु होला, सालिकहरु त कति तोडिए कति फोडिए – कुनै नौलो कुरा भयो र ! पख्नुहोस्, म नौलो कुरै भन्दैछु ।

निर्मोही व्यासले सालिक तोडिएको कुरा थाहा पाए । साथमा अमर त्यागीलगायतलाई लिएर उनी तुरुन्तै कलैया पुगे । सालिकको टाउकोलाई एउटा रुमालमा पोको पारे । व्यासले त्यहीँ सबैको अघि कसमै खाए – ‘‘मेरो घर–वास सबै यहीँ छ । तर जहाँ मेरो महाकविको टाउको छिनालिन्छ, त्यो ठाउँमा आजदेखि म बस्दिनँ ।’’

र, काठमाडौं फर्किए ।

देवकोटाको सालिकलाई लिएर निर्मोही व्यास संवेदनाको गहिराइमा डुबे । कलैयामा रहेको घर र जमिन त्यसैबेला बेचे, कैडीको भाउमा । र, स्थायी रूपमा काठमाडौं नै बस्न थाले ।

अँ, साहित्यकार निर्मोही व्यासभन्दा भावुक र संवेदनशील अर्को कुनै प्राणी यो जगत्मा देख्नु–भेट्नु भएको छ भने स्तम्भकारलाई अवश्यै खबर गर्नुहोला ।

===

१. देवकोटाको जुत्ता

रोचक घिमिरे

महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यका सबैभन्दा बृहत् ‘मिथकीय पात्र’ बनिसकेका छन् । तर स्तम्भकार यहाँ देवकोटालाई लिएर मिथकीय कुरा गर्दै छैन । यो वास्तविकताको कुरा हो । देवकोटाको जुत्ताको कुरा हो । ‘रचना’का सम्पादक रोचक घिमिरेसँग जोडिएको किस्सा हो ।

देवकोटाको जन्म जयन्ती (लक्ष्मी जयन्ती) मिति होइन, तिथिअनुसार प्रत्येक वर्ष लक्ष्मी पूजाका दिन मनाइन्छ, यो तपाईंलाई पनि थाहा भएकै कुरो हो । तर म यहाँ देवकोटाको जुत्ताको कुरा गर्दैछु, जसलाई लक्ष्मी पूजाका दिन रोचक घिमिरेले पुज्ने गर्थे । यो तपाईंलाई थाहा नभएको पनि हुन सक्छ !

अब चुरो कुरोतिर लागौं –

देवकोटालगायत धेरै कवि–साहित्यकारहरुको मण्डली घिमिरे निवासमा जम्ने गथ्र्यो । एकपटक, मण्डलीमै आएका बेला देवकोटाको जुत्ताको तलुवा खुस्किएछ, र चप्पल बनेछ । त्यो अवस्थाको जुत्ता लगाएर महाकविलाई पठाउने कुरा भएन । रोचकका बुबा पण्डित सोमनाथ घिमिरे व्यास*ले नयाँ जुत्ता दिएर देवकोटालाई पठाएछन् । र, तलुवा फुस्किएको जुत्ताचाहिँ रोचकले सुरक्षित राखेछन् ।

कुरा जुत्ताको मात्र छैन, लक्ष्मी पूजामा पुजेको पनि छ । नबिर्सर्नु है !

अँ, त्यसको केही समयमा देवकोटाको देहान्त भए । देवकोटाका नाममा रोचकसँग उही तलुवा फुस्किएर जुत्ता रह्यो । उनलाई लाग्यो – राम वनवास गएपछि भरतले सिंहासनमा रामको खराउ राखेर राज्य चलाएका थिए, अब म देवकोटाको जुत्तालाई सिंहासनमा राखेर लक्ष्मी जयन्ती मनाउँछु ।

रोचकका भाइहरुले पनि उनलाई समर्थन गरे । कारण, रोचकको परिवारमा महाकविप्रति असिम श्रद्धा भाव थियो । र, उनले ६–७ वर्षसम्म निरन्तर देवकोटाको तलुवा फुस्किएको जुत्तालाई पुजेर लक्ष्मी पूजाका दिन ‘लक्ष्मी जयन्ती’ मनाए ।

देवकोटाको जुत्ताको कथा सकियो । तर, रोचकमाथि ‘चर्चा’ पाउनका लागि यसो गरेको भन्ने आरोप पनि लागेको छ । यो सम्पूर्ण प्रसङ्गको उल्लेख गर्दै अनलाइन खबरमा अश्विनी कोइरालासँगको एक अन्तर्वार्तामा रोचकले भनेका छन्, ‘उमेर सानो भएका कारण प्रचारका लागि यसो गरेको भन्नु चाहिँ अन्याय नै हो ।’

===

३. कथाकार सन्तोष भट्टराई र बागमतीको पुल

सन्तोष भट्टराई

कथाकार सन्तोष भट्टराईको ‘रक्सी महात्म्य’का विषयमा ‘पत्याउनूस्–नपत्याउनूस्’को पहिलो अङ्कमै उल्लेख गरिसकिएको छ । तर एउटा अङ्कको एउटै प्रसङ्गबाट उनको ‘रक्सी महात्म्य’ सकिनेवाला छैन ।

कथाकार भट्टराई बढो पियक्कड थिए, अगाडि नै भनिसकिएको छ । उनी गोरखापत्रका एक नम्बर प्रूफ रिडर थिए, फेरि फेरि भन्नु परोइन । बरु, सिधै प्रसङ्गतिरै लागौँ ।

हुन त कथाकार भट्टराई पिउनका लागि साँझ वा रात पर्खने स्वभावका थिएनन्, तर यो मध्यरातको कुरा हो – कुनै समयको । कतैबाट पिउनु रक्सी पिएर भट्टराई घर फर्किदै थिए । साथमा, उति नै रक्सी पिएका चार–पाँच साथीहरू पनि ।

खास कुरो बागमती खोलाको कुनै पुलमाथिको हो । भट्टराईजीलाई खै के सुरु चल्यो कुन्नि ? उनले साथीहरुलाई आफूलाई खोलामा फल्दिन चुनौति दिए ।

– साँच्चै फाल्दिऊँ त ! – सँगैका साथीहरु रक्सीको मातसँगै जोसिए ।

– साँच्चै फाल्द्याओ । – भट्टराईजी के कम !

र, सँगै रक्सी पिएका साथीहरुले उनलाई बागमतीमा ढुल्मुलाइदिए ।

पत्याउनु भो ! भने नि, पत्याउने वा नपत्याउने अधिकार सधैं झैं तपाईंसँगै सुरक्षित छ ।