विराटनगर / विराटनगरका युवाकवि दीपक शम्चू चितवनमा पुरस्कृत भएका छन् ।

चितवन साहित्य परिषद्ले हरेक वर्ष प्रदान गर्दै आइरहेको ‘चिसाप कृष्णकृष्णा साहित्य पुरस्कार–२०७७’ आप्पाको अनुहार कवितासङ्ग्रहका लागि शम्चूलाई प्रदान गरिएको हो ।

१३८ औं लेखनाथ जयन्तीको अवसरमा शनिबार चितवन साहित्य परिषद्मा आयोजित कार्यक्रममा नगद १५ हजार ४५ सहित सम्मानपत्र प्रदान गरिएको थियो ।

त्यस्तै बझाङका कवि सोझो गाउँलेलाई मरुभूमिमा हिमपात कवितासङ्ग्रह ‘चिसाप कृष्णकुमारी गुरुङ साहित्य पुरस्कार–२०७७’ प्रदान गरिएको छ ।

गाउँलेलाई पनि नगद १५ हजार ४५ र सम्मानपत्र प्रदान गरिएको थियो ।

दुवै स्रष्टालाई कार्यक्रमका प्रमुख अतिथि गोविन्दराज विनोदी र चितवन साहित्य परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफलले दोसल्ला ओढाएर सम्मानपत्र र नगद प्रदान गरेका थिए ।

सम्मानपछि सम्मानित स्रस्टाका कृतिमाथि समीक्षात्मक टिप्पणी भएको थियो ।

सोझो गाउँलेको पुस्तक ‘मरुभूमिमा हिमपात’माथि कवि गणेश श्रमणले टिप्पणी गर्नुभयो ।

त्यस्तै कवि दीपक शम्चूको ‘अनुहारमा आप्पा’ कवितासङ्ग्रहमाथि समालोचक पूर्णप्रसाद अधिकारीले टिप्पणी गर्नुभयो ।