चितवन साहित्य परिषद्को आयोजना र खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानको प्रायोजनमा २०७७ सालको चितवन साहित्य परिषद् खेमलाल साहित्य पुरस्कार निबन्धकार रामबाबु घिमिरेलाई प्रदान गर्ने निर्णय गरिएको छ ।
घिमिरेको निबन्ध ‘केन्द्र र परिधि’ कृति र निबन्धकार घिमिरेको साहित्यिक व्यक्तित्वलाई मूल्यांकन गर्दै उक्त पुरस्कार दिने निर्णय भएको चितवन साहित्य परिषद्ले जनाएको छ । सामाजिक एवं साहित्यिक व्यक्तित्व जीवा लामिछानेद्वारा आमा–बुवाको नाममा स्थापना गरेको संस्थामार्फत ५० हजार ४५ रुपैयाँको उक्त पुरस्कार दिने निर्णय भएको जनाइएको छ ।
परिषदको नारायणगढस्थित कार्यालयमा बसेको बैठकले प्रतिभा पुरस्कार जापानमा बसेर नेपाली साहित्यमा विशिष्ट योगदान गर्ने प्रकाश पौडेल ‘माइला’लाई दिने निर्णय गरेको छ । नेपाली साहित्यमा हाइकुमा विशेष योगदान दिएको तथा अन्तर्राष्ट्रियरुपमा नेपाली साहित्यलाई उचाइमा पुर्याएको कारण पौडेललाई १५ हजार ४५ रुपैयाँ बराबारको प्रतिभा पुरस्कार दिने निर्णय गरेको हो ।
यो संस्थाले गोविन्दराज विनोदीको ‘शूर्पणखा’ र बलराम अधिकारीको ‘इरेजर’लाई पुरस्कृत गरेको थियो । त्यसैगरी सीमा आभासको ‘म स्त्री अर्थात् आइमाई’, केशवराज आमोदीको ‘उषा अनुरुद्द’ र भूपिन खड्काको ‘मैदारो’ पनि पुरस्कृत भैसकेका छन् ।
यी पुरस्कार आउँदो भानु जयन्तीमा प्रदान गरिने नियमित तालिका भए पनि लकडाउनका कारण अहिलेको अवस्था प्रतिकूल भएको र अवस्था अनुकूल हुनेबित्तिकै प्रदान गरिने परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफलले साहित्यपोस्टलाई बताएका छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।