अजित उत्सवको कवितासङ्ग्रह “आकाशगङ्गाको किनार” पोखरामा एक कार्यक्रमका बिच विमोचन गरिएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठ, प्राज्ञ रमेश श्रेष्ठ र अन्य अतिथिहरूले संयुक्त रूपमा कवितासङ्ग्रहको विमोचन गर्नुभएको हो ।

विमोचनपछि बोल्दै पूर्वकुलपति सरुभक्त श्रेष्ठले कविता लेखनमा युवाहरू जुर्मुराएको देखेर आफूलाई खुसी लागेको बताउँदै यस कवितासङ्ग्रहले कवि अजित उत्सवलाई कविको रूपमा साहित्यमा स्थापित गराउने विश्वास व्यक्त गर्नुभयो । अर्का कवि एवम् प्राज्ञ रमेश श्रेष्ठले यस सङ्ग्रहणीय कृतिको लागि बधाई दिँदै सङ्ग्रहभित्रका कविताले आफू प्रभावित भएको बताउनुभयो ।

विमोचित पुस्तकको समीक्षा युवा कवि एवम् समालोचक सञ्जीव पौडेलले गर्नुभएको थियो भने उपप्राध्यापक परशुराम कोइरालाले कवि अजित उत्सवको जीवनी र व्यक्तित्वमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा लघुकथा समाज प्रदेश नम्बर १ की अध्यक्ष ममता मृदुल, पोखरेली युवा साहित्यकार दीपक समीप, चर्चित गजलकार आवाज शर्मा, चर्चित कवि शिव त्रिपाठी, पोखरेली युवा साँस्कृतिक परिवारका अध्यक्ष मोति भुजेल, शुभप्रभात साहित्य पुन्जकी अध्यक्ष मनु शर्मालगायत चार दर्जन बढी साहित्यकारको उपस्थिति रहेको थियो । युवा कवि रोशन तिमिल्सिनाले विमोचित कवितासङ्ग्रहभित्रको कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन सगरमाथा साहित्य प्रतिष्ठान गण्डकी शाखा सचिव कवि लिली अधिकारीले गर्नुभएको थियो ।

पुस्तक विमोचन कार्यक्रम सगरमाथा साहित्य प्रतिष्ठानले आयोजना गरेको हो । कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानकी गण्डकी शाखा उपाध्यक्ष छन्दिका त्रिपाठीले राख्नुभएको थियो ।

बिएन पुस्तक संसार काठमाडौँले प्रकाशनमा ल्याएको कवि अजित उत्सवको यस कवितासङ्ग्रहमा जम्मा ५६ वटा कविता संग्रहित छन् । पुस्तकको बिक्री मूल्य २ सय पचास रहेको छ ।