अजित उत्सव

अजित उत्सव

मलाई हानिएको हुँदै होइन
मलाई फालिएको हुँदै होइन
म आफैँ गएको हुँ श्रीमान् !
मलाई दस वर्ष लगाएका खुट्टा खोज्दै ।

म उही जुत्ता हुँ श्रीमान् !
जो दस वर्ष खुट्टाको कवच बनेर
जङ्गलमा लडिरह्यो
राता मान्छेहरूको रक्षक बनेर
परेड खेलिरह्यो
सुनिरह्यो वर्गसंघर्षको चर्को भाषण
दौडिरह्यो युद्धको मैदानमा
खुट्टाहरूलाई साथ दिइरह्यो निरन्तर निरन्तर ।

जब सत्ताको रातो कार्पेटले गरियो स्वागत
मलाई जंगलमै फ्याँकेर जोर खुट्टाहरू
पुगे सिंहदरबार, बालुवाटार र शीतल निवासमा

श्रीमान् !
म तिनै पुराना खुट्टा खोज्दै पुगेको हुँ काठमाडौँ
चहारेको हुँ नयाँ राजाहरूका दरबार
तर फाटेको जुत्ता न परेँ
कतै प्रवेश पास नपाएपछि पुगेको हुँ प्रज्ञा भवन
जब देखेँ मेरा ख्वामितलाई
नयाँ जुत्तामा, नयाँ कोटमा सिँगारिएको !
मलाई पनि निकै रहर लाग्यो आफ्नो ख्वामितलाई
एकचोटि मात्रै भए पनि अनुहारमा चुम्न ।

श्रीमान् !
म त जंगलमै छाडिएको जाबो जुत्ता
कसले फाल्थ्यो र मलाई ?
कसले लैजान्थ्यो र मलाई ?
म आफैँ गएको हुँ जंगलको बाटो हुँदै काठमाडौँ
नयाँ राजालाई प्रेमको मीठो उपहार दिन ।

मैले प्रेम गरेँ
उहाँले अपमान सम्झनु भो !

श्रीमान् ! दोषी मैँ हुँ
किनकि जुत्ताले त खुट्टा ताक्नुपर्थ्यो
मैले त सिधै नयाँ राजाहरूको अनुहार पो ताकेँ !