साहित्यकार डा.तुलसी आचार्यद्वारा लिखित उपन्यास मोचनको विमोचन भएको छ। उपन्यासको समालोचक तथा कवि महेश पौड्याल, प्राध्यापक ज्ञानु अधिकारी, आख्यानकार तथा सम्पादक राजन मुकारुङ र सञ्चारकर्मी टीकाराम यात्रीले संयुक्त रुपमा विमोचन गर्नुभएको हो ।

विमोचन कार्यक्रममा उपन्यासले उजागर गरेका वा देखाउन खोजेको विविध पक्षबारे छलफल भएको थियो । समसामायिकता र पुरुष मनोविज्ञानमा आधारित यस उपन्यासले धेरैको मन जित्नेमा आफू विश्वस्त रहेको उपन्यासकार डा. आचार्यले बताउनुभयो ।

न्यून पात्रहरूको उपस्थापनमा जीवन भोगाइका अनेक आयाम अभिरेखित यो उपन्यासले जीवनका अक्करिला बाटा र सम्बन्धका अनपेक्षित मोडलाई सादृश्य गराउँदै आशा र निराशाजन्य अभिव्यक्ति एकसाथ मुखरित गरेको छ । नेपाल, अमेरिकाको परिवेश र जीवन पद्धतिको रोचक वर्णनले कथानक जीवन्त बनेको मात्र छैन पाठकलाई नयाँ खुराक समेत पस्किएको डा. आचार्यको भनाइ छ ।

लेखक आचार्यको यो नेपाली भाषाको पहिलो उपन्यास हो भने अंग्रेजी उपन्यास “रनिङ फ्रम दि ड्रिम्ल्याण्ड” पछिको दोस्रो हो । उहाँको अंग्रेजी गैर आख्यान पुस्तक “सेक्स, जेण्डर र डिसेबिलिटी” पुस्तक लण्डनको प्रकाशन रुट्लेजले विश्व बजारमा ल्याइसकेको छ । उपन्यासलाई फिनिक्स बुक्सले प्रकाशन गरेको हो ।