
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ ले बडादसैंको अवसरमा आयोजना चित्रकला प्रदर्शनी गर्दै शुभकामना आदान प्रदान गरेको छ ।
वीरगन्जमा आयोजना गरिएको सो कार्यक्रममा नेपालका विभिन्न मौलिकता झल्किने स्थानीय कला, संस्कृतिका आकर्षक चित्रकला प्रदर्शनीमा राखिएको थियो ।
वीरगन्जका चित्रकारद्वय अजमत अली अन्सारी र मुकेश महतो नुनियाँले बनाएका चित्रकलाहरू कार्यक्रम स्थलमा प्रदर्शन गरिएका थिए ।
शुभकामना आदानप्रदान कार्यक्रममा राखिएका स्थानीय कला संस्कृति तथा रमणीय स्थानहरूको चित्र प्रदर्शनीले थप आकर्षण बढ़ाएको थियो ।
ललितकला विधामा प्रादेशिक प्रतिभा पुरस्कारबाट पुरस्कृत मुकेशको चित्रकला र अजमत अली अन्सारीको चित्रकलाले आमन्त्रित सबै अतिथिको ध्यानाकर्षण गराएको थियो ।
तराई मधेशका कला संस्कृतिको सम्वर्द्धन, संरक्षण र कलाप्रति आम नागरिकहरुको झुकाव बढाई कलाकारहरूको मनोबल उच्च राख्ने यस शुभकामना कार्यक्रमको उद्देश्य रहेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष गणेश लाठले बताउनुभयो ।
साहित्य र कलामा विशेष रुचि राख्ने र साहित्य क्षेत्रमा स्थापित भइसक्नु भएका अध्यक्ष लाठले कलाकारहरूको चित्रकला आम चासोको विषय हुनुपर्नेमा सो अवसरमा बताउनुभयो ।
औपचारिक कार्यक्रमहरू सधैँ भइरहने कार्यक्रम भएको र महत्त्वपूर्ण पर्वहरूमा सांस्कृतिक महत्त्वलाई अझ बढाउन प्रेरित गर्ने र कलाकारहरूको पनि पहिचानलाई स्थापित गर्नुका साथै विभिन्न मौलिक कला, संस्कृति र स्थलहरूको समेत जानकारी चित्रकला प्रदर्शनीबाट लिन सकिने उहाँले बताउनुभयो ।
चित्रकार मुकेश महतोले बनाएका चित्रमा फेब्रिक र जलरंगद्वारा हिमाल पहाड़का मनोरम दृश्य र वीरगञ्जको मुटु घण्टाघर र घडिअर्वा पोखरीको सुन्दर चित्र बनाइएको छ ।
त्यस्तै कलाकार अजमत अली अन्सारीले जल रंग तथा फेब्रिक, रंगको संयोजनबाट बनाएको विभिन्न मानवीय संवेदना, पीड़ा हर्षोउल्लास, प्रेम र खास गरी लोप हुँदै गएको भोजपुरी संस्कृतिका चित्रहरू प्रदर्शनीमा राखिएका थिए ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ जेष्ठ २०८३, शुक्रबार 










