राष्ट्रिय पुस्तकालयलाई पुरानो बसपार्कको निर्माणाधीन भवनमा सार्न माग गर्दै अभियन्ताहरूले राष्ट्रपति विद्या भण्डारी समक्ष ज्ञापनपत्र बुझाएका छन् । भुइँचालोपछि पुस्तकालय भवन पुनर्निर्माण हुन नसकेका बेला अभियन्ताहरूले हाल बनिरहेको बसपार्कको माथिल्लो तल्लामा पुस्तकालय सार्न मंगलबार राष्ट्रपति भण्डारीलाई भेटेर ज्ञापनपत्र बुझाएका हुन् ।
‘राष्ट्रिय पुस्तकालय बन्न नसक्दा ऐतिहासिक कागजात र पुराना किताबहरू बोरामा कोचेर राखिएका छन् । ती नासिँदै जाने अवस्थामा छन्,’ ज्ञापन पत्रमा लेखिएको छ, ‘पुराना ग्रन्थ र ऐतिहासिक दस्तावेज नासिँदै जाँदा ज्ञानको स्रोत नै सुक्ने जोखिम छ ।’
पुस्तकालय सार्ने विषयमा राष्ट्रपति भण्डारीले पनि चासो देखाउनुभएकाे छ । उहाँले भन्नुभयो, “दयनीय अवस्थामा रहेका पुस्तकलाई अस्थायी रूपले सुरक्षित राख्ने गरी तत्काल कुनै स्थान खोज्न पहल गर्नुपर्छ । पुरानो बसपार्कमा भइरहेको निर्माणबारे मैले पटकपटक सुझाव दिएको भए पनि हालसम्म कुनै खास उपलब्धी हुन नसकेको छैन ।”
उक्त निर्माणाधीन भवनलाई शैक्षिक केन्द्रका रूपमा विकास गर्न सकिने वा नसकिनेबारे केन्द्रीय तथा स्थानीय सरकारसँग छलफल गर्नेसमेत भण्डारीले बताउनुभयो ।
राष्ट्रिय पुस्तकालयको सङ्ग्रहमा करिब तीन सय वर्ष पुराना हस्तलिखित ग्रन्थ र महत्वपूर्ण कागजात छन् । संरक्षण अभावमा तीमध्ये धेरै ग्रन्थ र कागजात ढुसी र कीराले खान थालिसकेका छन् । तिनको संरक्षण गर्न अहिले बनिरहेको बसपार्कको माथिल्लो तल्ला उचित हुने भनेर अभियन्ताहरूले राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाएका हुन् ।
भुइँतलामा बसपार्क र माथिल्लो तल्लामा पुस्तकालय राख्दा त्यसले बसपार्कको शोभा बढ्ने उनीहरूले औंल्याएका छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

