अङ्ग्रेजी साहित्यमा एमए तथा व्यवस्थापन विषयमा एमबिएसमेत गरेका इन्जिनियर विक्रमभक्त जोशीको पहिलो पुस्तक साहित्यपोस्ट (इ) दैनिकले प्रकाशन गर्ने भएको छ । साहित्यपोस्टका प्रधानसम्पादक एवं व्यवस्थापक अश्विनी कोइराला एवं साहित्यकार विक्रमभक्त जोशीबीच साउन १७ गते साहित्यपोस्टको कार्यालय अनामनगरमा यससम्बन्धी सम्झौता भएको हो ।
सम्झौताअनुसार विक्रमभक्त जोशीका कम्तिमा १७ थान निबन्धात्मक कथालाई नयाँ विधाको पुस्तकको रुपमा साहित्यपोस्टले प्रकाशन गर्न लागेको हो । पुस्तक ६ महिनाभित्र बजारमा आउने जनाइएको छ ।
‘साहित्यपोस्ट टिमले विक्रमभक्तका कथामा नयाँपन पायो, यही नयाँपनले नै यो पुस्तक प्रकाशन गर्ने प्रेरणा दिएको हो,’ सम्झौतापछि प्रधानसम्पादक अश्विनी कोइरालाले भन्नुभयो, ‘साहित्यपोस्ट दैनिकको उद्देश्य नै नेपाली साहित्यमा नयाँपन ल्याउनु हो । नयाँ प्रतिभालाई ठाउँ दिनु हो र वर्षका उत्कृष्ट पहिलो पुस्तकलाई पुरस्कृत गर्नु हो ।’
बैँकरसमेत रहेका ललितपुरका विक्रमभक्त जोशी केही वर्ष यता इन्जिनियरिङ् र बैँकिङ् क्षेत्र छाडेर साहित्यमा लागेका व्यक्ति हुन् । उनका दर्जन जति कथा विभिन्न अनलाइन पत्रिकाहरुमा प्रकाशन भएका छन् ।
‘केही वर्ष यता म सबै काम छाडेर स्वान्त सुखायका लागि साहित्यमा लागिरहेको थिएँ । साहित्यपोस्टमा केही कथा पठाउनेबित्तिकै प्रधानसम्पादक अश्विनी कोइरालाले मसँग सम्पर्क राखेर पुस्तक प्रकाशनको प्रस्ताव राख्नुभयो । यो मेरालागि आफैँमा ठूलो पुरस्कार थियो,’ सम्झौतापछि लेखक विक्रमभक्त जोशीले साहित्यपोस्टसँग भन्नुभयो, ‘पुस्तकलाई छ महिनाभित्रै बजारमा ल्याइसक्ने गरी सम्झौता हुँदा मेरो खुसीको कुनै सीमा छैन ।’
साहित्यपोस्टले प्रकाशनको पहिलो सय दिनको सफलताको सन्देशमा पुस्तक प्रकाशनमा पनि हात हाल्ने घोषणा गरेको थियो । सोही नीतिअनुसार पत्रिकाको पहिलो वार्षिक उत्सवका अवसरमा नमिता दवाडीको कविता सङ्ग्रह ‘जीवन नदीको किनारै किनार’, पूर्ण ओलीको कथा संग्रह ‘यालमाया’ प्रकाशन गरेको थियो । त्यसैगरी बर्माका साहित्यकार भीम पाण्डेको पुस्तक ‘छन्द मालिका’ पनि साहित्यपोस्टको प्रकाशन हो । अहिले डा. वीरेन्द्र केसीको ‘आमाको काखमा दुःखेको देश’ र खगेन्द्र कोइरालाको ‘उत्तराद्र्ध’ कविता संग्रहरु बजारमा पुग्ने तयारीमा छन् । विक्रमभक्त जोशीको कथा संग्रह साहित्यपोस्टको छैटौँ कृतिका रुमपा प्रकाशन हुने जनाइएको छ ।
‘हामी नयाँ लेखकमा प्रतिभा देख्यौँ भने उहाँहरुलाई सम्पर्क गरेर तपाईँ पनि लेखक दुनियाँमा प्रवेश गर्न सक्नुहुन्छ भन्ने सपना देखाउँछौँ । यो सपनाले नै उहाँहरुलाई अझ राम्रो लेख्ने प्रेरणा दिन्छ । पहिलो कृतिलाई पुरस्कार दिने चलनको प्रारम्भ गर्नुको पछाडि पनि यहि उद्देश्य हो,’ कोइरालाले भन्नुभयो, ‘साहित्यिक पत्रिकाले लेखक मात्रै होइन, पुस्तक पनि जन्माउनु पर्छ जसले पत्रिकालाई पनि बचाउन मद्दत गर्न सक्छ ।’
कोइरालाका अनुसार विक्रमभक्त जोशीको पुस्तकको नाम जुरिसकेको छैन तर उनका कथामा निबन्धात्मक शैली भएका कारण पुस्तकलाई ‘निकथा’ नामक विधाका रुपमा बजारमा ल्याउने तयारी गरिएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।