संयुक्त अरब इमिरेट्सको दुबईमा साहित्यकार बिक्रम भक्त जोशी ‘एनएल अन्तर्राष्ट्रिय विशिष्ट स्रष्टा सम्मान – दुबई २०२४’ द्वारा सम्मानित भएका छन् । न्यूजलाइन्स मिडियाद्वारा दुबईको हिल्टन होटेलमा आयोजना भएको ‘एनएल इन्टरनेशनल अवार्ड – दुबई २०२४’ मा जोशीले उक्त सम्मान प्राप्त गरेका हुन् ।
नेपाली साहित्यमा कथा, नियात्रा र निबन्धको फ्युजनका रूपमा निकथा विधा शुरु गर्ने श्रेय उनमा जान्छ । उनको निकथासङ्ग्रह ‘चोभार ब्लुज’ साहित्यपोस्टबाट २०७९ मा प्रकाशित भएको हो । उक्त पुस्तक ‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार २०७९’ को उत्कृष्ट तीनमा पर्न सफल कृति थियो । साथै, यो पुस्तक नारी स्रष्टा समाजद्वारा २०७९ को वर्षपुस्तक घोषित भएको थियो ।
जोशीको ‘बेखामान र राक्षस’ बालचित्रकथा पनि प्रकाशित छ । यसबाहेक उनका फुटकर निकथा, कविता, रचनाहरु अनलाइन एवं छापा पत्रपत्रिकामा प्रकाशित छन् ।
उक्त समारोहमा जोशीका साथमा लक्ष्मीनारायण सिंह सुवाल तथा प्रकाश कुमार कुइँकेललाई ‘एनएल अन्तर्राष्ट्रिय लाइफटाइम अचिभमेन्ट अवार्ड – दुबई २०२४’ बाट सम्मानित गरियो । यस्तै, इन्टरकम्युनिकेशन अवार्डबाट धर्मराज बज्राचार्य, पावर अफ एजुकेशन अवार्डबाट निर्मल बज्राचार्य, जर्नालिज्म अवार्डबाट पत्रकार श्याम श्रेष्ठ, पावर अफ वुमन अवार्डबाट रमादेवी सुवाल, बिन्जु जोशी र सुनिता कायस्थ लगायत कृषिउद्यमी अष्ट तामाङ (छेसाङ), शिक्षाउद्यमी आङ्छिरिङ शेर्पा आदि सम्मानित भएका छन् ।
विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान गर्दै आएका व्यक्तित्वहरुलाई कदर गर्दै सम्मान कार्यक्रम आयोजना गरिएको हो । एनआरएन प्यासिफिकका वरिष्ठ अभियन्ता गणेश केसी तथा एनआरएन दुबईका अध्यक्ष विकास शाहीको उपस्थितिमा न्यूजलाइन्स मिडियाका अध्यक्ष राजु भट्टले समारोहको सभापतित्व गरेका थिए ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 










