साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

इन्जिनियर बिक्रमको निकथा यात्रा

चाहेको भए एउटा फर्म/कन्सल्टेन्सी खोलेर प्रशस्तै पैसा कमाएर बस्न सक्थेँ । तर त्यो मेरो रुचिको क्षेत्र थिएन । मेरो पहिलो रुचिको क्षेत्र साहित्यले बोलाइरहेको थियो । त्यसैले सबै छोडेर आफ्नो रुचिको खेल खेल्न जीवनको दोस्रो पारीमा आइपुगेँ । - बिक्रम भक्त जोशी

Chovar Blues Mobile Size

“चोभार ब्लुज” सार्वजनिक भएसँगै बिक्रम भक्त जोशीको परिचय बद्लिएको छ । इन्जिनियर (सिभिल) तथा बैंकर (आईटी) को पहिचान बनाएका बिक्रमको परिचयमा कथाकार थपिएको छ । तर उनी कथाकार बन्नुमा यात्राको भूमिका विशेष छ । अझ भनौँ यात्राले नै बिक्रमलाई (नि)कथाकार बनाएको छ ।

बिक्रम रहरले मात्र साहित्यमा आएका होइनन् । न त सिर्फ नाम कमाउने अभिलाषा बोकी मन बहलाउन नै आएका हुन । उनले जसरी इन्जिनिएर र बैंकर भएर पहिलो इनिङ खेले, त्यसैगरी पूर्ण तयारीका साथ, अध्ययनका साथ साहित्यमा आएका हुन् । साहित्य कर्मलाई व्यवसायिक रुपमै अघि बढाउने उदेश्यका साथ ५० को उमेरमा आएर उनले अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गरेका छन्, इन्दिरा गान्धी युनिभर्सिटीबाट । यसबाटै अड्कल काट्न सकिन्छ, साहित्यको मैदानमा उनी कीर्तिमानी पारी खेल्ने उदेश्यले आएका छन् ।

“म हरियाली प्रेमी व्यक्ति हुँ, यसर्थ मलाई हिँड्न मन पर्छ ।”, बिक्रम भन्छन्, “मलाई फूलहरु फुलेको मन पर्छ, बिहानको मन्द हावामा मिसिएको फूल, माटो र बाटो को वास्ना मन पर्छ । हिँड्दा देखिने दृश्य र भेटिने पात्रहरु नै मेरा कथाका स्रोत हुन् ।”

साहित्य र बुबाः

बिक्रम भक्त जोशी र चोभार ब्लुज परिपूर भए पनि एकअर्कामा स्वतन्त्र छन् । बिक्रम भक्तलाई चिन्न चोभार ब्लुज पढ्नै पर्छ भन्ने छैन । चोभार ब्लुज पढ्न बिक्रम भक्तलाई चिन्नै पर्छ भन्ने पनि छैन । तर बिक्रमको साहित्यकर्म बुझ्न भने उनका पिता प्रभु भक्त जोशीबारे जान्न आवश्यक छ ।

sagarmani mobile size

बिक्रम सात कक्षामा पढ्थे, उनी लगातार खोकीका कारणले ओछ्यानै परे । त्यतिबेला उनलाई बुबाले एक बालकथाको पुस्तक ल्याएर दिए । त्यो पुस्तक उनले खोक्दै–खोक्दै पढेर सके । त्यसपछि उनको किताब पढ्ने क्रम बढ्यो । बुबाले प्रायः घर फर्किदा पुस्तक ल्याइदिन्थे । उनलाई बुबाको घर आगमनको भन्दा बढी प्रतीक्षा पुस्तकको हुन थालेको थियो । यसरी बिक्रममा साहित्यको बिज बुबाले रोपिदिए ।

प्रभु भक्त साहित्यप्रति झुकाव भएका व्यक्ति हुन् । उनी बेलामैका लेख्ने पनि गर्थे । तर पारिवारिक तथा सामाजिक कारणले गर्दा उनी सार्वजनिक रुपमा साहित्य लेखनमा सक्रिय हुन् पाएनन् । तर बिक्रमले सानै उमेर बुबाकै माध्यमबाट साहित्यको रसस्वादन गर्ने अवसर पाए । त्यहीँ बुबाले पिलाएको साहित्यको स्वादले उनलाई अन्ततः साहित्य लेखनमा ल्याएरै छोड्यो । बिक्रम भन्छन्, “साहित्यमा गहिरो रुचि हुँदा हुँदै पनि बुबा पुस्तकै लेखेर वा पत्रपत्रिकामा रचनाहरु छपाएर मैदानमा आउन सक्नुभएन । उहाँको साहित्यप्रतिको रुचिगत सपना अधुरै रह्यो । भनिन्छ – आमाबुबाले आफ्ना अधुरा सपना सन्तानमार्फत पूरा भएको हेर्न चाहन्छन् । मैले पुस्तकाकार प्रकाशनमा ल्याउँदा मभन्दा बढ्ता खुसी बुबा हुनुहुन्छ – यो मेरो अहिलेसम्मकै बृहत् आयतनको सन्तुष्टि हो ।”

बिक्रमका बुबाले कविता, कथा तथा नाटकहरु लेखेका छन्, जसको पाण्डुलिपि अहिले पनि सुरक्षित छन् । तर कुनै माध्यममा पनि प्रकाशनमा भने आएका छैनन् ।

बुढामावलीमा, खोपामा नेपाल, नेपाली तथा हिन्दी भाषाका कथाका प्रशस्त किताबहरु राखिएका हुन्थे । बुढामावली जानुभन्दा, ती किताबहरु सुम्सुम्याउन, पढ्न बिक्रम लालायीत रहन्थेँ ।

पहिले रुचि साहित्य भएका विक्रम जीवनको दोस्रो पारी खेल्न साहित्यकै मैदानमा उत्रिएका छन् । उनले आफ्नो पहिलो इनिङ सिभिल इन्जिनियरका रुपमा खेल । बैंकर पनि बने । तर उनको रुचि साहित्य थियो । सामाजिक तथा व्यवहारिक कारणले उनले पहिलो पारीमा साहित्य–मैदानमा उत्रिन पाएनन् । सकेनन् । तर जब उमेरले आधा शताब्दीलाई छुन लाग्यो, तब अन्यत्र उनको मन अडिन सकेन । फलस्वरुप उनले व्यवसायिक जीवनबाट अवकाश लिए । अझ भनौँ, इन्जिनियर बिक्रमले इन्जिनियरिङ् छोडे । बैंकर बिक्रमले बैंकिङ छोडे । उनी भन्छन्, “चाहेको भए एउटा फर्म/कन्सल्टेन्सी खोलेर प्रशस्तै पैसा कमाएर बस्न सक्थेँ । तर त्यो मेरो रुचिको क्षेत्र थिएन । मेरो पहिलो रुचिको क्षेत्र साहित्य साहित्यले बोलाइरहेको थियो । त्यसैले सबै छोडेर आफ्नो रुचिको खेल खेल्न जीवनको दोस्रो पारीमा आइपुगेँ ।”

नयाँ ढोका खोल्न पुरानो ढोका बन्द गर्नुपर्ने मान्यता राख्छन् बिक्रम । त्यसैले, इन्जिनियरिङ तथा बैंकिङ क्षेत्रमा जमिरहेका उनले स्वच्छिक अवकाश लिएर साहित्यको ढोका खोलेका छन् । भन्छन्, “अरुहरुले गरिरहनुभएको छ, तर मैले इन्जिनियरिङ तथा बैंकिङ सँगसँगै साहित्यलाई हिँडाउन सकिनँ । जबसम्म म अन्यत्र रहेँ, साहित्य पूर्णरुपमै मबाट टाढा रह्यो । अन्ततः अन्यत्रका सम्पूर्ण ढोकाहरु बन्द गरेँ, र आफ्नो बाँकी जीवन साहित्यमा खर्च गर्ने मनोकांक्षाका साथ आएँ ।”

भनिन्छ, दिनभर चरा जताजता उडे पनि साँझ गुँडमै फर्किन्छ । “अब तपाईँ गुँडमा फर्किएको हो ?” भन्ने प्रश्नमा बिक्रम भन्छन्, “एकदम । एक किसिमले म गुँडमै फर्किएको जस्तो हो । मैले अहिलेसम्म जहाँ जहाँ काम गरेँ त्यसप्रति मलाई कुनै पछुतो छैन, तर इन्जोयको अनुभूति पनि गर्न सकिनँ । अहिले साहित्य क्षेत्रमा चाहिँ पारिवारिक अनुभूत गरिरहेको छु । मेरो लागि साहित्य सीतल छहारी साबित भएको छ । त्यसैले साहित्यिक यात्रालाई म मेरो जीवनको दोस्रो इनिङ भन्न रुचाउँछु । मलाई लाग्छ, पहिलो इनिङ मैले राम्रो खेलेँ । हेरौँ, आफ्नै रुचिले डोर्याएर ल्याएको इनिङ कस्तो हुन्छ ।”

स्टार्ट एट फिप्टी

केही समयअघिमात्र ५० को उमेरमै व्यवसायिक बैंकिङ जीवनबाट अवकाश लिएका बैंकर भुवन दाहालको संस्मरणात्मक पुस्तक “रिटायरमेन्ट एट फिप्टी” प्रकाशनमा आएको छ । उनले पुस्तकमा ५० वर्षको उमेरमै रिटाएरमेन्ट लिनुपर्ने कारणहरुसमेत पुस्तकमा बताएका छन् ।

तर बिक्रमभक्त जोशीले भने ५० कै उमेरमा साहित्य कर्मको सुरुवात गरेका छन् । उनी भन्छन्, “हुन त मैले पनि ५० कै उमेरमा अवकाश लिएको हुँ । फेरि इन्जिनियरिङ तथा बैंकिङ क्षेत्रमा फर्किने कुनै इच्छा नभएका कारण रिटायरमेन्ट एट फिप्टी मेरो जीवनमा पनि लागु भएझैँ लाग्छ । तर सँगै ५० वर्षको उमेरमा मैले साहित्य साधना सुरु गरेँ । उमेरले ५० मा सुरु गरे पनि साहित्य क्षेत्रमा म कलिलै छु । सबै कुरा उमेरकै हिसाबमा चल्न कहाँ सकिन्छ र !”

५० को उमेरसम्म गरेको कामलाई आवश्यकता बताउने बिक्रम ५० वर्षमा सुरु गरेको साहित्य कर्म आफ्नो इच्छा र चाहना भएको बताउँछन् । आवश्यकताको कर्मबाट अवकाश लिएर इच्छाको कर्मका आइपुगेका बिक्रम बाँकी समय इच्छालाई सन्तुष्टिमा बदल्न भरपूरा प्रयास गर्ने बताउँछन् । भन्छन्, “मलाई मेरो ५० अघिको कर्मसँग पछुतो छैन, तर सन्तुष्टि पनि थिएन । अब भने सन्तुष्टिको कर्ममा आइपुगेको छु । बाँकी जीवन यसैमा रमाउँछु, यसैलाई अघि बढाउँछु । यो मेरो मनको आवाज हो ।”

निकथाको कथा – चोभार ब्लुज

भर्खरैमात्र बिक्रमको पहिलो कृति “चोभार ब्लुज” प्रकाशनमा आएको छ । चोभार ब्लुजबाट उनले नेपाली साहित्यमा फरक पहिचान बनाइसकेका छन् – “निकथाकार” । हामीले सुन्दै, भन्दै र लेख्दै आएका साहित्यिक सम्बोधनहरु हुन् – कथाकार, उपन्यासकार, कवि, गीतकार, नियात्राकार, निबन्धकार आदि । यही सिलसिलमा नयाँ नाम सम्बोधन थपिएको छ – निकथाकारका ।

“मैले निकथा भनेर लेखेको होइन, कथा नै लेखेको हुँ । प्रकाशक अश्विनी कोइरालाले मेरा कथाहरुलाई ‘निकथा’ भनेपछि म झसङ्ग भएको थिएँ । मैले लेखेको कथाले निकथाको पहिचान पाउनुको सम्पूर्ण श्रेय अश्विनीजीलाई नै जान्छ ।”, निकथाकार बिक्रम भन्छन्, “हो, अश्विनीजीले भनेजस्तै मेरा कथाहरुमा कतै निबन्ध छन्, कतै नियात्रा । निबन्ध यस अर्थमा कि, मैले कथामा आख्यानसँगै नेवारी संस्कार–संस्कृति तथा विशेष ठाउँको इतिहास र महत्व लेख्नेको छु । नियात्रा यस अर्थमा कि, मेरो कथाहरुको प्रमुख स्रोत यात्रा पनि हो । यात्रामा भेटिएका पात्र तथा परिवेश नै कथामा देखिएका छन् । नियात्रामा जस्तै मेरा कथाहरुले यात्राको रुट बताउने काम समेत गरेका छन् ।”

केही समयअघिसम्म “नियात्रा”लाई नै पनि छुट्टै विधाको रुपमा स्वीकार गरिहालिएको थिएन । निबन्ध विधाअन्तर्गत “संस्मरण” वा “यात्रा–संस्मरण”को रुपमा लामो समय यात्रा गरेपछि नियात्राले छुट्टै अस्तित्व पाएको हो ।

हुन त, यात्रामा आधारित भएर लेखिएका कथाहरु नभएका होइन । स्थानविशेष, संस्कार र संस्कृतिमा आधारित भए पनि प्रशस्तै कथाहरु लेखिएका छन् । तर नेपाली कथाकारितामा नयाँ उपविधालाई “निकथा” नाम दिएर सङ्ग्रहसहित देखिएको पहिलो नाम भने बिक्रम भक्त जोशी नै हो । यसर्थ, उनीमाथि “नियात्रा”लाई झैँ “निकथा”लाई पनि स्थापित गराउने चुनौती आइपुगेको छ । बिक्रम भन्छन्, “कथा लेखेको थिएँ, निकथा बनेछ । अब यसलाई स्थापित गराउने चुनौति ममाथि आइपरेको छ । यो चुनौति मैले जानेर होइन, नजानेरै आइपरेको हो, तर नजानेरै केही नयाँ गरिन्छ भने त्यसले दिने सन्तुष्टि र खुसीको आयतन बृहत् हुँदो रहेछ । अब निकथालाई स्थापित गराउन सकेँ भनेँ मलाई पनि निकथाले नेपाली साहित्य क्षेत्रबाट विस्तापित हुन दिने छैन भन्ने कुरामा चाहिँ विस्वस्त छु ।”

लेखक परिचय

साहित्य लेखन र पत्रकारितामा विशेष रूचि राख्ने कृष्ण ढुङ्गेल साहित्यपोस्टका केन्द्रीय संयोजक हुन् । आधा दर्जन बढी पुस्तकहरूको सम्पादन गरिसकेका ढुङ्गेलको मौलिक कृति “मिराज” उपन्यास प्रकाशित छ । गैरआख्यान विधाको उनको दोस्रो कृति प्रकाशनको तयारीमा छ ।

प्रतिक्रिया
Loading...