आयामेली कवि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला (तिलविक्रम नेम्बाङ) लाई बिहीबार राति मस्तिष्कघात भएपछि ओम अस्पताल भर्ना गरिएको छ । पारिवारिक स्राेतका अनुसार सुकेधारास्थित घरमा बसिरहेकै बेला बिहीबार राति एक्कासि बेहोस भएपछि उहाँलाई ओम अस्पताल लगिएको हो ।

८२ वर्षीय काइँला कोरोना महामारीका कारण एक वर्षयता घरमै बसेर आफ्नो प्रकाशोन्मुख अङ्ग्रेजी अनूदित सङ्ग्रहमाथि काम गरिरहेका थिए ।

अस्पतालका अनुसार काइँलाकाे देब्रे हात चल्न सकेकाे छैन भने आवाजमा पनि केही समस्या देखिएकाे छ । नसासम्बन्धी चिकित्सककाे अब्जरभेसनमा रहेका उहाँकाे अवस्था केही जटिल देखिएकाे छ ।

चिकित्सकले यसलाई मस्तिष्कसम्बन्धी ‘इसिमिक स्ट्रोक’ भनेका छन् ।