अर्जुन प्रधान

काठमाडौं । प्रवासी नेपाली समुदायबीच लोकप्रिय बन्दै आएको स्पोकन वर्ड कविता कार्यक्रम ‘मनदेखि मनसम्म’को सातौं संस्करण आगामी मे २, २०२६ मा Columbus मा आयोजना हुने भएको छ ।

कार्यक्रम संयोजक तथा साहित्यकार शेखर काकूका अनुसार यसअघि सम्पन्न छ संस्करणहरूमा विभिन्न राज्य र सहरका कवि, साहित्यप्रेमी तथा कलाकारहरूले सहभागिता जनाउँदै आफ्ना सिर्जनाबाट दर्शकहरूको मन जित्दै आउनुभएकाे छ । प्रेम, पीडा, समाज, पहिचान र प्रवासी जीवनका अनुभवलाई अभिव्यक्त गर्ने यस कार्यक्रमले सहभागीहरूलाई भावनात्मक रूपमा जोड्ने महत्त्वपूर्ण भूमिका खेलेको उहाँले बताउनुभयाे ।

काकूका अनुसार सातौं संस्करण अझ विशेष र प्रभावशाली हुने अपेक्षा गरिएको छ । नयाँ तथा पुराना दुवै पुस्ताका सर्जकहरूको सहभागिताले कार्यक्रमलाई थप विविध र समृद्ध बनाउने विश्वास आयोजकको छ ।

कोलम्बस तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका लागि यो कार्यक्रम साहित्यिक जमघट मात्र नभई आपसी सम्बन्ध सुदृढ गर्ने र आफ्ना भाषा, कला तथा संस्कृतिसँग नजिक रहने अवसरका रूपमा स्थापित हुँदै आएको छ ।

भाषा, साहित्य, कला र संस्कृतिप्रेमी सबैलाई कार्यक्रममा सहभागी हुन आयोजकले अनुरोध गरेका छन् ।