काठमाडौं । टुक्का साहित्य समाजको आयोजनामा शनिबार पुतलीसडकस्थित ग्रिनलिफ फुडल्यान्ड क्याफेमा एक विशेष समारोहका बीच तीनवटा टुक्का कविता सङ्ग्रहहरूको लोकार्पण सम्पन्न भएको छ।

नेपाल प्रज्ञा–प्रतिष्ठान काव्य विभाग प्रमुख बाबा बस्नेतको प्रमुख आतिथ्य तथा समाजका कोषाध्यक्ष होमप्रसाद नेउपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा अन्तरदेशीय संयुक्त सङ्ग्रह ‘नारी टुक्का कविता’, प्रमोद नेपालको ‘रश्मिपुञ्ज’ र रतन पाण्डे ‘पारतन’ को ‘टुक्काको मुक्का’ सार्वजनिक गरिएको हो।

उक्त कृतिहरू प्रमुख अतिथि बस्नेत, दार्जिलिङकी साहित्यकार हन्नाह छेत्री, साहित्यकारहरू रामप्रसाद पन्त, किरण आचार्य, वसन्त राज अज्ञात, प्रा.डा. जनार्दन आचार्य, अरुणबहादुर खत्री ‘नदी’, राजेशराज गड्तौला, रामशरण न्यौपाने लगायतका व्यक्तित्वहरूले संयुक्त रूपमा विमोचन गर्नुभएको थियो।

कार्यक्रममा टुक्का कविता लेखन अभियानमा विशिष्ट योगदान पुर्‍याएबापत ‘रश्मिपुञ्ज’ का सर्जक प्रमोद नेपाललाई ‘टुक्का साहित्य समृद्धि सम्मान–२०८२’ प्रदान गरिएको थियो। त्यसैगरी, ‘नारी टुक्का कविता’ संयुक्त सङ्ग्रहको सफल संयोजन गरी अन्तर्राष्ट्रिय स्तरमा सर्जकहरूलाई एकताको सूत्रमा आबद्ध गरेको भन्दै दार्जिलिङकी हन्नाह छेत्रीलाई ‘टुक्का साहित्य समृद्धि अन्तर्राष्ट्रिय सम्मान–२०८२’ प्रदान गरिएको आयोजकले जनाएको छ।

प्रमुख अतिथि बाबा बस्नेतले टुक्का जस्ता छोटा काव्यिक विधाहरूले पाठकको मन जितिरहेको उल्लेख गर्दै प्रज्ञा प्रतिष्ठान यस्ता विधाको प्रवर्द्धनमा सकारात्मक रहेको धारणा व्यक्त गर्नुभयो। नेपाल र भारतका सर्जकहरूको सक्रियताले टुक्का कविता विधा स्थापित हुँदै गएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो।

विशिष्ट अतिथि रामप्रसाद पन्तले ‘रश्मिपुञ्ज’ कृतिको समीक्षात्मक टिप्पणी गर्दै टुक्का कविता नयाँ प्रयोग भएकाले यसको लोकप्रियताको आयाम समयसँगै स्पष्ट हुने बताउनुभयो। अर्का विशिष्ट अतिथि किरण आचार्यले ‘नारी टुक्का कविता’ माथि टिप्पणी गर्दै व्यस्त जीवनशैलीका लागि छोटा काव्यिक विधाहरू सान्दर्भिक हुने र यसमा महिला सर्जकहरूको बढ्दो सहभागिता सकारात्मक पक्ष भएको धारणा राख्नुभयो।

दार्जिलिङबाट सहभागी हन्नाह छेत्रीले भारतमा टुक्का कविता लेखन अभियान तथा रतन पाण्डे ‘पारतन’को कृतित्वबारे चर्चा गर्नुभएको थियो।

समाजकी सदस्य शोभा आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन महासचिव चूडा निर्भीकले गर्नुभएको थियो। सचिव जमुना आचार्यले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रम सभाध्यक्ष होमप्रसाद नेउपानेले उपस्थित सबैप्रति कृतज्ञता व्यक्त गर्दै समापन गर्नुभएको थियो।