गाह्रो हुन्छ
पुतली भई
झुसिलकिरोबाट उड्न !
कमललाई हिलोमा फुल्न !
उज्यालोलाई रात चिर्न !

निकै गार्हो हुन्छ ।

कालसित नारिँदै
जीवन उभिनुको पीडा
फूललाई सोध्नू
उज्यालोलाई सोध्नू !

ऋतु ऋतु हुँदै
खण्ड खण्डमा
प्रकृति फेरिन गाह्रो हुन्छ !
प्रकृति त
मातृत्वकै अवयव;
सरल हुन्छ र प्रशव वेदना ??

हावाको झटारोलाई
आलिङ्गन गर्दै
अँधियारी गह्राहरूमा
बेफिक्री मुस्कुराइरहेका
अन्न बालाहरूलाई सोध्नू-
दुख्दै फुर्किनुको पीडा !

ठोक्किएर पहाडपहाडमा
बेलगाम आकाशिँदै
बतासले
आवारा बादलहरू छास्नु,
सोहोर्दै बगरका सिनोहरू
ठोक्किँदै पत्थरका धारहरूमा
नदि
स्वयं एउटा निश्चिति लय बन्नु
गाह्रो हुन्छ !

भरोसाका भित्ता र धुरीहरूमा
उभ्याइछोड्छ्न् गौँथलीहरू
विश्वासको गुँड !

गुलेलीका ताकहरू छल्दै
श्रम फुलाउनु
गाह्रो हुन्छ !

कहाँ सजिलो छ र सल्लोलाई
भीरहरूमा स्वाभिमान उभ्याउनु …??

जीवन सजिलो छैन
गाह्रो छ !!

त्यसैले त नदिको झैँ
आफ्नै छ जीवनको निश्चित लय
सल्लो भएर
भीरहरूमै
सुसाइरहेको किन नहोस् !