ताराबहादुर बुढाथोकी

खाँदबारी ।  कोशी प्रदेशअन्तर्गत सङ्खुवासभाको खाँदबारी नगरपालिकामा नेपाल प्रज्ञा प्रतिष्ठानको समाजशास्त्र विभागको अग्रसरतामा एक महत्वपूर्ण विचार तथा साहित्य गोष्ठी सम्पन्न भएको छ । मकालु साहित्यिक समाजको आयोजनामा खाँदबारी नगरपालिकाको सभाहलमा सम्पन्न गोष्ठीले अरुण उपत्यकाको बहुभाषिक र मिश्रित सांस्कृतिक संरचनामाथि गहन विमर्श गरेको छ ।

साहित्यकार तथा मकालु साहित्यिक समाजका अध्यक्ष ताराबहादुर बुढाथोकीको सभापतित्वमा सम्पन्न गोष्ठीमा बुढाथोकीले “अरुण उपत्यकाको बहुभाषिक समाजमा मिश्रित संस्कृति : एक अध्ययन” शीर्षकको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत कार्यपत्रमा अरुण उपत्यकाको भौगोलिक संरचना, किराँत र हिन्दू सभ्यताको प्रतिनिधिमूलक सांस्कृतिक सम्मिश्रण, तथा प्रत्यक्ष अन्तर्राष्ट्रिय प्रभावलाई अध्ययनको सीमा निर्धारण गरिएको थियो । साथै सङ्खुवासभाको सांस्कृतिक विविधता, मिश्रित संस्कृतिको प्रतिबिम्ब, त्यसका सकारात्मक अभ्यासको संरक्षण र विकृतिको न्यूनीकरणबारे महत्वपूर्ण सुझाव प्रस्तुत गरिएको थियो ।

कार्यपत्रमाथि समाजशास्त्र विभागका उपप्राध्यापक रुद्रनाथ दाहालले टिप्पणी गर्दै यसलाई स्पष्ट, आयामिक र सान्दर्भिक रहेको उल्लेख गर्नुभयो । सैद्धान्तिक अवधारणासहित थप विकास गर्न सके अन्तर्राष्ट्रिय शैक्षिक मञ्चमा समेत प्रस्तुत गर्न योग्य महत्वपूर्ण कृति बन्न सक्ने उहाँको टिप्पणी थियो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका समाजशास्त्र विभाग प्रमुख तथा प्राज्ञ सभा सदस्य डा. कौशीला रिजाल प्रमुख अतिथि रहनुभएको उक्त कार्यक्रममा जिल्ला समन्वय समिति सङ्खुवासभाका अध्यक्ष सुमन शाक्य र खाँदबारी नगरपालिकाकी उपमेयर महेश्वरा बज्राचार्य विशिष्ट अतिथि रहनुभएको थियो । प्रमुख अतिथि डा. रिजालले कविता वाचनसहित कार्यक्रमको उद्घाटन गर्दै कार्यपत्रको गहिराइ र अनुसन्धानमूलक पक्षको प्रशंसा गर्नुभयो र यसलाई प्रज्ञा प्रतिष्ठानबाट प्रकाशन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा मकालु साहित्यिक समाजका उपाध्यक्ष कृष्ण चापागाइँले स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाको गतिविधि र कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभयो । साथै खाँदबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमप्रसाद बजगाई, साहित्यकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कार्यकारी सम्पादक नारायण शर्मा, प्रलेस उपमहासचिव बोधकुमार घिमिरे ‘वरुण’, विभिन्न क्याम्पस प्रमुख, प्राध्यापक, शिक्षक, साहित्यकार र सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

वरुण बहुमुखी क्याम्पसका छात्राहरू कल्पना आले, बालिका कार्की, रमला कुमाल र कमला तामाङले सांस्कृतिक पहिचान झल्कने पहिरन प्रस्तुत गर्दै कार्यक्रमलाई थप आकर्षक बनाउनुभएकाे थियाे  ।

गोष्ठीमा प्रस्तुत कार्यपत्र, टिप्पणी र मन्तव्यहरूमा आधुनिक उपभोक्तावादी संस्कृतिले मौलिक सांस्कृतिक सम्पदामा पुर्‍याइरहेको असरप्रति साझा चिन्ता व्यक्त गरियो । मोबाइल संस्कृति, कवाडी खाना (जंकफुड) को बढ्दो प्रभाव, विदेशी सपना र पठन तथा उत्पादन संस्कृतिको क्षयले समाज जोखिमतर्फ उन्मुख भइरहेको निष्कर्ष निकालिएको थियो ।

गुणात्मक सहभागिता र नीतिगत निष्कर्षसहित सम्पन्न उक्त गोष्ठीले अरुण उपत्यकालाई ‘अथाह ज्ञानको विश्वविद्यालय’का रूपमा उजागर गर्न सफल भएको आयोजकले जनाएका छन् ।