काठमाडौँ । वैश्विक रूपमा प्रेमिल र आसन्न चुनावका कारण राजनीतिक रङ मिसिन थालेको फेब्रुअरीलाई लोकरक ब्याण्ड नेपथ्यले यसपटक संगीतको महिना बनाउने भएको छ। स्वदेश यात्राअन्तर्गत यस वर्ष दुई चरणमा कन्सर्ट आयोजना गर्न लागेको नेपथ्यले पहिलो चरणमा चार सहरमा प्रस्तुति दिने घोषणा गरेको हो।
पहिलो चरणको यात्रा फेब्रुअरी ४ (माघ २१) बाट सुरु हुँदैछ। यात्राको सुरुवात बुधबार साँझ हेटौंडाबाट हुनेछ। सहरको मध्यभागमा रहेको भुटनदेवी माध्यमिक विद्यालय परिसरमा यस सिजनको पहिलो नेपथ्य कन्सर्ट आयोजना हुनेछ। यसअघि तीन वर्षअघि पनि यही सहरमा कन्सर्ट गरिसकेको नेपथ्यले यसपटक विद्यालयकै भैरव रोडतर्फ जोडिने मैदान रोजेको छ। द्वन्द्वकालमा शान्तिको आवाज बोकेर हेटौंडा पुगेको इतिहाससमेत नेपथ्यसँग जोडिएको छ।
हेटौंडापछि ब्याण्डको प्रस्तुति बुटवलमा हुनेछ। ‘रोज डे’ अर्थात् माघ २४ गते साँझ रामनगरस्थित बुटवल इन्टरनेशनल कन्भेन्सन सेन्टरमा कन्सर्ट आयोजना हुनेछ। शनिबार परेकाले बुटवल र आसपासका क्षेत्रलाई प्रेमिल संगीतको केन्द्र बनाउने अपेक्षा स्थानीय आयोजकले गरेका छन्।
त्यसपछि माघ २७ गते साँझ नारायणघाटको क्याम्पा चौरमा नेपथ्यको प्रस्तुति रहनेछ। तीन वर्षपछि हेटौंडा, बुटवल र नारायणघाटले पुनः नेपथ्यलाई स्वागत गर्न लागेका हुन्।
नेपथ्यको चौथो प्रस्तुति भने विशेष हुनेछ। विश्वभर भ्यालेन्टाइन्स डे मनाइरहँदा फेब्रुअरी १४ मा ब्याण्ड पहिलोपटक बन्दीपुर पुग्दैछ। तनहुँको पहाडी नगरी बन्दीपुरको टुँडिखेलमा आयोजना हुने कन्सर्टलाई ऐतिहासिक मानिएको छ। राजमार्ग निर्माणपछि ओझेलमा परेको बन्दीपुर पछिल्लो समय सुन्दर पर्यटकीय केन्द्रका रूपमा विकास हुँदै गएको छ।
ब्याण्डका मुख्य गायक अमृत गुरुङ भन्नुहुन्छ, “हामीले बारम्बार प्रस्तुति दिँदै आएका सहरबाट सधैँ आत्मीय माया पाएका छौँ। बन्दीपुरमा भने गायकको रूपमा पहिलोपटक पुग्न पाउँदा विशेष उत्साह छ।” उहाँका अनुसार बन्दीपुरमा बस्दा लेखिएका शब्दहरूलाई पनि नेपथ्यले गीतका रूपमा गाइसकेको छ।
कन्सर्ट व्यवस्थापनका लागि हेटौंडामा रमाइलो इभेन्ट्स, बुटवलमा ब्याकअप इभेन्ट म्यानेजमेन्ट, नारायणघाटमा नेपाल डायरीज र बन्दीपुरमा खड्गदेवी बन्दीपुर युथ क्लब स्थानीय आयोजक रहेका छन्। आयोजकका अनुसार बुटवल, नारायणघाट र बन्दीपुरका अर्ली बर्ड टिकट सकिइसकेका छन् भने विद्यार्थी तथा विशेष समूहका लागि छुट दरका टिकट पनि सीमित मात्रामा उपलब्ध छन्।
नेपथ्य व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठले विश्वका ठूला सहरदेखि साना पहाडी बस्तीसम्म एउटै गुणस्तरको संगीत अनुभव दिन उच्चस्तरीय प्रविधि र व्यवस्थापन प्रयोग गरिने जानकारी दिनुभयाे ।
यस वर्षको स्वदेश यात्रा अन्तर्गत नेपथ्यको दोस्रो चरण भने आगामी नोभेम्बरमा आयोजना गरिनेछ। कन्सर्टमा अमृत गुरुङसँगै ड्रममा ध्रुव लामा, बेस गिटारमा सुबिन शाक्य, गिटारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मी सहभागी रहनुहुनेछ ।
दर्शक सुविधालाई ध्यानमा राख्दै सबै कन्सर्टका टिकट www.nepathya.com.np मार्फत अनलाइनबाटै बुकिङ गर्न सकिने व्यवस्था गरिएको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 










