काठमाडौँ। नोबेल साकोस साहित्य संस्थाले साहित्यिक पत्रकार संघका अध्यक्ष तथा साहित्यकार राधेश्याम लेकालीलाई सम्मान गरेको छ। सम्मान कार्यक्रम संस्थाका संस्थापक सदस्य रोहित कार्कीको सभापतित्वमा मध्य बानेश्वरस्थित रत्न पुस्तकालयको प्राङ्गणमा सम्पन्न भएको हो।
कार्यक्रममा सभापति रोहित कार्की, विशिष्ट अतिथि डा. दामोदर पुडासैनी, पुष्प रञ्जितलगायतले दोसल्ला ओढाई सम्मानपत्र प्रदान गर्दै लेकालीलाई सम्मान गर्नुभएकाे थियाे।
उक्त अवसरमा कवि गीता अर्यालको कवितासङ्ग्रह ‘पर्खाल भित्रको जून’ पनि लोकार्पण गरिएको थियो। कृतिको लोकार्पण प्रमुख अतिथि साहित्यकार राधेश्याम लेकाली, सभापति रोहित कार्की, साहित्यकार डा. दामोदर पुडासैनी तथा अनेसास नेपाल च्याप्टरका उपाध्यक्ष निर्मलरमण पराजुलीलगायतले संयुक्त रूपमा गर्नुभएको थियो।
नोबेल साकोस साहित्य संस्थाका अध्यक्ष राजनप्रसाद न्यौपानेको सक्रिय व्यवस्थापनमा सम्पन्न कार्यक्रममा सम्मानित व्यक्तित्व र लोकार्पित कृतिबारे समालोचक प्रा.डा. श्री गोविन्दमान सिंह कार्कीले समीक्षात्मक मन्तव्य राख्नुभएको थियो।
कार्यक्रमको स्वागत संस्थापक सदस्य सूर्य तामाङले गर्नुभएको थियो भने विष्णु गुरूङले देशभक्तिपूर्ण गीत प्रस्तुत गर्नुभएको थियो। साथै साहित्यकारहरू डा. दामोदर पुडासैनी, पुष्प रञ्जित, देवी पन्थी, गीता अर्याल, कविराज घिमिरे, निर्मलरमण पराजुली, पुष्प लुईंटेल, शम्भु गजुरेल, मीना अर्याल, द्वारिका कुईंकेल, सानु शर्मा, चन्द्रा नेउपानेलगायतले मन्तव्य व्यक्त गर्नुका साथै कविता वाचन गर्नुभएकाे थियाे ।
त्यसैगरी कार्यक्रममा साहित्यिक योगदानको कदरस्वरूप एञ्जेलिना न्यौपाने, सुरेशचन्द्र घिमिरे, सुनिता बराल, कविराज घिमिरे र दलबहादुर नेपालीसमेत सम्मानित हुनुभएकाे थियाे।
कार्यक्रममा सहभागी अतिथिहरूलाई संस्थाको तर्फबाट ‘मायाको चिनो’ प्रदान गरिएको थियो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
१४ असार २०८३, आईतवार 









